नेपालमा हरेक दिन करिब २० जनाले आत्महत्या गरेर ज्यान गुमाउँछन् । यो केवल प्रहरीमा दर्ता भएका घटनाको संख्या हो । वास्तविक अवस्था यसभन्दा अझ गम्भीर हुन सक्छ । किनभने, धेरै परिवारले यस्ता घटना लुकाउँछन्—समाजको लाञ्छनाको डरले, कानुनी झमेलामा पर्ने त्रासले र अझै पनि व्यापक रूपमा फैलिएको ‘आत्महत्या गैरकानुनी हो’ भन्ने भ्रमका कारणले ।
तर, वास्तविकता फरक छ । आत्महत्या नेपालमा गैरकानुनी होइन र कहिल्यै थिएन् । यो भ्रमले पीडित परिवारलाई मौन बस्न बाध्य बनाउँछ, तथ्यांकलाई अपूर्ण बनाउँछ र मानसिक स्वास्थ्यबारे खुला संवाद गर्न थप कठिन बनाइदिन्छ । यही मौनता तोड्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो ।
धेरै मनिसको बुझाइ गलत छ
नेपालको कानुनले आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई सजाय दिँदैन् । कानुनले सजाय दिने त अरूलाई आत्महत्या गर्न उक्साउने वा बाध्य पार्ने कामलाई हो । कसैलाई घचघच्याएर, धम्क्याएर वा यस्तो अवस्थामा पुर्याएर जसमा उसले अरू कुनै बाटो नै नदेखोस् ।
यी दुई कुरा एकदमै फरक हुन् तर यो भ्रम दशकौंदेखि चलिरहेको छ । पत्रपत्रिकाहरूले समेत बेला—बेला गलत लेख्छन्, कहिलेकाहीं त स्वास्थ्यकर्मीहरूले नै यस्तो भ्रम पालेका हुन्छन् ।
यसको असर भने साँच्चै गम्भीर छ । परिवारहरू आत्महत्याको घटना रिपोर्ट गर्दा कानुनी झमेलामा फस्छु कि भन्ने डरले चुप लाग्छन् र धेरै मृत्यु त ‘दुर्घटना’ भनेर लुकाइन्छन् वा रिपोर्ट हुँदैनन् । यो लाज र डरले कसैलाई पनि सुरक्षित बनाउँदैन् बरु समस्यालाई नै आँखाबाट ओझेल पार्छ।
कसमा यो समस्या बढी छ ?
नेपालको तथ्याङ्कमा केही कुरा विश्वभरिको ढाँचासँग मिल्दैनन् । महिलामा आत्महत्याको दर असामान्य रूपमा उच्च छ । विश्वभर पुरुषले महिलाभन्दा झण्डै दोब्बर आत्महत्या गर्छन् । नेपालमा भने यो फरक निकै कम छ र १८ वर्षमुनिका किशोरीहरूमा त आत्महत्याको दर उमेर मिल्दा युवकहरूभन्दा बढी नै देखिन्छ । प्रजनन उमेरका महिलाहरूमा त कहिलेकाहीँ गर्भावस्थासम्बन्धी जोखिमभन्दा पनि आत्महत्या नै मृत्युको मुख्य कारण देखिएको छ ।
बढी प्रभावित उमेर समूह भनेकै युवा हो । आत्महत्याको प्रयास गर्नेमध्ये दुई तिहाइभन्दा बढी ३५ वर्षमुनिकै छन् । वैदेशिक रोजगारीमा गएकाहरू पनि एउटा लुकेको जोखिम समूह हो । नेपालको झन्डै १४ प्रतिशत जनसंख्या खाडी मुलुक र मलेसियातिर काम गर्न गएको छ । घर टाढा हुँदा, एक्लोपना, कामको ठाउँमा शोषण, ऋणको भार र घरपरिवारको चिन्ताजस्ता कुराले गर्दा धेरैले मानसिक संकट भोग्छन् तर यो कुरा उनीहरूको लास आएपछि मात्र सुनिन्छ ।
प्राकृतिक प्रकोपले पनि गहिरो असर छोड्छ । वि.सं. २०७२ सालको भूकम्पपछि सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा आत्महत्याको विचार आउने दर काठमाडौंको भन्दा तीन गुणा बढी थियो । कोभिड लकडाउनको बेला पनि उस्तै प्रवृत्ति देखियो ।
कसरी र किन ?
अहिले नेपालमा आत्महत्याको सबैभन्दा बढी प्रयोग हुने तरिका झुण्डिनु हो, जसले विषादी सेवनलाई उछिनिसकेको छ। तर, गाउँघरतिर, जहाँ खेतीपातीको काम हुन्छ, विषादी सजिलै भेटिने भएकाले त्यहाँ अझै विषादीबाटै धेरै मृत्यु हुन्छ । यो कुरा किन महत्त्वपूर्ण छ भने आत्महत्याको माध्यममा पहुँच रोक्नु भनेको हामीले प्रत्यक्ष नियन्त्रण गर्न सक्ने थोरै कुराहरूमध्ये एक होस् विषादी लुकाएर राख्नु, उच्च जोखिमका ठाउँमा पहुँच सीमित गर्नु, औषधि सुरक्षित ठाउँमा राख्नु । यस्ता सामान्य कुराले पनि मान्छेको मनभित्रको पीडा नमेटिकनै ज्यान बचाउन सक्छ ।
तथ्यांकको पछाडि उस्तै—उस्तै कुराहरू बारम्बार देखिन्छन् । डिप्रेसन, रक्सीको लत, घरपरिवारको झगडा, आर्थिक असफलता र विशेषगरी महिलाहरूमा दुर्व्यवहार र समाजको लाञ्छना । परम्परागत मान्यताले पनि यसलाई हेर्ने दृष्टिकोण बदलिदिन्छ । कतिपयले आत्महत्यालाई मानसिक स्वास्थ्य समस्याभन्दा बढी भाग्य, बेइज्जती वा अकाल मृत्युको रूपमा बुझ्छन्, जसले गर्दा परिवारले समयमै मद्दत खोज्न वा त्यो घटनालाई खुलेर स्वीकार गर्न ढिलो गर्छन् ।
देखिने, सार्वजनिक ठाउँमा हुने पीडा
आगो लगाएर ज्यान गुमाउने घटना नेपालमा पछिल्ला वर्षहरूमा पटक—पटक देखिएको छ । प्रायः सरकारी कार्यालयको अगाडि, संसद्को नजिक वा प्रदर्शनस्थलमा । यो माथि उल्लेख गरिएका शान्त, एकान्तमा हुने मृत्युभन्दा फरक देखिन्छ तर भित्री कुरा प्रायः उस्तै हुन्छः लामो समयदेखि थुप्रिएको निराशा बेरोजगारी, सरकारी झन्झट, ऋण, वैदेशिक रोजगारीको बाटो बन्द हुनु, कसैले पनि नसुन्ने भावना र त्यसपछि कुनै एउटा तत्कालीन घटनाले सीमा नाघिदिन्छ । यो कदम सार्वजनिक र फर्किन नसकिने खालको हुन्छ र प्रायः यो नसुनिएको, वेवास्ता गरिएको राज्यसामु आफ्नो पीडा सुनाउने अन्तिम प्रयास पनि हुन्छ ।
यो कुरा नकारेर वा बिर्सेर हुँदैन् तर विस्तारमा डुबेर पनि हुँदैन्। किनभने यो यति देखिने खालको घटना हो कि यसले मिडियामा सजिलै धेरै चर्चा पाउँछ र त्यो चर्चाले नै पहिल्यै संकटमा रहेका अरू मान्छेलाई उस्तै बाटो देखाउन सक्छ भन्ने कुरा प्रमाणले पुष्टि गरिसकेको छ । जिम्मेवार पत्रकारिताले तरिका र प्रक्रिया विस्तारमा नभनी सन्दर्भ र सहयोगमा नै ध्यान दिनुपर्ने कारण यही हो ।
सञ्चारमाध्यमले आत्महत्या कसरी रिपोर्ट गर्नेः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मार्गदर्शन
मिडियाले आत्महत्याको समाचार कसरी लेख्छ भन्ने कुराले साँच्चै मानिसको ज्यान जोगाउन वा जोखिममा पार्न सक्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पत्रकार र सम्पादकहरूका लागि केही स्पष्ट सुझाव दिएको छ ।
● तरिका र प्रक्रिया विस्तारमा नलेख्नुहोस् : कुन विषादी, कति डोज, कुन ठाउँबाट भन्नेजस्ता कुरा सिकाउने खालका बन्न सक्छन् ।
● हेडलाइनमा ‘आत्महत्या’ शब्द वा तरिका सनसनीपूर्ण ढंगले नराख्नुहोस्, र समाचारलाई प्रमुख स्थानमा नराख्नुहोस् ।
● मृतकको फोटो, सुइसाइड नोट वा घटनास्थलको स्पष्ट तस्बिर नछाप्नुहोस् ।
● आत्महत्यालाई समस्याको ‘समाधान’ जस्तो देखिने गरी नलेख्नुहोस् । जस्तैः ऋणबाट मुक्ति पाउन ‘आत्महत्या’जस्ता वाक्यांश ।
● एउटै मात्र कारण (जस्तै सम्बन्ध चुँडियो) मा सिमित नराखी, पछाडि लामो समयदेखिको मानसिक संघर्ष पनि हुन सक्छ भन्ने सन्दर्भ समावेस गर्नुहोस्।
● चर्चित वा सार्वजनिक व्यक्तित्वको मृत्युमा विशेष सावधानी अपनाउनुहोस् । यस्ता घटनाले ‘नक्कल गर्ने’ प्रभाव बढी पार्छ ।
● मृतकको परिवारसँग कुराकानी गर्दा संवेदनशील हुनुहोस्, र घटनाको तुरुन्तै भावनात्मक क्षणमा अन्तर्वार्ता नलिनुहोस् ।
● हरेक समाचारमा सहयोग लिन सकिने ठाउँ (जस्तै राष्ट्रिय हेल्पलाइन) उल्लेख गर्नुहोस् ।
● आत्महत्या सम्बन्धी समाचारमा मानसिक स्वास्थ्य विशेषज्ञको धारणा समावेश गर्नुहोस् । यसले सही जानकारी, भ्रम निवारण र समयमै सहयोग खोज्ने सन्देश प्रवाह गर्न मद्दत गर्छ ।
● आत्महत्या सम्बन्धी समाचार तयार वा सम्प्रेषण गर्दा सञ्चारकर्मीहरू स्वयं पनि मानसिक रूपमा प्रभावित हुन सक्छन् भन्ने कुरा स्वीकार गर्नुहोस् ।
यी साना देखिने नियमले ठूलो फरक पार्छन् । अनुसन्धानले नै देखाइसकेको छ कि जिम्मेवार रिपोर्टिङले आत्महत्या दर घटाउन साँच्चै मद्दत गर्छ ।
एकपटक प्रयास गरिसकेपछि पनि जोखिम उस्तै किन रहन्छ ?
डिप्रेसन, लत वा अन्य मानसिक रोगको उपचारपछि पनि केही व्यक्तिमा आत्महत्याको सोच वा जोखिम रहिरहन सक्छ। यही कारणले DSM-5-TR ले ‘सुसाइडल बिहेभियर डिसअर्डर’लाई थप अध्ययन आवश्यक पर्ने अवधारणाका रूपमा समावेस गरेको छ। यसको अर्थ आत्महत्याको जोखिमलाई केवल डिप्रेसन वा अन्य मानसिक रोगको एउटा लक्षण मात्र मानेर पुग्दैन् । यस्तो अवस्थामा मानसिक रोगको उपचारसँगै आत्महत्याको जोखिमको नियमित मूल्याङ्कन, सुरक्षा योजना र निरन्तर फलो—अप पनि उत्तिकै आवश्यक हुन्छ ।
व्यवहारमा भन्दा तपाईंको नजिकको कसैले पहिले आत्महत्याको प्रयास गरिसकेको छ भने अहिले ऊ ठीक देखिएपनि ‘मूल कारण’ समाधान भइसकेको जस्तो लागे पनि संकट टरेको छ भन्दैमा फलोअप हेरचाह, सुरक्षा योजना र बेला—बेलाको खबर लिने काम रोक्नु हुँदैन् ।
हृदयघात र आत्महत्याः दुवै आपत्तकालीन अवस्था हुन्
कसैलाई हृदयघात पर्यो भने के हुन्छ— एकछिन सोचौं । हामी तुरुन्तै एम्बुलेन्स बोलाउँछौं । ढिला नगरी अस्पताल पुर्याउँछौं । विशेषज्ञ उपचार दिलाउँछौं । कसैले पनि बिरामीलाई ‘आत्म संयम गर, बलियो बन’ भन्दैन्, न त उसलाई लाजमर्दो व्यवहार गरिन्छ । यो स्पष्ट चिकित्सकीय आपत्तकाल हो भन्ने कुरामा कसैको दुई मत हुँदैन् ।
आत्महत्याको गम्भीर विचार वा प्रयास पनि ठ्याक्कै उस्तै गम्भीर, उस्तै आपत्तकालीन चिकित्सकीय अवस्था हो । फरक यत्ति हो कि यो मुटुको सट्टा मस्तिष्क र मनको संकट हो । दुवैमा तत्काल हस्तक्षेप चाहिन्छ, दुवैमा विशेषज्ञ उपचार चाहिन्छ र दुवैमा ढिलाइले सिधैं ज्यान जोखिममा पर्छ ।
तर, व्यवहारमा हामी यी दुई अवस्थालाई एउटै तराजुले जोख्दैनौं । मुटु रोग भएको मान्छेलाई समाजले सहज रूपमा ‘बिरामी’ भन्छ, सहानुभूति दिन्छ । आत्महत्याको विचार आएको मान्छेलाई प्रायः ‘कमजोर’, ‘स्वार्थी’, वा लाजमर्दो नजरले हेरिन्छ । यही भेदभावकै कारण धेरैले समयमा मद्दत खोज्दैनन् र जब खोज्छन् तबसम्म धेरै ढिलो भइसकेको हुन्छ ।
जबसम्म हामीले मानसिक संकटलाई पनि हृदयघात जत्तिकै गम्भीरताका साथ हेर्न सक्दैनौं, तबसम्म समयमै धेरै ज्यान बचाउन सकिँदैन् ।
मानसिक स्वास्थ्य विशेषज्ञको भूमिका किन महत्त्वपूर्ण छ
● जोखिमको स्तर मूल्याङ्कनः अवस्था कति गम्भीर, कति तत्काल हो भनेर ।
● अन्तर्निहित कारणः डिप्रेसन हो, लत हो वा अरू कुनै मानसिक स्वास्थ्य समस्या हो ।
● औषधि र मनोचिकित्सा (काउन्सिलिङ/थेरापी) दुवैलाई मिलाएर उपचार योजना बनाउन ।
● संकटपछि पनि निरन्तर फलोअपः किनभने माथि नै भनिएझैं, एकपटक प्रयास गरिसकेपछि पनि जोखिम लामो समयसम्म रहन्छ ।
● परिवारलाई पनि मार्गदर्शनः घरमा कसरी सहयोग गर्ने, के गर्नुहुँदैन भन्ने बारे ।
नेपालमा मनोचिकित्सकसँग भेट्नु अझै पनि धेरैका लागि ‘पागलको डाक्टर’ भेट्नु जस्तो लाग्छ । यही भ्रम नै सबैभन्दा ठूलो बाधा हो । वास्तवमा मनोचिकित्सक भेट्नु भनेको ठ्याक्कै कार्डियोलोजिस्ट भेट्नु जत्तिकै सामान्य र आवश्यक कुरा हो । समयमै विशेषज्ञ उपचार पाएमा धेरै ज्यान बचाउन सकिन्छ ।
अहिले के—के बदलिँदैछ ?
नेपालले विस्तारै भएपनि केही काम अगाडि बढाइरहेको छ । मनोचिकित्सक, क्लिनिकल मनोवैज्ञानिक, मनोपरामर्शदाता तथा अन्य मानसिक स्वास्थ्यकर्मीहरूको जनशक्ति क्रमिक रूपमा बढ्दैं गएको छ ।
राष्ट्रिय हेल्पलाइन अहिले चौबिसै घण्टा सञ्चालनमा छ र फोन गर्न पैसा लाग्दैन । देशभरि ७७ वटै जिल्लामा ८० वटा ‘एकद्वार संकट व्यवस्थापन केन्द्र’ खुलेका छन्, जहाँ निःशुल्क मनोपरामर्श पाइन्छ ।
पत्रकारहरूलाई आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङको तालिम दिइँदैछ किनभने विस्तृत वा नाटकीय ढंगले समाचार लेख्दा त्यसले अरूलाई पनि उस्तै बाटो देखाउन सक्छ ।
विद्यालयहरूमा पनि मानसिक स्वास्थ्य शिक्षा र नर्स कार्यक्रम विस्तारै समावेस हुँदैछ । यी सबै प्रयास अझै पर्याप्त छैनन्, नेपालसँग अझै पनि आत्महत्याको एकीकृत राष्ट्रिय तथ्यांक प्रणाली छैन र सरकारले तोकेको लक्ष्य (२०३० सम्ममा प्रति लाख ४.७ मा झार्ने) हालको प्रवृत्ति हेर्दा प्राप्त गर्न गाह्रो देखिन्छ । तर, दिशा भने सही छ ।
हामीले साँच्चै के गर्न सक्नुहुन्छ ?
फरक पार्न मानसिक स्वास्थ्यको विशेषज्ञ नै हुनुपर्दैन् ।
●सोझै सोध्नुहोस्, कसैलाई ‘तिमीलाई आत्महत्याको विचार आउँछ’ भनेर सोध्दा त्यो विचार मनमा नयाँ आइहाल्दैन् । बरु, मनभित्र पहिल्यैदेखि थुप्रिएको कुरा बाहिर निकाल्ने ढोका खुल्छ।
● पीडासँग तर्क नगर्नुहोस्, सुन्नुहोस् । ‘यो पाप हो, परिवारको त सोच’जस्ता उपदेश वा नैतिक कुराले प्रायः मान्छे झन् बन्द हुन्छ, खुल्दैन् ।
● जोखिमको माध्यम टाढा राख्नुहोस् । कसैको बारेमा साँच्चै चिन्ता लाग्छ भने विषादी, औषधि, डोरी, अग्लो ठाउँः यस्ता कुराको पहुँच सिमित गर्नुहोस् ।
● हेल्पलाइनको नम्बर सेभ गर्नुहोस् । लेखको अन्त्यमा उल्लेख गरिएको राष्ट्रिय हेल्पलाइनको नम्बर आफ्नो फोनमा राख्नुहोस्, अरूलाई पनि सुनाउनुहोस् । कल गर्दा एक पैसा पनि लाग्दैन् ।
● पछि पनि सम्पर्कमा रहिरहनुहोस् । संकट भोगेको केही दिनपछि वा अस्पतालबाट डिस्चार्ज भएको तुरुन्तै । यही समय सबैभन्दा जोखिमपूर्ण हुन्छ । एउटा फोन कल वा एक झलक भेटले नै धेरै ठूलो फरक पार्न सक्छ ।
नेपालमा आत्महत्या न त कानुनी समस्या हो, न कसैको नैतिक कमजोरी, न बाहिरबाट आयातित समस्या । यो त पहिचान गर्न सकिने जोखिम कारण र प्रभावकारी उपायहरू भएको सार्वजनिक स्वास्थ्य समस्या हो । आत्महत्याको सोच मनोचिकित्सकीय आकस्मिक अवस्था हो, व्यक्तिगत कमजोरी वा अपराध होइन् । समयमै पहिचान, खुला संवाद र मानसिक स्वास्थ्य विशेषज्ञको सहयोगले आत्महत्याको जोखिम घटाउन र जीवन बचाउन मद्दत गर्न सक्छ ।
यो विषय संवेदनशील छ। तपाईं वा तपाईंको नजिकको कसैलाई आत्महत्याको विचार आइरहेको छ भने नेपालको राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन ११६६ मा निःशुल्क सम्पर्क गर्न सकिन्छ।
(डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक प्राध्यापक तथा मनोचिकित्सा विभागका वरिष्ठ मनोचिकित्सक हुन् ।)