२०८३ असोज १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यभोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग

भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग


काठमाडौं—शान्था बायोलोजिक्स प्रा.लि. (जीसीबीसी भ्याक्सिन प्रा.लि.) र ह्युमन लाइफ साइन्स प्रा.लि.को सहकार्यमा सरकारलाई झण्डै डेढ करोड रुपैयाँ बराबरको हैजाविरुद्धको खोप सहयोग गरिएको छ ।

बिहीबार ह्युमन लाइफ साइन्स प्रा.लि.का अध्यक्ष रामानन्द दासले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. वीरेन्द्रकुमार मण्डललाई २४ हजार ९६० डोज खोप हस्तान्तरण गरेका हुन्

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त खोप सरकारलाई उपलब्ध गराइएको अध्यक्ष दासले जानकारी दिए ।

‘विपद्को यस समयमा बाढी प्रभावित नागरिकको स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले हामीले सरकारलाई हैजाविरुद्धको खोप उपलब्ध गराएका हौं,’ अध्यक्ष दासले भने, ‘शान्था बायोलोजिक्ससँगको सहकार्यमा ह्युमन लाइफ साइन्सले यो सहयोग गरेको हो ।’

उक्त खोप शान्था बायोलोजिक्स प्रा.लि.(जीसीबीसी भ्याक्सिन प्रा.लि.)ले उत्पादन गरेको हो । ह्युमन लाइफ साइन्स प्रा.लि. नेपालमा विदेशी औषधि कम्पनीका उत्पादन आयात गर्ने कम्पनी हो ।

अध्यक्ष दासका अनुसार, नेपाल औषधि आयातकर्ता संघ (मियान)ले यसअघि सरकारलाई सहयोग गर्ने भनेको औषधिअन्तर्गतकै खोप उपलब्ध गराइएको हो । ‘मियानले सरकारलाई उपलब्ध गराउने सहयोगअन्तर्गतकै हैजाविरुद्धको सानकोल भ्याक्सिन हामीले उपलब्ध गराएका हौं ।’

बाढी प्रभावित क्षेत्रमा हैजालगायत पानीजन्य रोगको जोखिम बढ्न सक्ने अवस्थामा गरिएको यो सहयोगले प्रभावित नागरिकको स्वास्थ्य सुरक्षामा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ