२०७८ असार ४, शुक्रबार
Health Aawaj logo

१ नम्बर बेड



डा. आयास लुइँटेल

स्थान : अस्पतालको इमर्जेन्सी
समय : अपराह्न ४ बजे
मौसम : अरु दिनभन्दा धुम्म

इमर्जेन्सीको ढोका छेवैमा १ नम्बर बेड छ । सेतो प्लेटमा रातो रंगले बडेमानको १ लेखेर बेडमाथिको भित्तामा टाँसिएको छ । १ नम्बर बेड स्पेसल बेड हो । यो बेडमा सुत्न आइपुग्ने प्रायजसो बिरामी होशमा हुँदैनन् । कसैको टाउकोले काम गर्न छाडेको हुन्छ । कसैको मुटुले । १ नम्बरमा सुत्ने कोहीकोहीको दुईटैले विश्राम लिएको हुन्छ । इमर्जेन्सी सरसफाइ गर्ने एउटी दिदीले १ नम्बर बेडलाई ‘अलच्छिना बेड’ भनेर नाम दिएकी छिन । अस्पताल अघिल्तिरको पसलमा पाइलट चुरोट मुठ्ठीमा बटारेर सर्को तान्न र १ नम्बर बेडको कहानी मानिसहरुलाई सुनाउन सफाइवाली दिदीलाई खुब मनपर्छ ।

खैर, अहिले तपाइँलाई इमर्जेन्सीतिरै फर्काउँछु । आज १ नम्बर बेडमा काठको मुढा जसरी लमतन्न परेर एकजना बलिष्ठ नव युवक पल्टेको छ । उसको छाती चलेको देखिन्न । धिमा गतिमा चलिरहेको मुटु बीच-बीचमा उत्ताउलो पल्टेर झट्का हानेको मोनिटर स्क्रीनमा प्रष्ट देख्न सकिन्छ । निभ्न लागेको दियोजस्तै एकछिनको धपक्क हो सायद । १ नम्बर बेडको पुछारतिर भावविह्वल मुद्रामा रोइकराइ गरीरहेकी युवककी धर्मपत्नी छिन् । उनको साइडमा कपाल सेताम्मे फुलेका र भाव शुन्य अनुहार बोकेका एक वृद्ध छ्न् । लाग्छ युवकका बुवा हुन् । उनको हातको चोरी औंला समातेर एउटी दुई चुल्ठे बाटेकी बालखे छोरी उभिएकी छे – जो बुझ्न सकिरहेकी छैन, आखिर ड्याडी किन त्यसरी ढलेको हो ? मामु किन त्यसरी डाँको छोडेर रोएकी हो ? इमरजेन्सी बाहिर भीड छ । भीडसँग मिसिएको रुवाबासी छ !

१ नम्बर बेडको यो आतशपूर्ण माहोलबीच – म छु र मेरो टीम छ । जसरी पनि त्यो बन्द हुनै आटेको मुटुलाई धडकाउनु छ । जसरी पनि सासलाई शरीरमा फर्काउनु छ । जसरी पनि अनन्त यात्रामा निक्लेको त्यो मान्छेलाई फिर्ता ल्याउनु छ ! कोही नशामा औसधि थप्दैछ्न – मुटु दौडाउने ! कोही व्यस्त छ्न – सास नलीमा सास भर्न अनि कोही व्यस्त छ्न मुटु थिच्न, मुटु बिउँताउन ! जहाँ गीभ-अप को कुनै गुन्जायस छैन ! जहाँ ‘भो छाड्दिम’ को कुनै विकल्प छैन । जहाँ हामी छौं र बस् त्यो बिरामी छ ! लाग्दैन कुनै मेडिटेशन सेसन चलेजस्तो ?

…..

हो त्यही मान्छे, एकमहिना पछि ओ.पी.डी. का गनगनले म वाक्क दिक्क भइरहेका बेला मेरा सामु आइपुग्छ । उही चम्किली दुई चुल्ठी बाटेकी छोरीसँग । हँसिलीका गाला माघका जाडाले राता-राता स्याउ जसरी फलेका छन ! साइडमा उनै डाँको छाडेर रुने पत्नी छिन् , जसको सिउँदोको सिन्दूर झन उज्यालो र चमकदार छ ! म र ती तीनजना बीच सम्बाद हुँदैन केहीबेर, सिर्फ आँखाहरु बोल्छ्न अनि साट्छ्न अगाध खुशी ! आह ! त्यो क्षण ! वाह ! त्यो पल !

…..
साथीहरु अक्सर मलाई प्रश्न गर्छन । यो डाक्टरको जुनीमा कति दु:ख छ है ? पढाई पनि कहिले नसकिने । फुर्सद पनि कहिले नपाइने । अर्थ सङ्कलन पनि खासै उम्दा छैन । नढाँटी भन् त – के अर्को जुनी पाइस् भने, अर्को चान्स पाइस् भने, डाक्टर नै बन्छस् ? साथीहरुको यो प्रश्नमा म खोइ के भनुम ? अब्जेक्टीभ उत्तर छैन यो सब्जेक्टीभ प्रश्नको मसँग ।

…..

जब-जब अस्पतालबाट अति थाकेर घर पुग्छु, जब-जब केही कुराले दुःखी हुन्छु, जब-जब फास्ट-लेनको जिन्दगीमा अलिक स्लो-पेशमा बढीरहेको मेरो डाक्टरी जिन्दगी सम्झेर थोडा हतास हुन्छु ; तब- तब मेरो बिहानीपखको गहिरो निन्द्रामा उनै हँसिली दुई चुल्ठी बाटेकी छोरीहरु आउँछन् । उनै चमकदार सिउँदो भएका महिलाहरु आउँछन् । उनीहरु मनमनै मलाई धन्यवाद दिन्छन् । म मनमनै उनीहरुको धन्यवाद लिन्छु । बिउँझदा खुसी हुन्छु । भित्तामा ठोकेको बांग्गो किलामा झुन्ड्याइरहेको मेरो सेतो एप्रोन र त्यसमाथि सिउरेको स्टेथेस्कोप हेर्छु । गहिरो सास लिन्छु । रेडी भएर जिन्दगीमा जिन्दगी थप्न पुनः अस्पतालतिर लाग्छु ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)