२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारबाल स्वास्थ्यमा सामाजिक परिवेश र अहिलेको अवस्था

बाल स्वास्थ्यमा सामाजिक परिवेश र अहिलेको अवस्था


बदलिँदो जीवनशैली र खानपान भइरहेको फेरबदलका कारण नवजात शिशुहरु एकपछि अर्काे स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् । जन्मदैं अनेकौ वंशाणुगत रोग लिएर जन्मनेदेखि नसा र मेरुदन्डमा समस्या, कुपोषण, लाटोपन र अपांगतालगायतका समस्याहरु नवजात शिशुहरुमा देखिने गरेका छन् ।

समाजमा विद्यमान केही चलन र परम्पराहरुका कारण पनि नवजात शिशुहरुमा थप स्वास्थ्य समस्याहरु खेप्न विविश हुने गरेको चिकित्सकहरु बताउँछन् । नवजात शिशुहरुलाई राम्रो हुन्छ भन्ने ठानेर तोरीको तेलले शरीरमा मालिस गरिदिने, आँखामा गाजल लगाइदिने, मह चटाइ दिने, कान र नाभीमा तोरीको तेल हाली दिने, आबश्यकताभन्दा धेरै भैसीको फ्याट भएको दुध खुवाइदिने चलन छ ।

यस्ता परम्परागत चलनले नवजात शिशुको स्वास्थ्यमा प्रतिकुल असर पार्छ भन्ने धेरै आमा बुवा र अभिभावकहरुलाई थाहा हुँदैन् । डाक्टरको सल्लाहबिना नै गरिने त्यस्ता घरेलु उपचारका चलनले शिशुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ ।

समाजका रहेका केही चलन र परम्पराहरु भने नवजात शिशुहरुका लागि निकै उपयोगी पनि छन् । घाममा राखेर मासिल गरिदिने, झोलुङमा राखेर सुताउँदा शिशुको स्वास्थ्य राम्रो हुन्छ ।

अहिलेको बढ्दो प्रदुषण र मौसममा भइरहने फेरबदलका कारण कारण नवजात शिशुहरु अनेकौ भाइरल इन्फेक्सनमा परेर बिरामी हुने गरेका छन् । बच्चाहरु बिरामी हुनासाथ विशेषज्ञ चिकित्सकलाई चेक जाँच नगराई औषधी पसलबाट औषधी किनेर लैजाने र उसैले दिएका औषधी खुवाउने चलन छ । त्यस्तो चलन नवजात शिशुका लागि धेरै नै हानिकारक छ ।

औषधीले पसलेलाई के कारणले बच्चा बिरामी भएको हो, बिरामीलाई के औषधी दिँदा राम्रो हुन्छ, साइड इफेक्ट हुँदैन भन्ने केही थाहा हुँदैन् । त्यो थाहा पाउन त डाक्टरी पढ्नुपर्छ । औषधीको नाम र त्यसको मुल्य जानेको औषधी पसलेलाई डाक्टर ठान्ने हाम्रो सोच नै गलत छ । त्यस्तो सोचलाई हामीले बदल्नै पर्छ ।

औषधी पसलेको भर परेर औषधी खुवाउँदा सन्चो नभएर बच्चा झनै सिकिस्त भएपछि ढिलो गरेर विशेषज्ञ चिकित्सककोमा चेकजाँच गराउने चलन छ । समयमै राम्रो उपचार सेवा नपाउँदा बच्चाहरु सानै उमेरमा निमोनियालगायतका अनेकौ जटिल स्वास्थ्य समस्या खेप्न विवश हुने गरेका छन् ।

कतिपय अभिभावकहरुले त नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने खोपसमेत लगाउन हेलचेक्रयाई गर्ने गरेका छन् । दादुराको महामारी फैलिएपछि चेकजाँच गराउन चिकित्सककोमा पुगेकामध्ये करिब १५ प्रतिशत बालबालिकाहरुमा दादुराको खोप नै नलगाएको पाइएको थियो ।

नवजात शिशुले पौष्टिक खाने कुरा र राम्रो हेरचाह नपाउने समस्या त हाम्रो समाजमा वर्षाैदेखि कायमै छ । दुई/तीन वर्षको अन्तरमा जन्मने बच्चाले पौष्टिक खाने कुरा र राम्रो हेरचाह पाउने सम्भावना निककै कम हुन्छ । तर, हाम्रो समाजमा अझै पनि दुई/तीन वर्षको अन्तरमा धेरै बच्चा जन्मने गरेका छन् । त्यस्ता बच्चामा कुपोषणदेखि अनेकौं खालका स्वास्थ्य समस्या हुने सम्भावना अत्याधिक हुन्छ ।

नवजात शिशुहरुको स्वास्थ्य राम्रो बनाउन सबैभन्दा बढी भूमिका गर्भवती आमाकै हुन्छ । गर्भवती हुनासाथ आमाले ‘गर्भवती छु अब मेरो जिम्मेवारी म र मेरो गर्भमा रहेको बच्चा दुवैप्रति छ’ भन्ने सोच्नुपर्छ । र, स्त्री रोग विशेषज्ञ चिकित्सकहरुको सल्लाह सुझावअनुसार नियमित रुपमा स्वास्थ चेक जाँच, पौष्टिक खानपिन र नियमित रुपमा हिडडुल लगायत हल्का व्यायामहरु गर्नुपर्छ ।

बच्चा जन्मिसकेपछि बालरोग विशेषज्ञ चिकित्सकको सल्लाह सुझावअनुसार बच्चाको हेरचाह, खानपिन, खोप लगायत नियमित रुपमा स्वास्थ्य चेकजाँच गराउनुपर्छ ।

(लेखक केयर सिटी हस्पिटलका बाल रोग विशेषज्ञ हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ