२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारजाजरकोट भूकम्प एक अनुभूति

जाजरकोट भूकम्प एक अनुभूति


२०८० साल कार्तिक १७ गते राती एक्कासी हल्लिएजस्तो भएर आयो । एकछिन झपक्क मात्र के भएको थियो । एकै छिनमा सबैतिर पुष्ट/अपुष्ट समाचारहरु निरन्तर सम्प्रेषण भइसकेको थियो । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको विनासकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिम जिल्लामा बसोवास गर्ने नागरिकहरु प्रत्यक्ष प्रभावित भए नै । त्यही सँगसगै आसपासका थप पाँच जिल्लामा पनि आंशिक असर पर्न गयो । पछिल्लो तथ्यांकअनुसार भूकम्पमा परी दुवै जिल्ला गरी कुल १ सय ५४ जनाको दुःखद् मृत्यु हुन गयो भने करिब ९ सय ३४ जना मानिसहरु घाइते भए ।

मध्यरातिमा भएको यस विपद्मा मृतकहरुको व्यवस्थापन, घाइतेहरुको तत्काल उद्धार, उपचारको व्यवस्था गर्न हामीले १८ कार्तिक सबेरै सामाजिक विकास मन्त्रालयका सचिवज्यूको अध्यक्षतामा विपद् निर्देशन समितिको आकस्मिक बैठकबाट निर्णय गराई अत्यन्त प्रभावित जिल्लाका अस्पतालका अतिरिक्त प्रदेशका सम्पूर्ण हब अस्पतालहरुलाई सक्रिय गराएर रिफरल संयन्त्रलाई सफल रुपमा कार्यन्वयन गरियो । यो आकस्मिक अवस्थामा जनस्वास्थ्यका जोखिम र समस्याको रोकथाम र उचित व्यवथापन नै तत्कालको आवश्यकता र त्यसको समाधान चुनौतीपूर्ण नै थियो । विषयगत रुपमा सम्पूर्ण जिम्मेवारी सामाजिक विकास मन्त्रालयको भएतापनि स्वास्थ्य क्षेत्रमा कार्यान्वयन गर्ने निकाय भने स्वास्थ्य सेवा निर्देशनालय नै थियो ।

१८ कात्तिकको बिहानै कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकको निर्णयमार्फत सबैलाई आ–आफ्नो पक्षबाट तत्काल उद्धार, राहत र उपचारमा खटिन निर्देशन दिइयो । त्यसपछि प्रादेशिक द्रूत प्रतिकार्य टोली, स्वास्थ्य तथा पोषण समूह, प्रदेश स्वास्थ्य समन्वय समितिको बैठकबाट बिभिन्न निर्णय गरी आपतकालीन अवस्थामा रहेका घाइते तथा बिरामीहरुको उद्धार तथा प्रतिकार्यलाई द्रूत गतिमा अगाडि बढाउन सफल भयौं ।

सोही दिन बिहानै स्वास्थ्य सेवा निर्देशनालयले प्रभावित क्षेत्रमा सम्पर्क गरी घटनाको प्रारम्भिक मुल्यांकनका आधारमा प्रदेश अस्पतालको समन्वयमा विशेषज्ञसहितको अत्यावश्यक चिकित्सकीय समूह हवाई माध्यमबाट परिचालन गरिएको थियो र सँगै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रसँगको समन्वयमा अत्यावश्यक औषधी र सामाग्रीहरु पनि पठाइएको थियो । तत्पश्चात स्थल मार्गबाट चिकित्सक र अन्य स्वास्थ्यकर्मीसहित आठ जनाको टोली र थप औषधी पठाइएको थियो ।

संघीय सरकारबाट खटाइएको आकस्मिक चिकित्सकीय टोली निर्देशनालयको समन्वयमा प्रभावित क्षेत्रमा कार्यरत रहँदै गर्दा प्रदेश राजधानीबाट नजिकका अस्पतालहरु दैलेख, सल्यान र मेहलकुना अस्पतालबाट पनि तत्काल चिकित्सक सहितको थप टोली परिचालन गरिएको थियो । यसबाहेक अन्य प्रदेश लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेश, वीर, ट्रमा सेन्टर, वीरेन्द्र सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि संस्थागत र समूहगत रुपमा हालसम्म २६ वटा आकस्मिक चिकिसकीय टोली परिचालन गरी उद्धार, उपचार, प्रेषण गरिएको अनुभवले हामीलाई संकटका अवस्थामा कसरी समन्वय र सहकार्य गरे परिणाम सकारात्मक हुन्छ भने सिकाइ प्राप्त भयो । जाजरकोट र रुकुमपश्चिम जिल्ला र स्थानीय तहका आधारभूत अस्पतालहरु र चौरजहारी अस्पताल प्रमुखसँग घटना घटेको रातिदेखि नै सूचना आदान—प्रदान साथै सरोकारवाला निकाय र क्लस्टरसँगको निरन्तर समन्वयले हामीलाई आकस्मिक स्वास्थ्य सेवाको प्रवाह गर्ने कार्यलाई टुंगोमा पु¥याउन उल्लेखनीय सहयोग ग¥यो ।

भूकम्पबाट क्षति भई प्रभावित भएका स्वास्थ्य संस्था, त्रासदीपूर्ण अवस्थाबाट हताहत भएका नागरिक र स्वास्थ्यकर्मीको एकिन विवरण प्राप्त हुँदा त्यहाँबाट प्रवाह हुने सेवा पनि प्रभावकारी नहुने भएकाले सत्य सूचना नै महत्वपूर्ण प्राथमिकता भएकाले प्रदेश स्वास्थ्य आपत्तकालीन संचालन केन्द्र सक्रिय भई कार्य गरिरहेको थियो । विपद्को अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक नेतृत्वकर्ता साथै स्वास्थ्य क्षेत्रमा कार्यरत विकास साझेदारहरु सदस्य रहेको स्वास्थ्य तथा पोषण कलस्टरको निर्णयअनुसार निर्देशनालयअन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपत्तकालीन व्यवस्थापन केन्द्रले भूकम्प पश्चात हरेक दिन नियमित रुपमा सूचना व्यवस्थापन गरी दैनिक रुपमा अवस्थाको प्रतिवेदन प्रकाशन गर्न थाल्यो । हरेक दिन जिल्ला र स्थानीय तहमा सम्पर्क गरेर त्यहाँको वस्तुस्थिति बुझ्ने, तथ्याङ्क संकलन गर्ने र स्वास्थ्य सेवा प्रवाहमा समस्या भए नभएको जानकारी लिने र कुनै समस्या भए वा सहयोग चाहिएमा त्यसका लागि सरकार र सरोकारवाला निकायहरुसँग समन्वय गर्ने कार्य भयो ।

भूकम्प गएको दोस्रो दिन स्वास्थ्य सेवा निर्देशनालयको नेतृत्वमा भूकम्पबाट अति प्रभावित जिल्ला र स्थानीय तहहरुमा परिचालन हुनेगरी ७ वटा टोली बनाई स्पष्ट जिम्मेवारीसहित सातवटै स्थानीय तहमा पठाइएको थियो । जसमा स्वास्थ्य तथा पोषण कलस्टर र प्रदेश स्वास्थ्य समन्वय समितिका सम्पूर्ण समूहहरुको प्रतिनिधि समावेस हुने गरी उहाँहरुको प्राविधिक सहयोगसमेत लिइएको थियो । तत्कालै सबै पालिकाको द्रूत प्रतिकार्य समिति सक्रिय बनाएर प्रतिकार्य विश्लेषण गर्ने, समन्वय, प्रारम्भिक उपचार, पोषिलो खाद्य पदार्थ वितरण, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको तथ्यांक संकलन, मानसिक स्वास्थ्यको प्रारम्भिक उपचारलगायतका आवश्यकताको पहिचान गरी दैनिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो ।

भ्रमण पश्चात् परिचालित टोलीले अन्तिम फिल्ड प्रतिवेदन तयार गरी निर्देशनालयको नियमित कलस्टर बैठकमा पेश गरी सोहीअनुसारको योजना निर्माण र कार्यन्वयन गर्न महत्वपूर्ण सहयोग गरेको थियो । दैनिक रुपमा बस्ने स्वास्थ्य तथा पोषण कलस्टरको बैठकले गत २४ घण्टाका सम्पूर्ण घटनाक्रम, सूचना र समस्या विश्लेषण गरी सोहीअनुसार प्रतिकार्यका क्रियाकलापहरु तय गर्न र सञ्चालन गर्दा सहज बनाएको थियो । जसमा सबैभन्दा महत्वपूर्ण कुरा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विकास साझेदारहरु बीचको समन्वय नै प्रमुख थियो ।

भूकम्पपछिको प्रारम्भिक मुल्यांकन र त्यसको समाधान पछाडिको अर्को महत्वपूर्ण पाटो भनेको अत्यावश्यक स्वास्थ्य सेवा जसमा मातृ शिशु, बाल स्वास्थ्य, पोषण सेवा नै अग्रपंक्तिमा थिए । हामीले नवजात शिशु स्वास्थ्य, पोषण सेवा, खोप सेवा, दक्ष स्वास्थ्यकर्मीद्वारा संस्थागत प्रसुति, नवजात शिशु तथा बालजन्य रोग सम्बन्धि समुदायमा आधारित एकीकृत व्यवस्थापन सेवाको निरन्तरता दिनु थियो । नवजात शिशुलाई बढ्दै गएको चिसोबाट जोगाउन, स्तनपान गराइरहेका आमाहरूलाई नव शिशु स्याहार, स्तनपान परामर्श, अस्थायी त्रिपालका टहरामुनि बसोवास गर्ने गर्भवती, सुत्केरी आमाहरूलाई स्वास्थ्य सेवा, परामर्श, वर्थिङ सेन्टरबाट दिने सेवा र सामग्रीको बन्दोबस्त, न्यानो कपडाको व्यवस्था र महिनावारी सरसफाईको व्यवस्थापन गर्नु अवश्य पनि चुनौतीपूर्ण थियो ।

यसका अतिरिक्त उच्च जोखिममा रहेका अन्य उमेर समूहरू जस्तैः वृद्धवृद्धा, औषधी सेवन गरिरहेका दीर्घरोगका बिरामी, घाइते अपांगहरूको रेखदेख र उनीहरुको उचित व्यवस्थापन गर्नु अर्को चुनौतीपूर्ण काम थियो । यसरी विभिन्न लक्षित समूहका विशिष्ट समस्याहरु र आवश्यकताहरूलाई ध्यानमा राखी उनीहरूको अतिरिक्त आवश्यकताहरू पहिचान र सम्बोधन गर्ने संकल्पअनुसार प्रारम्भदेखि नै निरन्तर समन्वय र सहकार्यमार्फत अत्यावश्यक स्वास्थ्य सेवालाई तत्काल पुनःस्थापना गर्न सफल भयौ । जहाँ स्थानीय तहका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुको भूमिका स्मरणीय छ ।

प्रकोप पश्चात् प्रभावित क्षेत्रमा तत्कालै स्वास्थ्य समस्याको सम्बोधन गर्न सकिएन भने विभिन्न किसिमका महामारी हुनसक्ने सम्भावनालाई ध्यानमा राखी अत्यावश्यक औषधी तथा रोग निदान सम्बन्धि कीटहरुको निरन्तर आपूर्ति, परीक्षण, स्वास्थ्य प्रबर्धनात्मक सूचनामूलक सामग्रीहरुको उत्पादन तथा वितरण, पानीजन्य रोगहरुको निगरानी, शंकास्पद पानीका मुहान र स्रोतहरुको परीक्षण तथा शुद्धीकरण अति नै महत्वपूर्ण पाटो थियो । जुन हामीले तत्कालै गर्न समर्थ भयौ । हामीले निरन्तर चलिरहेका अन्य नियमित कार्यक्रमहरू जस्तैः रोग नियन्त्रणअन्तर्गत क्षयरोग, कुष्ठरोग, एचआईभी, मलेरिया, कालाजार, डेंगु, स्क्रब टाइफसजस्ता संक्रामक रोगहरुको निगरानी र प्रतिकार्य केन्द्रीत थियौ भने त्यो र अझै पनि कायमै छ ।

अस्थायी पाल तथा टेन्टहरुमा दिनरात बिताउन बाध्य रहेका जनताहरुमा आउन सक्ने सम्भावित स्वास्थ्य समस्या र प्रकोपहरू जस्तैः पानीजन्य रोगहरू आँउ, हैजा, टाइफाइड वा विषमज्वरो, चिसोका कारण हुने झाडापखाला तथा श्वासप्रश्वास–रुघाखोकी, दम, निमोनिया सम्बन्धि प्रकोपजन्य रोगहरूको नियन्त्रण र व्यवस्थापनमा हामी हर समय सचेत भई अन्य समानान्तर कलस्टर र सरोकारवालाहरूसँग पनि निरन्तर सम्वाद, विचारविमर्श र सहकार्यमा लागि नै रह्यौं । जसले गर्दा हालसम्म कुनैपनि महामारीको सामना गर्न परेन् ।

भूकम्पमा गम्भीर घाइते भएका बिरामीहरुको स्वास्थ्य पुनःस्थापना र मानसिक स्वास्थ्यअन्तर्गत मनोवैज्ञानिक प्राथमिक उपचार, मनोसामाजिक सहायता, परामर्श र थेरापी पनि उत्तिकै महत्वपूर्ण थियो । पुर्नःस्थापना सेवाअन्तर्गत अपाङ्गता तथा घाइते भएका बिरामीको पहिचान गरी सहायक सामग्रीसहितको सेवा दिनु थियो । अस्पताल र उपचारात्मक सेवा, अक्सिजन व्यवस्थापन, रगत व्यवस्थापन, एम्बुलेन्स र प्रेषण सेवा, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, प्रयोगशाला सेवा थप महत्वपूर्ण क्षेत्र थिए । अर्को, महत्वपूर्ण पाटो भनेको स्वास्थ्य सामग्रीको आपूर्ति जसमा औषधी, उपकरण र औषधीजन्य सामग्रीहरूको व्यवस्थापन गर्नु थियो । जुन काम प्रदेश स्वास्थ्य आपू्र्ति व्यवस्थापन केन्द्रका निर्देशकज्यूको सक्रियतामा सकेसम्म अभाव हुन नदिने गरी व्यवस्थापन गरिएको थियो ।

यी सम्पूर्ण काम गरिरहँदा हामीले सकेसम्म एकद्वार प्रणाली अवलम्बन गरेका थियौं । जसमा साझेदार संस्थाहरुले सहयोग गर्न सक्ने जनशक्ति, सूचना, अन्य स्वास्थ्य सेवा, शिविर सञ्चालन तथा स्वास्थ्य आपूर्तिको सहयोग प्रदेश मातहत जाने बन्दोबस्त मिलाइएको थियो । । विपद्ले गर्दा कैयौं मानिसहरुमा डराउने, बरबराउने र चिन्तित भइरहनुका साथै अन्य मानसिक समस्याहरु पनि बढिरहेको देखिएकाले जिल्ला र स्थानीय तहसँग समन्वय गरी मानसिक स्वास्थ्यमा काम गरिरहेका साझेदार संस्थाहरुलाई स्थानीय तहमा मनोपरामर्शको लागि हेल्प डेस्क संचालन गरिएको थियो । त्यसैगरी, स्वास्थ्य सेवा विभागले पनि एकीकृत जनस्वास्थ्य सचेतना अभियान, मानसिक स्वास्थ्य सेवा, प्रकोप रोकथामका लागि नियमित निगरानी तथा घाइतेहरुको पुर्नःस्थापना कार्यलाई अगाडि बढाइरहेको छ । दोहोरोपनालाई कम गर्न र सम्भावित सेवा अन्तरलाई सम्बोधन गर्न भूकम्प प्रभावित क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने स्वास्थ्य शिविरलाई स्वास्थ्य सेवा निर्देशनालयसँग समन्वय गरी एकीकृत कार्यान्वयन योजना बनाइएको छ ।

खासगरी स्वास्थ्य सेवा निर्देशनालयले आफ्ना प्रतिकार्यका गतिविधिमध्ये पहिलो सूचना संकलन केन्द्रको स्थापना व्यवस्थापन तथा विश्लेषण, दोस्रो उद्धार तथा राहत वितरणका लागि मानव संसाधनको संयोजन तथा परिचालन, तेस्रो स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखसँगको समन्वय र क्षमता विकास, चौथो अन्तर– कलस्टर सूचनाको आदान—प्रदान र समन्वय, पाँचौं स्वास्थ्य संस्थाहरुको अवस्था तथा क्षतिको विवरण संकलन, छैटौं रोगहरुको निगरानी, समन्वय तथा रोगजन्य प्रकोपको समयमै पहिचान र व्यवस्थापन, सातौं जोखिमपूर्ण समूहमा रहेको जनसंख्याको आवश्यकता पहिचान र पुर्नःस्थापना जस्तैः नवजात शिशु, गर्भावस्था तथा सुत्केरी महिला, जेष्ठ नागरिक, अपांग तथा दीर्घ रोगका बिरामीहरुको व्यवस्थापन, आठौं अत्याश्यक स्वास्थ्य सेवाको नियमित संचालन, नवौ स्वास्थ्यसँग जोडिएको अस्थायी आवासको प्रगति अनुगमन तथा पृष्ठपोषण, दशौं प्रेषण संयन्त्रअन्तर्गत हब एण्ड सेटेलाइट हस्पिटलको क्षमता विकास र अन्त्यमा एघारौं स्वास्थ्य शिक्षा सूचना तथा त्यसको सम्प्रेषण रहेका छन् ।

(डा. खड्का कर्णाली स्वास्थ्य निर्देशनालयका निर्देशक हुन् ।)


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ