२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै

सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै


सुर्खेत –  स्वास्थ्य क्षेत्रमा रहेको चुनौतीका कारण जाजरकोट जिल्लाका नागरिकले पटक–पटक विभिन्न महामारीको सामना गर्नु परिरहेको छ । २०६६ सालमा फैलिएको झाडापखालाको महामारीले जाजरकोटका दुई सय बढी सर्वसाधारणले ज्यान गुमाए ।

२०७२ सालमा फैलिएको झाडापखालाका कारण जिल्लामा हजारौं सर्वसाधारण थलिए । त्यतिबेला झाडापखालाका कारण सबै भन्दा बढी एसएलसी परीक्षा दिइरहेका विद्यार्थीहरु बिरामी परेका थिए । जिल्लाको दशेमा रहेको जनप्रिय उच्च मावि परीक्षा केन्द्रमा एसएलसी दिँदै गरेका विद्यार्थीहरुमा देखिएको यो रोगको संक्रमण गाउँभरी फैलिएको थियो । पखालाका कारण विद्यार्थीहरु बिरामी भएपछि उनीहरुको परीक्षामा समेत असर पुग्नुका साथै एकैपटक दर्जनौं बिरामी भएपछि उपचारमा समेत कठिनाई उत्पन्न भएको थियो ।

२०७४ सालमा विभिन्न रोगको संक्रमणले जुनीचाँदे गाउँपालिकामा १३ जनाको मृत्यु भयो । २०७६ असारमा पनि पुनःदूषित पानीका कारण जिल्ला सदरमुकाम खलंगामा झाडापखाला फैलियो । यसको प्रमुख कारण पानीको मुख्य मुहान बुदबुदीमा कोलिर्फमको मात्रा अत्यधिक हुनु हो ।

यो उदाहरण मात्र हो, कर्णालीका विकट जिल्लाका सर्वसाधारण अशिक्षा, गरिबी र सरसफाइका कमीले विभिन्न रोगको सिकार बन्ने गरेका छन् । सामान्य सिटामोलसमेत नपाइने अवस्थाको जिल्ला अस्पताल जाजरकोटमा करिब ३० करोडको लागतमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माणसँगै अब सम्पूर्ण उपचार हुनेमा स्थानीयबासीले आशागरेका छन् ।

हालका वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले शुक्रबार ५० शैय्याको निर्माणधिन आधुनिक भवनको शिलान्यास गरेका छन । उनले १५ शैय्याबाट ५० शैय्याको अस्पताल स्तरोन्नती गर्दै उद्घाटन गरेका हुन् । भौतिक पूर्वाधारको अभावमा जिर्ण भवनमा सेवा दिंदै आएको जाजरकोट अस्पतालको आधुनिक भवन निर्माणको काम शुरु भएको हो । वि.सं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको छ ।

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा ४९ लाख रकममा स्वास्थ्य सेवा कार्यालय नजिकै अस्थायी भवन निर्माण गरी अहिले सेवा सुचारु गरिएको छ ।

सहरी विकास मन्त्रालय अन्तरगत संघीय आयोजना कार्यान्वयन इकाईले जिल्ला अस्पतालको भवनको निर्माण गर्न लागेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । २०७७ असार २६ गते सिनर्जी, ज्ञानज्वती, क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौँले भवन बनाउने ठेक्का लिएको हो ।

२०७९ पुस २५ गतेभित्र अस्पतालको भवन निर्माण कार्य पुरा गर्ने सम्झौता भएको कार्यालयले जनाएको छ । शुक्रवार स्वास्थ्य सेवा कार्यालय जाजरकोटको नयाँ भवनको शिलान्यास गर्दै मन्त्री बस्नेतले जिल्लामा रहेको उपलब्ध स्रोत साधनको सदुपयोग गरी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । जाजरकोट जिल्लामा धेरै स्रोत साधनका बावजुत नागरिकहरु सेवा नपाएको भन्दै सरोकारवाला निकायहरुले तत्काल भएको स्रोतसाधनको उपयोग गरी प्रवाह गर्न उनले सुझाब दिए ।

यसका साथै जिल्ला अस्पतालमा एम्वुलेन्स सेवा र दरवन्दीको विषयमा समेत पहल भईरहेको र यो आर्थिक वर्षभित्र पुरा हुने मन्त्री बस्नेतको भनाइ छ ।

यस्तै, जाजरकोटका ७ ओटा स्थानीय तहहरुमा १५ शैय्याको अस्पताल निर्माण गर्ने मन्त्री बस्नेतले बताए । शुक्रबार स्वास्थ्य सेवा कार्यक्रमको भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तत्काल स्वास्थ्य सेवा प्रवाह गर्ने बताए ।अस्पताल निमार्णसंगै जिल्लाका दुर्गम क्षेत्रका महिलाहरु अहिलेसम्म हेलिकप्टरको पर्खाइमा ज्यान जोगाउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाई छ । यो सगै जिल्लामा वर्षेनी विभिन्न रोगहरुले नागरिकहरुमा हुँदै आएको क्षती अन्त्य हुने उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ