२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘खुद्रा व्यवसायी, थोक, आयातकर्ता तथा उत्पादकका समस्यालाई निरुपण गर्न पहल गर्नेछु’

‘खुद्रा व्यवसायी, थोक, आयातकर्ता तथा उत्पादकका समस्यालाई निरुपण गर्न पहल गर्नेछु’

‘सबै पक्षका व्यवसायीहरुसँग समान रुपले व्यवहार गर्छु’


औषधी व्यवसायी संघको नयाँ नेतृत्व चयनकालागि यस पटक वीरगन्जमा १४ औं महाधिवेशन हुन गइरहेको छ । वीरगन्जमा यही २२ र २३ भदौं हुने औषधी व्यवसायीहरुको महाधिवेसनका लागि सबै तयारी पूरा भइसकेको औषधी व्यवसायीहरुले बताएका छन् । मानव जीवनको प्राण बचाउन बल दिने औषधीको थोक, आयात र खुद्रा व्यवसाय गरी तीन थरीका व्यवसायमा आवद्ध व्यवसायीहरुको छाता संगठन स्थापनाको स्वर्णमहोत्सव पनि यो वर्ष नै परेको छ ।

महाधिवेसनमा हुने नेतृत्व चयनसहितको महाधिवेशनको छुट्टै रौनक थपिने आँकलन गरिदैंछ । यसमा वीरगन्जको पनि नेतृत्वका लागि दावी रहेको पाइएको छ । संघका अहिलेका वरिष्ठ उपाध्यक्ष रहेका प्रकाश खण्डेलवालले भावि अध्यक्षका लागि दावीको सुनिश्चित गरेका छन् । झण्डै पाँच दशकदेखि यो व्यवसायमा रहेका उनी २८ वर्षदेखि संघमा आवद्ध छन् । १८ वर्षदेखि निरन्तर केन्द्रीय कमिटीमा सहभागी अनुभवी व्यक्तित्व प्रकाश खण्डेलवालको अध्यक्षमा दावी किन र के का लागि ? जस्ता समसामयिक विषयमा हेल्थआवाजका लागि तुलसी भण्डारीले गरेको कुराकानी :

औषधी व्यवसायमा यहाँको आवद्धता कहिलेबाट हो ?
म यो पेशामा विगत ४५ वर्षदेखि निरन्तर आवद्ध छु । विगतमा बुवाहरुले सुरु गरेको व्यवसायमा आफू १८ वर्षको हुँदादेखि नै पूर्णकालीन भूमिकामा छु । बुबा–काकाको निधनपछि झन यो पेशामा उहाँहरुको विरासतसमेत धानेर अगाडि बढ्नुपर्ने दायित्व समेत थपिएको छ । त्यो दायित्वलाई निर्वाह गर्दै यो पेशाको निरन्तरता सन्तानहरुसहित झन लागि परेको छु ।

यो भन्दाअघि औषधी व्यवसायी संघमा कुन—कुन जिम्मेवारी निर्वाह गर्नुभयो ?
म संघमा आवद्ध भएको त २८ वर्ष भइसक्यो । जसमा विगत १८ वर्षबाट त केन्द्रीय तहमा नै आवद्ध रही व्यवसायीहरुका साझा समस्या नजिकबाट हेरी समाधानका लागि काम गर्दै आएको छु । लामो समय यो संघमा रहँदा व्यवसायीका धेरै समस्या नजिकबाट नियालिरहेको छु । ती समस्या हल गर्न सरकारसँग समन्वय गरी थप परिस्कृत गर्नुपर्ने छ । त्यसका लागि म नेतृत्वमा पुग्न अग्रसर भएको हुँ ।

नेपालमा औषधी व्यवसायको अवस्था कस्तो छ ?
तत्काल राम्रो छ भन्ने अवस्था छैन । नेपालबाट ठूलो जमात विदेशिरहेको छ । यसको अतिरिक्त केही ठूला अस्पताल खुले पनि त्यसले सबै औषधी व्यवसायीहरुलाई समेट्न सक्छ भन्ने छैन । फेरि खुद्रा, उत्पादक र आयातकर्ता तीनथरी व्यवसायीहरुका फरक–फरक समस्या पनि छन् । खास गरी आर्थिक तरलतातर्फ उन्मुख हुँदै गरेको देशको अवस्थाले पनि औषधी व्यवसायीहरुबीच पनि राम्रो अवस्था भन्न मिल्दैन् ।

अहिले स्वदेशी उत्पादन व्यवसायी र आयात गर्ने औषधी व्यवसायी बीचमा एक किसिमले शीतयुद्ध जस्तो नै छ । त्यसले व्यवसायी–व्यवसायी बीचमा कति असर गर्छ ? जनस्तरसम्म त्यो असर त पुग्दैन् ?
मुलुकभित्रको उत्पादन र आयात यो दुवै नभई नहुने कुरा हो । मुलुकभित्र उत्पादन भएको र आयात भएको दुवै तथ्यांक हेर्ने हो भने ६०÷४० जस्तो अवस्था छ । बाहिरबाट पनि आयात गर्नै पर्छ । त्यसैले आयातकर्ता, उत्पादक मात्र नभई खुद्रा व्यवसायी समेतको समन्वय गर्न नेतृत्वले सकारात्मक भूमिका खेल्नुपर्ने अवस्था छ । यहाँ आपसी शीतयुद्ध भनी हजुरले भने जस्तो अवस्था नै होइन्, समन्वयको मात्र कमी हो ।

तपाईंका चाहिँ खास एजेण्डा के—के छन् ?
एउटा नीति अध्ययन समिति बनाई औषधी व्यवस्था विभागसँग रेगुलर नीतिगत रुपमा समन्वय गर्ने व्यवस्था मिलाउने, प्राविधिक रुपमा ठोस कदम चाल्न साथ दिने टेक्निकल व्यक्ति नियुक्ति गर्ने, जसले ७७ जिल्लाका व्यवसायीहरुका समस्या हल गर्ने पछिल्लो नीति अनुसार डी फर्मा र बी फर्मा पढेकाबाहेक औषधी व्यवसायमा लामो समय बिताएका व्यक्तिका हकमा सरकारसँग कोटा छुट्याउन लगाई ती व्यक्तिलाई पनि तालिम दिने र पढाइतर्फ पनि आकर्षित गर्ने, अर्को औषधी बिक्री वितरण गर्ने व्यक्ति सरकारबाट सर्टिफाइड गरेको व्यक्तिमात्र हुने व्यवस्था गर्न पहल गर्छु । त्यसो नगरे २६ हजार पसल र थपिने पसलहरुमा फर्मासिष्ट मात्र पु¥याउन सकिन्न ।

व्यवसायीहरुको व्यवसाय बचाउँदै सेवाग्राहीलाई पनि निरन्तर सेवा दिन सक्ने अवस्था बनाउनु छ । मानिस बसेको हरेक ठाउँमा औषधी त चाहिन्छ । त्यसलाई त्यही सर्टिफाइ व्यक्ति नै राख्ने व्यवस्था मिलाउ नयाँ रणनीति बनाउन पहल गर्ने, व्यवसाय नवीकरण गर्ने नीतिलाई पनि हरेक वर्ष नभई तीन वर्षमा एक पटक गर्ने पहल गर्ने, मिति सकिएका औषधीको व्यवस्थापनका लागि सरकारसँग समन्वय गर्ने, अर्को मुख्य कुरा भनेको खुद्रा व्यवसायी, थोक र आयातकर्ता तथा उत्पादक सबै पक्षका फरक समस्यालाई आ–आफ्नै ढंगले निरुपण गर्न पहल गर्नेछु । तीन किसिमका व्यवसायीका समस्या अलग छन् । म तिनै प्रकारको व्यवसाय गरिरहेको कारण सबै समस्या नजिकबाट हेरेर बुझेकोले ती सबै समस्या समान रुपले हल गर्न पहल गर्नेछु । यी बाहेक मेरा धेरै एजेण्डा छन् । व्यवसायसमेत सन्ततीले हेरिरहेकोले म हरेक समस्या न्यूनीकरण गर्न समय निकाल्न पनि सक्छु ।

नेपालमा औषधी व्यवसायलाई व्यवस्थित गर्न यहाँको हालसम्मको भूमिका के हो ?
मैले अघि पनि केही कुरा भनिसकेको छु । खुद्रा, थोक र आयातकर्ता यी तीन पक्षका फरक समस्या छन् । यी तीनै पक्षलाई व्यवस्थित गर्न नीतिगत पहलकदमी निरन्तर गरेको छु । नेतृत्वमा रहँदा झन सहज हुने अपेक्षासहित थप भूमिका निर्वाह गर्न सरकारसँग समन्वयमा मुख्य जोड दिने नै हो ।

हाल लाइसेन्स प्राप्त फार्मेसिष्टभन्दा पसल बढी भएको कुरा सुनिन्छ नि ? यसलाई व्यवस्थित गर्ने योजना चाहिँ के छ ?
मैले फरक समस्या भनी विभिन्न पक्षको उल्लेख गरिसकेको छु । त्यसअन्तर्गत नै लाइसेन्स प्राप्त फार्मेसिष्ट अपुग रहेको समस्या पनि परिहाल्छ । यसको लागि नै अहिले औषधी पसल वा औषधी कक्षमा कार्यरतहरुलाई पनि तालिम वा अपग्रेड गर्दै सरकारबाटै सर्टिफाइड व्यक्ति बनाएर पसलको तुलनामा व्यक्ति व्यवस्था गर्ने नीति अगाडि बढाउने छु । जसले गर्दा एकै पटक ठूलो समस्या आउनबाट व्यवसाय र सेवाग्राही अनि सरकारको नीतिमा पनि धक्का पुग्दैन ।

औषधी व्यवस्था विभागको व्यवसायीहरु प्रतिको दृष्टिकोण चाहिँ कस्तो पाउनु भएको छ ?
समग्रमा विभागको दृष्टिकोण खराब छैन । तर, टेक्निकल व्यक्तिहरु मात्र विभागमा हुँदा ‘इकोनोमिक’ पक्षको बुझाइमा ग्यापिङ हुन पुगेको छ । यसले व्यवहारिक कठिनाईमा अझ समस्या थप्छ । सुझबुझपूर्ण कार्य सम्पादनका लागि टेक्निकल व्यक्तिसँगै इकोनोमिक बुझेको दक्ष व्यक्तिको आवश्यकतालाई महसुस गरियोस् भन्ने विभागसँग पनि अनुरोध गर्दछु । कारण अर्बौंको लगानी यो व्यवसायमा लागिसकेको छ । आम मानिसलाई औषधी जस्तो कुरा नभएर पनि हुन्न । लगानी पनि बचाउने, राज्यको नीतिमा पनि खलल नपुर्‍याउने कदममा अपरिहार्य हुन्छ । यो मेरो बुझाइ पनि हो ।

अन्त्यमा, तपाईंले भन्ने कुराहरु थप केही छन् ? बुँदागत रुपमा बताइदिनुस् न ।
साढे चार दश लामो समय व्यवसायमा लगाएको अनुभव र संघमा बिताएको २८ वर्षको अनुभव यो दुवै अनुभवको निचोड नै यो क्षेत्रका समस्या हल गर्न सक्ने मुख्य आधार हो । मैले गुट, उपगुटको रुपमा काम गर्नैै छैन । तीन धारका सबै व्यवसायीका समस्या समान रुपले हल गर्नुछ । त्यसको लागि आफ्नो व्यवसायमा बढी समय दिनपर्ने अवस्थामा पनि म छैन । कारण मेरा छोराहरुले व्यवसाय सम्हालिसकेका छन् ।

मसँग संघको काम गर्ने पर्याप्त समय छ । मेचीदेखि महाकालीसम्मका सबै व्यवसायीका समस्या हल गर्न म निरन्तर लागि पर्नेछु । अर्को कुरा सरकारसँग नीतिगत पहलका लागि पनि व्यवसायीका हितमा के गरे हुन्छ ? भन्ने अनुभव पनि बटुलेकोको हुँदा जितेर के गर्ने ? भन्ने अलमलमा म हुन्न । त्यसैले सबै व्यवसायी साथीहरुको माया पाए काम गरेर देखाउने आँट गरेर सबैको माया पर्खेर लक्ष्यमा अगाडि बढ्न तयार छु । मेरा आधार प्रष्ट छन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ