२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचार‘मेरो नेतृत्वमा संगठित संस्थाको परिकल्पना गरेको छु’

‘मेरो नेतृत्वमा संगठित संस्थाको परिकल्पना गरेको छु’

'समान मुल्यमा गुणस्तरीय औषधी देशभर पुर्‍याउने योजना छ'


नेपाल औषधी व्यवसायी संघ १४ औं अधिवेशन २२ र २३ भदौंमा मधेश प्रदेशको वीरगन्जमा हुँदैछ । औद्योगिक हब वीरगन्जमा देशभरका औषधी व्यवसायी भेला भएर संघको आगामी नीति तथा नेतृत्वबारे निर्णय लिनेछन् । अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार लोकहरि श्रेष्ठ अहिले देश दौडाहामा छन् । श्रेष्ठसँग धनगढीमा हेल्थआवाजका लागि पदमराज भट्टले गरेको कुराकानीः

औषधी ब्यवसायी संघमा यहाँको आवद्धता कहिलेबाट हो ?
औषधी ब्यवसायी संघमा मेरो आवद्धता वि.सं. २०५३ सालदेखि हो । सुरुमा तत्कालीन लुम्बिनी अञ्चलमा सदस्य पदबाट संघमा प्रवेश गरेको थिए । त्यसपछि लुम्बिनी अञ्चलमै सह—कोषाध्यक्ष, कोषाध्यक्ष र उपाध्यक्षको भएर काम गरे । केन्द्रमा एक कार्यकाल सदस्य एक कार्यकाल थोक तर्फको उपाध्यक्ष र गएको १३ औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार उपविजेता भएको थिए ।

औषधी ब्यवसायी संघको अरु केही जिम्मेवारी सम्हाल्नुभएको छ कि ?
मैले वि.सं. २०५३ सालदेखि १३ औं अधिवेशनमा पराजय नहुदाँसम्म लगातार जिम्मेवारी सम्हालेको थिए । तत्कालीन लुम्बिनी अञ्चलमा सह—कोषाध्यक्ष र कोषाध्यक्ष हुँदा कोष वृद्धिमा मेरो योगदान र भुमिका रहेको छ । त्यस्तै, म केन्द्रमा पनि सदस्य हुँदा माथिका पदाधिकारीले दिएको जिम्मेवारीका साथै कमिटीमै बसेर काम गर्नुप¥यो । थोकको उपाध्यक्षमा हुँदा थोकको सबलीकरणको लागि केही प्रयासहरु गरेको थिए ।

नेपालमा औषधी ब्यवसायीहरुको अवस्था कस्तो छ ?
अहिले नेपालमा औषधी ब्यवसायीहरुको अवस्था त्यति राम्रो भन्न सकिदैन् । किनभने, नेपालको स्वास्थ्य क्षेत्रमा आम परिवर्तन ल्याउने जुन प्रयास गरिरहेको छ, त्यो प्रयासमा अहिले अवरोध जस्तो ल्याएको छ । जस्तै, गाउँपालिका तथा नगरपालिकाहरुको वडा—वडामा औषधी पसलहरु खोल्ने, जनताको लागि ल्याइएको स्वास्थ्य बिमा अव्यवस्थित हुनु, जनतासँग सहकार्य नदेखिनुजस्ता कार्यले गर्दा औषधी ब्यवसायमा जनताबाट भएको अर्बौ लगानी डुब्ने अवस्था देखिएको छ । त्यसकारण सरकारले जनतालाई रोजगार दिने हो, बेरोजगार बनाउने होइन । सरकारले जनताको सम्पत्तिको सुरक्षा गर्ने हो । त्यसकारण औषधी ब्यवसायीहरुको अवस्था नाजुक नै देखिन्छ ।

अहिले स्वदेशी उत्पादन व्यवसायी र आयात गर्ने औषधी व्यवसायी बीचमा एक किसिमले शीत युद्ध जस्तो नै छ ? त्यसले तपाईहरुलाई कति असर गर्छ ? जनतालाई असर गर्छ कि गर्दैन ?
मलाई यस्तो त लाग्दैन । आयात र उत्पादन गर्नेहरुको त्यस्तो शीतयुद्ध छ जस्तो मलाई लाग्दैन । किनभने, अहिले नेपाली औषधी उत्पादन गर्ने कम्पनीहरु पनि ७२ वटा पुगिसकेका छन् । आन्तरिक उत्पादनले आफ्नो बजार खोज्नु उसको स्वायत्त अधिकार हो । उसले बजार खोज्न पनि पर्‍यो । त्योअन्तर्गत उसले नेपाली बजारमा काम गरिरहेको छ भने भारत बंगलादेश अथवा तेस्रो मुलुकबाट आयात हुने औषधी पनि निर्वाध रुपमा आयात भएकै छ । त्यसका लागि प्रक्रिया अपनाउने मात्रै हो । औषधी ब्यवस्था विभागले आवश्यक कागजात पुर्‍याएर दर्ता गरिसकेपछि ल्याउन पाउनुपर्छ । त्यसमा म कुनै द्वन्द्व त देख्दैन् ।

यसपटक तपाईंहरुका एजेण्डाहरु के-के छन् त ?
यसमा मेरो ठूलो एजेण्डा छैन । खासगरी औषधी ब्यवसायीहरुले पाएको दुःख, पीर मर्कालाई समाधान गर्ने, औषधी व्यवसायीहरु संगठित, व्यवस्थित मर्यादित हुनुपर्छ भन्ने मान्यता हो । त्यहीअन्तर्गत काम गर्दै देशभरी सुरक्षित असरयुक्त गुणयुक्त औषधीहरु समान मुल्यमा पु¥याउने भिजन छ । त्यो भिजनका साथ काम गर्ने मेरो उद्धेश्य छ ।

अध्यक्षमा निर्वाचित भएपछि कसरी कार्यन्वयनमा जानुहुन्छ ?
सबैभन्दा पहिले म अध्यक्ष पदमा निर्वाचित भएपछि पहिलो तीन महिनाभित्र दुई वटा काम गर्ने योजना लिएको छु । ७७ जिल्ला भएपनि ५४ जिल्लामा मात्रै हाम्रो जिल्ला शाखा गठन भएको छ । जिल्ला शाखाको अध्यक्षसहित प्रदेशका अध्यक्षहरु र केन्द्रीय समितिको एउटा पूर्ण बैठक राखेर पहिले म समस्याको पहिचान गर्नेछु । पहिचान भएको समस्यालाई क्रमसः आवश्यकता र समय हेरेर कुन—कुन पहिला गर्न सकिन्छ प्राथमिकतामा आधारमा समाधान गर्नेतिर लाग्नेछु । औषधी व्यवसायीहरु दूरदराजबाट, टाढाबाट आउँदा विभिन्न कागजपत्रहरुको बारेमा जानकारी नहुने र अनलाइनको कामहरु गर्न नसकिने काठमाडौंमा तुरुन्त नै नहोला अन्य ठाउँमा रहेका औषधी व्यवस्था विभागका कार्यालयहरु छन् । ती कार्यालयको बाहिर औषधी व्यवसायी संघले एउटा हेल्प डेस्क राखिदिएपछि सजिलो हुने आशा छ ।

एक वर्षभित्रमा जिल्लाहरुमा तालिमहरु ल्याउने छु । किनभने, औषधी जस्तो संवेदनशील पेशा नियमित तालिमबाट अपडेट तथा अपग्रेड हुनुपर्ने जरुरी छ । यो अहिले धेरै समयदेखि भएको छैन । नेपालमा झण्डै २० वटाभन्दा बढी गैरसरकारी संस्थाले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन् । उहाँहरुसँग मिलेर औषधी व्यवसायी किन जनतामा नपुर्‍याउने त ? त्यसकारण एनजिओहरुसँग मिलेर तालिम र जनतासम्म पुग्ने कार्यक्रम ल्याउनेछ ।

नेपालमा औषधी व्यवसायलाई व्यवस्थित गर्न यहाँको हालसम्मको भूमिका के हो ?
वि.सं. २०३० सालमै औषधी व्यवसायीहरुलाई संगठित गर्न अग्रजहरुले औषधी व्यवसायी संघ गठन गरेका हुन् । संघले आज ५० औं स्वर्णजयन्ती मनाएको अवस्था छ । झण्डै ३० हजार औषधी ब्यवसायीहरु छन्, त्यसमध्ये करिब १२ हजार व्यवसायीहरु यो संघमा आबद्ध छन् । आबद्धता भएपनि शतप्रतिशत गर्न सकिएको छैन । विभिन्न कालखण्डहरुमा विभिन्न किसिमका व्यवसायी साथीहरु र त्यसभित्र पनि गुट उपगुट हुन जाँदा खेरी आवद्धतामा कमी आएको हो । मेरो नेतृत्वमा संगठित संस्थाको परिकल्पना गरेको छु । सबै साथीहरुलाई यसमा समेटेर संगठनलाई बलियो बनाएर लैजाने मेरो आशय छ ।

हाल लाइसेन्स प्राप्त फार्मेसिस्टभन्दा पसल बढी भएको कुरा आइरहेको छ । यसलाई व्यवस्थित गर्ने यहाँको योजना के छ ?
यो त मेरो योजनाभन्दा पनि सरकारको योजना हो । सरकारले लाइसेन्स नभइकन संचालन गरेकाहरुलाई लाइसेन्सको दायरामा ल्याउनुपर्‍यो । लाइसेन्सको दायरामा ल्याउन सकिदैन् भने बिना लाइसेन्स बिना दर्ता नगरीकन पसल संचालन गर्न दिन हुँदैन् । यसमा सरकार र हामी ब्यवसायीहरु मिलेर उहाँहरुलाई निरुत्साहित पार्ने काम गर्नुपर्दछ । सकेसम्म उहाँहरुलाई व्यवसायको दायराभित्र ल्याउन तालिम दिएर गरेको लगानीलाई समेत डुब्न नदिएर ब्यवस्थापन गर्न जरुरी छ ।

औषधी व्यवस्था विभागको तपाईंहरु व्यवसायीप्रतिको दृष्टिकोण कस्तो पाउनुभएको छ ?
औषधी व्यवस्था बिभाग भनेको औषधी व्यवसायीहरुको नियमन गर्ने निकाय हो । उहाँहरुले सरकारले लागु गर्नु भनेको नियम लागु गराउने सँगै सिकाउने हो । त्यो औषधी व्यवसायीमार्फत व्यवसायीसम्म पुग्ने हो । औषधी व्यवस्था विभाग र औषधी व्यवसायी संघ नङ र मासुजस्तै हो । औषधी व्यवस्था विभाग, औषधी व्यवसायी संघ चिकित्सकहरु यो सबै मिलेर देशको जनताको स्वास्थ्यमा समुचित विकास गर्ने हो ।

अन्तमा तपाईंले जित्ने आधार के—के हुन् ?
म वि.सं. २०४० सालदेखि यो पेशामा रहेको ब्यवसायी हुँ । देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म खुद्रा थोक र आयातकर्ता साथीहरुसँग पनि राम्रो सम्बन्ध छ । ब्यवसायीहरुको पीरमर्का पनि बुझेको ब्यवसायी भएको कारणले मलाई अधिकतम भोटहरु आएर मैले विजय प्राप्त गर्छु भन्ने आशा गरेको छु ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ