२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारचीनमा तीब्र फैलिरहेको निमोनियादेखि विश्व त्रसित !

चीनमा तीब्र फैलिरहेको निमोनियादेखि विश्व त्रसित !


पछिल्लो केही हप्तादेखि चीनको बेइजिङ र उत्तरी भूभागका ठूला अस्पतालहरुमा निमोनिया ग्रसित स–साना बालबालिकाहरुको चाप बढेको जानकारी आउने क्रम जारी छ । २२ नोभेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीन सरकारसँग त्यहाँ बालबालिकामा फैलिरहेको निमोनियाको बारेमा थप जानकारी माग गरेको छ ।

सन् २०१९ को अन्तमा पनि यस्तै फ्लु जस्तो लक्षण/निमोनियाले सुरुमा चीनको वुहानमा अनि पछि बिश्वव्यापी लाखौंले मृत्युवरण गर्नु परेको थियो । यसलाई हाल हामीले कोभिड–१९ को नामले चिन्दछौं । कोभिड–१९ को उत्पत्ति, समय र देश हाल बालबालिकामा फैलिरहेको निमोनियासँग मिल्न जादा विश्व एकपटक फेरि त्रसित, झस्किएको र नजिकबाट नियालेको देखिन्छ ।

चीनले जानकारी दिएअनुसार हाल बालबालिकामा निमोनिया ह्वात्तै बढ्नुमा जाडो महिना देखिने फ्लु भाइरस, आरएसभी भाइरस, एडेनो भाइरस, सार्स कोभ–२ भाइरस तथा माइकोप्लाज्मा निमोनियाजस्ता श्वास–प्रश्वासमा आक्रमण गर्ने संक्रमणहरुलाई कारक मानिएको छ । यसमा पनि माइकोप्लाज्मा निमोनिया गराउने ब्याक्टेरियासँग जोडेर हेरिएको छ । यो ब्याक्टेरियाले विशेषतः बालबालिकालाई बढी दुःख दिने गर्दछ र विद्यालय जस्तो सार्वजनिक स्थानमा व्यापक फैलने गर्दछ ।

तर, यो निमोनिया देखिए सबैलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था भने हुँदैन् । चिकित्सकको सल्लाहअनुसार औषधी लिए पूर्ण रुपमा निको हुने गर्दछ । यसर्थ यसलाई ‘वकिङ्ग निमोनिया’ पनि भन्ने गरिन्छ । हाछ्यु आउनु, नाकबाट पानी बग्नु, घाटी दुख्नु, आँखा रसिलो हुनु, वान्ता, पखाला यसका मुख्य लक्षणहरु हुन् । तर, हाल यी साधारण देखिने लक्षण कडा भएर किन बालबालिकाहरु अस्पताल भर्ना भइरहेको हो वा हुनु परेको भन्नेमा भने धेरैको चासो र चिन्ता रहेको पाइन्छ । हालसम्मको अवस्था र जानकारी हेर्दा अस्वाभाविक लक्षण र नयाँ संक्रमण पुष्टि भएको भने छैन् ।

बालबालिकामा देखिएको कडा निमोनियालाई कतिपय विज्ञहरुले त्यहाँको लामो समयसम्म भएको लकडाउनसँग पनि जोडेर हेर्ने गरेको पाइन्छ । बालबालिकाहरु वर्षेनी प्राकृतिक रुपमा विभिन्न संक्रमणहरुसँग जुधिरहेका हुन्छन् र सोहीअनुरुप प्रतिरोधात्मक क्षमता पनि विकास गर्दै गइरहेका हुन्छन् । तर, लामो समयसम्म लकडाउनपछिको अवस्थामा नियमित देखिने संक्रमणहरुसँग पनि शरीरले प्रतिरोध सहज रुपमा गर्न नसक्दा लक्षणहरुले कडा स्वरुप लिएको हुनसक्ने तर्कहरु पनि अघि सारिएको छ । यद्यपि, यी तर्कहरु पुष्टि हुन भने बाँकी नै छ ।

चीनमा जस्तो हाल नेपालमा बालबालिकामा कडा निमोनिया अस्वाभाविक वृद्धि भई अस्पतालमा चाप बढेको देखिदैंन् । यद्यपि, रुघाखोकी लक्षण भएका बालबालिकाहरु भने देख्न सकिन्छ । तर, यसो भन्दै गर्दा विश्वको नै ध्यान खिचेको चीनमा फैलिरहेको निमोनियालाई भने नेपालले पूर्णरुपमा नजर अन्दाज गर्न मिल्दैन/हुँदैन् । किनभने, कोभिड–१९ सुरु हुँदा पनि लक्षणहरु सामान्य जस्तो देखिएको वा कसैले पनि विश्वभरि फैलिएर लाखौंको ज्यान लिन्छ भनेर सोचेको वा अनुमान नै गरेका थिएन् ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ