२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारकान नसुन्ने बच्चाको सानै उमेरमा कोक्लियर इम्प्लान्ट गरेमा जीवनयापन सामान्य हुन्छ : डा हंश

कान नसुन्ने बच्चाको सानै उमेरमा कोक्लियर इम्प्लान्ट गरेमा जीवनयापन सामान्य हुन्छ : डा हंश


देशकै जेठो अस्पताल वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको छ । शनिबार १८ वर्षीया किशोरी र ६० वर्षीय पुरुषमा निःशुल्क कोक्लियर इम्प्लान्ट गरेर सेवा सुरु गरेको हो । वीर अस्पतालमा कोक्लियर इम्प्लान्ट गर्नका लागि भारतका प्रख्यात कोक्लियर इम्प्लान्ट सर्जन डा. जेएम हंसले सहयोग गरेका थिए ।

भारतको प्रख्यात अस्पताल पीपीआई चण्डीगढबाट चिकित्सकीय जीवन सुरु गरेका उनले सरकारी राममोहन अस्पतालमा लामो समय काम गरे । हाल उनी रेम्बो चिल्ड्रेन अस्पतालमा आवद्ध छन् । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहका विशेषज्ञ सल्लाहाकार रहेका हंश डा. हंश सेन्टर फर ईएनटी एण्ड कोक्लियर इम्प्लान्टका अध्यक्ष हुन् ।

उनलाई भारत सरकारले एम्सको स्पीच एण्ड हेयरिङ कार्यकारी पदमा नियुक्त गरेको छ । यसका साथै नाक, कान, घाटी तथा कोक्लियर इम्प्लान्ट सम्बन्धि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आवद्ध छन् । वीर अस्पतालमा पहिलो कोक्लियर इम्प्लान्टका लागि नेपाल आएका डा हंशसँग हेल्थ आवाजले गरेको कुराकानीः

नेपाल के को सिलसिलामा आउनुभयो ?
नेपालकै पूरानो सरकारी अस्पतालमा पहिलो पटक कोक्लियर इम्प्लान्ट गर्न सहयोग माग्नुभएको थियो । देशकै पूरानो र त्यसमाथि पनि सरकारी अस्पतालबाट अनुरोध आएपछि सहयोगका लागि आएको हुँ ।

वीर अस्पतालमा पहिलोपटक कोक्लियर इम्प्लान्ट गर्नुभयो कस्तो लागिरहेको छ ?
लामो समयदेखि कान नसुनेर असहज जिन्दगी बिताइहनुभएका दुई जना बिरामीले सहज जीवन पाउनुभएको छ । सर्वप्रथम त वीर अस्पताल र ईएनटी विभागलाई धन्यवाद दिन्छु । त्योसँगै बिरामी आफैले खरिद गर्दा अति महंगो इम्प्लान्ट निःशुल्क सहयोग गर्ने नियो बायो कम्पनीलाई पनि धन्यवाद दिन चाहन्छु । कम्तिमा दुई जना बिरामीको सहज जिन्दगीको पुनः सुरुवात भएको छ, त्यसमा खुसी छु ।

वीर अस्पतालमा अब यो सेवा नियमित होला ?
यो इम्प्लान्ट महंगो भएको हुँदा सरकारले अन्य अस्पताल (त्रिवि शिक्षण अस्पताल)मा दिएको जस्तो अनुदान वीर अस्पताललाई पनि दिएमा सेवा निरन्तर गर्ने बताउनुभएको छ । जसले गर्दा गरिब र पैसा तिर्न नसक्ने बिरामीले पनि सेवा पाउनेछन् । यदि वीर अस्पतालमा सेवा नियमित भए र मेरो सहयोग आवश्यक परेमा आउन तयार छु ।

तपाईंले कोक्लियर इम्प्लान्ट गर्न सुरु गर्नुभएको कति भयो ?
मैले यो सेवा दिन सुरु गरेको २५ वर्ष नाघिसक्यो ।

२५ वर्षमा कतिमा यो इम्प्लान्ट राख्नुभयो ?
३ हजारभन्दा बढी राखेको छु ।

पहिलो केस याद छ ?
अवश्य छ, मैले पहिलोपटक यो इम्प्लान्ट राखेको बिरामीको नाम कोमल हो । उनी एक चिकित्सककी छोरी हुन् । अहिले उनी ३० वर्षकी पुगिन् ।

पहिलो सफल प्रत्यारोपणको अनुभव कस्तो रहेको थियो ?
मैले पहिले नै भनिसके उनी एक चिकित्सककै छोरी थिइन् । ५ वर्षसम्म पनि नसुनेपछि जाँच पड्ताल गरेर कोक्लियर इम्प्लान्ट गर्ने निधो गरेका थियौं । सबैभन्दा महत्वपूर्ण कुरा के थियो भने २४ अगष्ट १९९९ को दिन थियो । सोही दिन ती बालिकाको जन्म दिन पनि थियो । उनलाई जन्म दिनको दिन श्रवणशक्ति मिलेको थियो । उनी त सानै थिइन् तर उनको परिवारमा त्योभन्दा ठूलो उपहार केही थिएन ।

ती पहिलो बिरामी अझै सम्पर्कमा हुनुहुन्छ ?
किन नहुनु, मलाई अझै नाम नै याद छ । अर्को एक जना अहिले सरकारी अफिसर छन् । नेपालकै एक जना हुनुहुन्छ राजश्री रावल अहिले ब्याचलर पढ्दै हुनुहुन्छ ।

कोक्लियर इम्प्लान्ट गर्दा सबैभन्दा उपयुक्त उमेर कुन हो ।
सुनाइ बोलाइ भन्ने कुरा दिमागसँग जोडिएर आउने कुरा हो । जन्मजात सुनाइमा समस्या छ भन्ने पत्ता लागेमा जति सानो समय भयो त्यति राम्रो हुन्छ । ५ महिनादेखि ५ वर्षमुनिको हुन सक्यो भने सबैभन्दा राम्रो हुन्छ । सुनाइसँगै दिमागले पनि सोहीअनुसार टिप्दै जान्छ । जति ढिलो भयो सुनाइ, बोलाइ र दिमागको सामञ्जस्यता अप्ठ्यारो हुन्छ ।

कोक्लियर इम्प्लान्ट गर्नु किन आवश्यक छ ?
जुन बच्चा कान नसुन्ने जन्मन्छ, उसले बोल्न सक्दैन् । उ लाटो हुन जान्छ । जब कोक्लियर इम्प्लान्ट हालिन्छ, उसले क्रमिक रुपमा सुन्न थाल्छ अनि बोल्न पनि थाल्छ । यदि समयमा नै गरियो भने अन्य सामान्य मानिसको जस्तै हुन्छ । इम्प्लान्ट दुवैतिर गर्नुपर्छ । दुवैतिर राखेमा झण्डै सामान्य मान्छेको जस्तो हुन्छ । एक कानबाट मात्र सुनियो भने त्यो ७० प्रतिशत हुन्छ । दुवै कानले सुन्यो भने सतप्रतिशत सुनिन्छ । सतप्रतिशत सुन्न सकियो भने सतप्रतिशत बोल्न सकिन्छ ।

एक पटक कोक्लियर इम्प्लान्ट राखिसकेपछि कति समयका लागि हुन्छ ?
यो जिन्दगीभरीका लागि हुन्छ । भगवानले एउटा राम्रो चिज के गर्नुभएको छ भने मान्छेको कोक्लियर बनाउँदा आमाको पेटमा हुँदा जत्रो हुन्छ, मृत्यु हुँदा पनि त्यत्रै हुने बनाइदिनुभएको छ । कहिलेकाहीँ लाग्छ यस्तो समस्या हुँदा उहाँलाई पनि लागेको थियो होला कि मान्छेले पछि यस्तो यन्त्र बनाउनेछ ।

लामो समय यही अभियानमा हुनुहुन्छ अहिलेसम्म कति देशमा गएर यो इम्प्लान्ट गर्नुभयो ? पछिका पुस्तालाई सीप हस्तान्तरण कसरी गर्दै हुनुहुन्छ ?
हालसम्म मैले ७० भन्दा बढी चेला यो प्रविधिमा काम गर्ने तयार गरिसकेको छु । हालसम्म भारत, बंगालादेश, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, श्रीलंकालगायतका देशमा गएर यो सेवा दिइरहेको छु ।

कोक्लियर इम्प्लान्टका विश्वमा कति वटा प्रविधि छन् र यहाँको रोजाइ कुन पर्दै आएको छ ?
हाल विश्वमा भर्खरै चीनले उत्पादन गरेको समेत ६ वटा प्रविधि रहेका छन् । तीमध्ये मैले २५ वर्ष पहिले सुरु गर्दादेखि नै नियो बायो इम्प्लान्टको ट्रान्सक्यालवेएरिया टेक्निकबाट गर्दै आएको छु । जुन अति सस्तो छ । यसको प्रयोगपछि पनि सस्तो छ । यसलाई राखिसकेपछिको व्यवस्थापन गर्न पनि सहज र सस्तो छ । त्यो भन्दा पनि ठूलो कुरा मेरो चिकित्सकीय व्यवसायिक जीवनको अनुभवमा गुणस्तरीय छ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ