२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारसुधीर प्रकाश मास्के भन्छन्, ‘हामी इतिहासकै सबैभन्दा कठिन घडिमा उभिएका छौं’

सुधीर प्रकाश मास्के भन्छन्, ‘हामी इतिहासकै सबैभन्दा कठिन घडिमा उभिएका छौं’


सुधीर प्रकाश मास्के म्याग्नस फर्माका बजार निर्देशक हुन् । औषधि उधोगमा ३५ वर्षभन्दा लामो अनुभव रहेका उनी औषधि बजारमा सबै पाटापक्षबारे जानकार छन् । नेपालको अर्थतन्त्र तरलताबाट ग्रुजिरहेको छ । बजारमा क्यासको अभाव देखिन थालेको अनुभव व्यवसायीहरु सुनाउन थालेका छन् । अहिलेको परिवेशमा नेपालको औषधि उधोग, यसका देखिएका समस्या, समाधानका उपाय, नेपाली औषधि निर्यातको सम्भावनालगायतका विषयमा केन्द्रीत रहेर हेल्थआवाजका लागि मास्केसँग गरिएको संवादः

नेपाली औषधि उद्योगको अवस्था कसरी हेरिरहनुभएको छ ?
मैले हेर्दाखेरि समग्रतामा हेर्ने हो, कमसेकम १५—२० वर्षयताको सिनारिओ हेर्ने हो भने नेपाली औषधि उद्योगले राम्रै प्रगति गरेको हो । अहिले लगभग ४५ देखि ५० प्रतिशत औषधिमा नेपाली उद्योगको योगदान छ । त्यो हिसाबले समग्र रुपमा हेर्ने हो भने सकारात्मक पक्ष छ । किनभने आजभन्दा २० वर्ष अगाडि नेपाली औषधि उधोगलाई उद्योगकै रुपमा मान्ने मान्छेहरु पनि कम थिए । औषधि अलिकति संवेदनशील भएकोले धेरैले नेपाली औषधिमा विश्वास नगर्ने स्थिति थियो । तर, त्यतिबेलाको तुलनामा टेक्नोलोजीलगायतका पक्षमा धेरै प्रगति भएको छ ।

भारतमा क्वालिटी कन्ट्रोल गर्न गाह्रो छ । किनभने त्यो विशाल देश छ । एउटा कम्पनीको एउटा ब्रान्ड पाँच हजार, दश हजार करोडको टर्नओभर छ । तर, यहाँ नेपाल सानो देश भएकोले क्वालिटी कन्ट्रोल सहज छ । किनभने, जति वटा कम्पनी छ, त्यो गन्न सकिन्छ । सबैलाई थाहा छ कहाँ के भइरहेको छ । समष्टिगत रुपले हेर्दाखेरि सकारात्मक नै छ । तर, कोभिड—१९ महामारीपछि गाह्रो हुँदै गएको आर्थिक अवस्था अहिले अलिकति चूनौतीपूर्ण अवस्थामा छ । र, अहिले आएर इकोनोमिक क्राइसिस भनिरहेको छौं, त्यसले एकदम गाह्रो स्थिति छ ।

औषधि उद्योगहरुलाई के—के मा समस्या भएको छ ?
बिजनेश सामान्यतयाः ‘रोटेसन अफ मनी’ हो । पैसाको मुभमेन्ट भएन भने बिजनेश कम्पिलिट हुँदैन् । मैले माल बेचें तर त्यसको सर्कुलेसन सही तरिकाले भएन भने मैले माल बेच्दैमा बिजनेश कम्पिलिट हुँदैन् । पैसा पनि आउनुप¥यो । किनभने मैले त्यो माल अरु ठाउँमा बेच्नुपर्छ, अरु ठाउँमा पनि मैले पैसा तिर्नुपर्छ । अहिले सबैभन्दा ठूलो कुरा के छ भने पैसाको सर्कुलेसन नै छैन । सबैभन्दा ठूलो समस्या यही हो ।

होलसेलवालादेखि रिटेलरवालासम्मले विजनेश नै छैन भन्छन् । त्यसैले गर्दा क्रयशक्ति नै मान्छेको बढिरहेको छैन । होलसेलरले पैसा तिर्न सक्ने शक्ति छैन, उनीहरुले आत्मविश्वास गुमाइसकेपछि हामीले कहाँ लगेर बेच्ने, हामीले विद्यालयमा लगेर त बेच्दैनौं । त्यसकारण यो च्यानल नै पूरै डिस्टर्व भएको छ । अर्को कुरो के छ भने स्वास्थ्य बिमा जुन लागु भयो, त्यो एकदम राम्रो कुरा हो । बिमा हुनुपर्छ, नेपालजस्तो गरिब देशमा मान्छेहरुका लागि त्यो सुविधा राम्रो हुनुपर्ने हो । तर, बिमामा अहिले जस्तो किसिमको प्रायाक्टिस भइरहेको छ, त्यसले अहिले त्यो बिमा आफैं बिरामी छ । एउटा सिम्पल उदाहरण दिन्छु, बिमामा एउटा औषधिको ८ रुपैंयाँ सरकारले तोकेको छ । बिमाको लागि हामी सरकारलाई ४ रुपैंयाँमै दिन तयार छौं ।

तर, हस्पिटलमा वा फार्मेसीमा औषधि यति लो प्राइसमा कोड गर्छन् । हाम्रोजस्तो कम्पनीले त्यो बिट नै गर्न सक्दैनौं । तर, सरकारले त्यहाँ ८ रुपैयाँ भनिरहेको छ । उनीहरुले भन्छ मलाई २ रुपैयामा देऊ । त्यसमा हामी दिन सक्दैनौं । तर, फार्मेसी र हस्पिटलहरुले भारतबाट वा कताबाट ल्याएर सस्तो औषधि बेचिरहेका हुन्छन् । बिमा वापत गएको औषधिको खर्च पनि समयमा निकासा हुँदैन । त्यसले पनि पैसाको रोटेसनमा ब्रेक लगाएको छ । किनभने वर्ष दिनसम्म सरकारले पैसा नै तिरेको छैन । होलसेलरहरुले म बिमाको पैसा आएपछि रकम भुक्तानी दिन्छु भनेर रोकिरहेका छन् । त्यसरी ठाउँ—ठाउँमा पैसा ब्लक भइरहेको छ । अरु विभिन्न आर्थिक कारणले समग्र बजारमा नै एक किसिमले त्रासको वातावरण छ । हामी फाइनल पनि नभनौं तर अहिले एउटा ब्याड फेजमा हामी छौं । मलाई लाग्छ, इतिहासकै सबैभन्दा कठिन घडिमा हामी उभिएको छौं । यो घडीलाई हामीले सफलतापूर्वक पार गर्न सक्यौं भने भविष्य राम्रो होला ।

यो अवस्थाबाट निस्किन राज्यले के गरिदिनुपर्छ जस्तो लाग्छ ?
सबैभन्दा ठूलो समस्या जति पनि उद्योग व्यापारीहरु छन्, सबैको आत्मविश्वास घटेको छ । अर्को, बजारमा पैसाको रोटेसन छैन । बैंकसँग ऋण लिन त्यसको ब्याजदर उच्च छ । त्यो लोन लिएर बिजनेस रन गर्न सक्छु भन्ने मान्छेमा आत्मविश्वास नै छैन । त्यसैले गर्दा यो कहीँकहीँ मुभमेन्ट र ट्रान्जेसन नै छैन, त्यो नै ब्लक भइरहेको छ । आर्थिक गतिविधी पनि सलल बगेको एउटा खोलाजस्तै हुन्छ तर अहिलेको अवस्थामा त त्यो खोला नै ब्लक भएर पानी जमेकोजस्तो अवस्था छ । त्यसमा सरकारले सबै कुरा बुझेको छ, नबुझेको त के होला र ? सरकारले समस्या कहाँ छ भन्ने कुरा पहिचान गरेर समग्र अर्थतन्त्रका क्षेत्रमा करेक्टीभ मेजर्सहरु दिएन भने झन—झन गाह्रो हुने स्थिति मैले देखिराखेको छु । औषधि उधोगमा मात्रै होइन्, सबै उधोगहरुमा यही समस्या छ ।

सरकारले बैंकहरुले लिने ब्याजदर कम गर्न पहल गर्नुपर्छ भन्ने यहाँको बुझाइ हो ?
ब्याजदरको साथसाथै बजारमा पैसाको तरलताको अभाव छ । पैसाको मुभमेन्ट नै छैन । त्यो अवस्थालाई सरकारले करेक्सन गर्नुपर्छ । बजारमा पैसाको मुभमेन्टलाई कसरी बढाउने, पैसाको मुभमेन्ट इम्प्रुभ भयो भने त्यसले सकारात्मक असर छाड्छ । मुभमेन्ट बजारमा आउन थाल्यो भने सबैको प्रचेजिङ बढ्छ, सबैको ब्यापार अलिअलि सुध्रिन्छ । अहिले नेपालमा अन्य उधोगहरुको तुलनामा पर्यटनमा अलिकति टुरिष्टहरु आएको देखिन्छ, नत्र अरु कुनै पनि यस्तो सेक्टर छैन, जहाँ आर्थिक गतिविधी सुस्त भएको नहोस् ।

औषधि सामान्यतयाः यस्ता खालका प्रभावबाट कम प्रभावित हुने सेग्मेन्ट हो । तर, मेरोअ अनुभवमा यो पटक औषधिमा पनि ठूलो इफेक्ट देखेको छु । होलसेरहरुदेखि लिएर रिटेलरहरुसम्म सबैको स्थिति डामाडोल छ । यो कसरी समाधान हुने हो, मसँग यसको ठ्याक्कै उत्तर छैन ।

नेपाली औषधि उधोगको विदेशी बजारमा कति सम्भावनाहरु के देख्नुहुन्छ ?
एकदम छ, अहिले म्याग्नस फर्माले दुई वटा देशमा सानो परिमाणमै भएपनि औषधि पठाइरहेको छ । नेपालले यदि क्वालिटी औषधि बनाउने हो भने भविष्यमा अथाह सम्भावनाहरु छन् । हामीले एक्सपोर्ट नगरिकन उपाय छैन । त्यसको लागि सरकारले सहजीकरण गरिदिने हो भने झन राम्रो हुन्थ्यो ।

औषधि भनेको संवेदनशील विषय हो । हामीले हाम्रा ग्राहक र मार्केटको विश्वास जित्दै जानुपर्ने हो । अहिले हामीले दुई वटा देशमा थोरै परिमाणमा पठाइरहेका छौं । त्यो सुरुवात हो । अब हामीसँग एउटा पोर्टफोलियो छ भनेर तेस्रो देशसँग पनि कुरा गर्दैछौं । स—साना काम गर्दै आफ्नो तर्फबाट पहल लिइरहेका छौं । त्यसमा सरकारको सहयोग भयो भने अझ प्रभावकारी हुन्छ ।

औषधि उद्योग टेक्नोलोजिकल्ली ड्रिभन र महँगो प्रविधि प्रयोग हुने यद्योग हो । अहिले टेक्नोलोजी वा रेगुलेटरिज रिक्वायरमेन्टहरु पनि एकदम सफेस्टीकेडेट हुँदै आएको छ । पहिला एउटा मेसिनले काम हुनुपर्ने ठाउँमा अहिले त्यस्तो पचास, साठी लाख पर्ने धेरै मेसिन लगाउनुपर्छ । हरेक वर्ष नयाँ मेसिनहरु थप्नुपर्ने स्थिति छ । किनभने रेगुलेटरी रिक्वायरमेन्ट नै त्यस्तो छ । त्यसैले प्रडक्सन गर्ने कस्ट र प्रडक्सन खर्च बढिराखेको छ । अनि मार्केट चाहिँ खुम्चिदैं गइरहेको छ । बिडम्बना के छ भने हाम्रो देशमा जम्मा तीन करोड हाराहारीमा जनसंख्या छ । त्यसमा पनि झण्डै एक करोड बाहिर छ भनिन्छ । हामीसँग एकदम सिमित बजार छ । त्यही बजारमा पनि फेरि भारतसँग खुला सिमाना छ । त्यसले थप चुनौती खडा गरेको छ । सरकारले कुटनीतिक रुपमा सहयोग गरिदिने हो भने नेपाली औषधि विदेशमा निर्यात गर्न सकिन्छ ।

नेपाली औषधि उद्योगका लागि सम्भावित बजार कुन देश हुन सक्छन् ?
हाम्रा लागि सबैभन्दा ठूलो चुनौती चीन र भारत हाम्रा छिमेकी देशहरु हुन् । भारतले लगभग सबै कुरा सबै ठाउँमा एक्सपर्ट गर्छ । भारतसँग प्रतिस्पर्धा गर्नुपर्छ, त्यसकारण भारतमा निर्यात गर्न गाह्रो छ । नेपाली औषधि उधोगका लागि अफ्रिकन देशको बजार राम्रो अवसर हुन सक्छन् । त्यसबाहेक विकसित युरोपेली देशहरुमा पनि हामीले निर्यात गर्न सक्ने सम्भावना छ । त्यसमा पनि हामी कोसिस गरिरहेका छौं । भोलि नै गर्छौ भनेर भन्दैनौं तर त्यो भिजन लिएर हामी हिडिरहेका छौं । आगामी केही वर्षभित्र निर्यात गर्न सकियो भने त्यो नेपाली औषधि उधोगका लागि कोशेढुंगा हुनेछ ।

बजार विस्तारका लागि राज्यले के पहल गरिदेओस भन्ने चाहनुहुन्छ ?
राज्यका आफ्नै कुटनीतिक च्यानलहरु हुन्छन्, हाम्रो देशमा बन्ने औषधिहरु निर्यातका लागि पहल गरिदिनुप¥यो । राज्यलाई गुणस्तर ग्यारेन्टी गर्ने र अर्को देशलाई हामीलाई अवसर दिनुहोस् भनेर पहल गरिदिने हो । नेपाललाई अलिकति सहानुभूतिको दृष्टिकोणले हेर्ने देशहरु पनि संसारमा धेरै छन् । राज्यले पहल गरिदियो भने हामीलाई धेरै सजिलो हुन्छ ।

हाम्रा उधोगहरु विश्वस्तरका गुणस्तरीय उत्पादन गर्न सक्छन् ?
यो अलिकति क्रिटिकल प्रश्न छ । यसमा म एक्सपर्ट होइन्, यो नियमनकारी निकायले डिफाइन गर्ने कुरा हो । उहाँले गुणस्तरलाई विश्वस्तरीय बनाउन भूमिका खेल्नुपर्छ, गाइड गर्नुपर्छ । औषधिको मिनिमम मूल्याङकनको स्तर यस्तो हुनुपर्छ भनेर निर्धारण गर्नुपर्छ । रेगुलेसन कडा हुनुपर्छ तर त्यही समयमा फेलेक्जिबल पनि हुनुपर्छ । किनभने मान्छेलाई सिकाउने, ओरेन्टेसन गर्ने, मोटिभेट गर्ने काम पनि गर्नुपर्छ । हाम्रो देशमा यो स्तरको औषधि बन्छ भन्ने निश्चित गर्नुपर्‍यो । नेपालका उद्योगमा २/४ वटा उद्योगहरु एकदम राम्रा छन् । सबै राम्रो छ भनेर भन्ने स्थिति छैन ।

तर, सबैलाई विश्वस्तरीय गुणस्तरयुक्त बनाउने ग्यारेण्टी राज्यले पूरा गर्नुपर्छ । हाम्रा उद्योगलाई एउटा लेवलमा त पुर्‍याउनैपर्छ । मैले भोलिबाटै एक्सपर्ट गर्न थाले तर क्वालिटी निश्चित गर्न सकेन भने कम्पनी समस्यामा पनि पर्न सक्छ । भारतले एक्सपर्ट गरेका केही कफसिरपहरुमा अहिले ठूलो प्रश्न उठिरहेको छ, यसले त्यो देशको कन्फिडेन्ट विदेशी बजारमा घटाउँछ । त्यसमा हामी सबै चनाखो भएर काम गर्नुपर्छ । हामी नेपालमा पनि राम्रो टेक्नोलोजी, गुणस्तरीय औषधि उत्पादन गर्न सक्ने क्षमता भएका कम्पनीहरु छन भनेर विश्वस्त छौं । हामीले त्यसका लागि लगानी पनि गरेका छौं । तर, त्यो चिज सबै उधोगहरुमा हुनुपर्छ । नेपालमा युनिफर्मिटीमा धेरै ठूलो ग्याप छ ।

कतिपयले के पनि आलोचना गर्छन् भने हाम्रो उद्योगले प्याकिङ मात्रै गर्छन् ?

हामी धेरै कुरा नबुझिकन पनि फ्याट्टै भन्छौं । वास्तवमा भन्ने हो भने संसारमा कहीँ पनि विशेष गरेर औषधि उद्योगमा कुनै पनि औषधि उद्योगले कच्चा पदार्थदेखि लिएर सबै कुरा आफूले बनाउँदै बनाउँदैन् । धेरै जस्तो कच्चा पदार्थ चीनमा बन्छ, किनभने उसको एक्सपोर्टिज नै त्यसैमा छ । कच्चा पदार्थ बनाउने उद्योग अर्कै हुन्छ । एउटै उद्योगले कच्चा पदार्थ बनाउने, औषधि बनाउने र प्याकिङ पनि बनाउने हुँदैन् ।

हाम्रो देशमा औषधि कच्चा पदार्थ उत्पादनको सम्भावना कति छ ?
मैले व्यक्तिगत रुपले आजभन्दा तीन, चार वर्षदेखि नेपालमै कच्चा पदार्थ उत्पादन गर्न सकिन्छ कि भनेर पहल गरिरहेको छु । तर, यो एकदम खर्चिलो हो । अर्को कुरा कच्चा पदार्थ भन्नासाथ परिमाणमा हुन्छ । कच्चा पदार्थ बनाउनलाई दुई चार बट्टा, दुई चार टन बनाएर हुँदैन् । ट्रकको हिसाबले बनाउनुपर्छ । हाम्रो बजार फेरि दुई करोडको छ । हामीले एकस्पर्ट कहाँ गर्ने भारत वा चीन हो तर कम्पिटिसन गर्न सक्दैनौं । किनभने, चीन र भारतमा हजारौं टन कच्चा पदार्थ उत्पादन गर्ने कम्पनीहरु छन् । त्यही कारण उनीहरु सस्तो मूल्यमा दिन सक्छन्, हामी दिन सक्दैनौं ।

तर, हाम्रो देशमा दश करोडको टर्न ओभर छ भने त्यहीअनुसारले बनाउन सकिन्छ । पचास करोडको टर्न ओभर छ भने त्यहीअनुसारले बनाउन सकिन्छ । हामीले निर्यातमा हातखुट्टा अलिकति फैलाउन सकियो भने बल्ल नेपालमा कच्चा पदार्थ बनाउन उत्पादन सम्भव छ । होइन भने नेपालकै लागि मात्र कच्चा पदार्थ बनाउन धेरै गाह्रो छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ