२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने

प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने


काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले ‘हेड एक एण्ड भर्टाइगो’ (Headache and Vertigo) सञ्चालनमा ल्याउने भएको छ । क्लिनिक प्रबन्ध निर्देशक डा. विश्वनाथ कोइरालाकाअनुसार १५ साउनबाट क्लिनिक सञ्चालनमा आउनेछ ।

‘सबै कुराको तयारी भइसकेको छ । १५ साउनबाट सुरु गर्ने हो,’ वरिष्ठ फिजिसियन डा. कोइरालाले हेल्थआवाजसँग भने । उनकाअनुसार हेडएक एण्ड भर्टाइगो सम्बन्धी सम्पूर्ण सेवाहरु एकै छानामुनिबाट दिने उद्देश्यका साथ क्लिनिक सञ्चालनमा ल्याउन लागिएको हो ।

‘टाउको दुख्ने र रिंगटा लाग्ने समस्या धेरैलाई हुन्छ । तर, यो हुने बित्तिकै कसलाई देखाउन जाने भन्ने कुरामा अस्पष्ट छ । कोही नाक, कान घाँटीको डाक्टर कहाँ, कोही आँखाको डाक्टर कहाँ, कोही न्यूरो सर्जन कहाँ जाने गरेको पाइन्छ,’ उनले भने, ‘यो सबैलाई संगठित रुपमा एकै छानामुनिबाट सेवा दिने हिसाबले हामीले हेडएक एण्ड भर्टाइगो क्लिनिक संचालन गर्न लागेका हौं ।’

डा. कोइरालाकाअनुसार हेडएक एण्ड भर्टाइगोको समस्या टिमवर्कबाट हल गर्नुपर्ने हो । ‘तर, हाम्रो देशमा यो विस्तारै विकसित हुँदैछ । यो एउटा टिमले हेर्नुपर्ने कुरा हो,’ उनले थपे, ‘विदेशतिर त्यस्तो प्राक्टिस छ । हेडएक एण्ड भर्टिगोसँगै आउने भएकोले हामीले एकै ठाउँबाट सेवा दिदैछौं ।’ उनकाअनुसार यसका लागि क्लिनिकले सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फ्लोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर दिने भन्ने योजनासहितको प्याकेज बनाइरहेको छ ।

हेडएक एण्ड भर्टिगो समस्या र क्लिनिक डा. कोइरालाकै शब्दमा

टाउको दुखाइ विभिन्न कारणले हुनसक्छ ।  प्राइमेरी र सेकेण्डरी दुई खालको दुखाइ हुन्छन् । मुख्य समस्या भनेको माइग्रेनको हेडएक हो । अन्य स्ट्रेस, आँखाको कारण, ट्युमर र साइक्रयास्टिकका कारणले पनि टाउको दुख्छ ।

माइग्रेनको उपचार चाँडै गरेर मात्र ठिक हुँदैन् । माइग्रेनका बिरामीलाई समय दिएर यो कति समयसम्म दुख्छ, एकपट्टी दुख्छ कि दुवै साइड दुख्छ भन्नेजस्ता धेरै कुरालाई मध्यनजर गरी समय लगाएर उपचार गर्नुपर्छ । संसारमा अनुसन्धानमा आधारित उपचार सेवा हामीले दिने जमर्को गरेका छौं ।

एउटा ढाँचामा राखेर उपचार गर्न पाइयो र उनीहरुको फ्लोअप गराएर कसलाई कुन औषधीले काम ग–यो गरेन । किन गरेन भन्ने कुरा राम्ररी हेर्न पाइयोस् भन्ने हिसाबले व्यवस्था मिलाएका छौं । यसलाई एमआरआई, सिटिस्क्यान गर्न आवश्यक पर्दैन् । साधारण बिरामीको पृष्ठभूमी र साधारण चेक जाँचबाट पत्ता लगाउन सकिन्छ । उपयुक्त औषधी, खर्च कम र समय दिएर हेर्न सकियोस् भन्ने हाम्रो उद्देश्य हो । करिब ३ महिना भित्रमा बिरामीले फ्लोअप गर्दा के कस्तो नतिजा आउँछ त्यो अनुसार कति फाइदा हुन्छ भन्ने निर्धारण गरेर हेर्ने भन्ने छ ।

भर्टाइगो नाक, कान र घाँटीका डाक्टरले हेर्नुपर्ने हुन्छ । यसमा पनि प्राइमरी र सेकेण्डरी हुन्छ । प्राइमरीमा बेनाइन पेरोक्सिज्मल पोजिशनल भर्टिगो (बीपीपोभी) पर्छ ।  भर्टाइगो माइग्रेनमा पनि हुनसक्छ । र, अन्य ट्युमर र संक्रमणकोजस्ता कारणबाट हुने भर्टाइगो सेकेण्डरी हुन् ।

हेडएक एण्ड भर्टाइगोका उपचारका लागि सामान्य ज्ञान, काउन्सिलिङ, विशिष्ट सेवा, उपचार, फलोअप, हिस्ट्री चेकजाँचहरु सबै कसले कति खेर दिने भन्ने योजनासहितको प्याकेज बनाउदैछौँ । यी गरेमा उपचार सेवा छुट्दैन । संसारमा चलेको उपचार पनि पाउने र अनावश्यक जाँच गर्नुबाट बच्ने र खर्च कम हुने गरी हामी सेवा दिदैछौँ । टाउको दुख्ने बितिकै एमआरआई गर्ने चलन छ । एमआरआईबाट मात्रै सबैकुरा देखिन्छ भन्ने हुँदैन् ।

माइग्रेनमा पनि एउटा क्रोनिक माइग्रेन भन्ने हुन्छ । यसका बिरामीको लागि धेरै समय दिनुपर्ने हुन्छ । उपयुक्त उपचारको वातावरण र बिरामीले कुन औषधीले कति समय लगाएर उपचारपछि ठिक भए भन्ने सबै कुराको अनुसन्धान पनि होस् भन्ने हिसाबले व्यवस्थित रुपले क्लिनिक संचालन गर्न लागेका छौं ।

के माइग्रेन निर्मुल हुन्छ ?

माइग्रेन निर्मुल त हुन सक्दैन् । यो एउटा औषधी खाएर ठिक हुने कुरा होइन् । तर, धेरैजसो बिरामीको उपचार गराएर माइग्रेन ट्रिगर गर्ने तत्व पहिचान गरी हटाउन सक्यो भने बिरामी आफै ठिक हुन्छ । कसैलाई खानपिन, प्रदूषण, तनाव, महिनावारी धेरै खालका ट्रिगरका कारण हुन्छन् ।

यो एउटा रोग हो र फाल्न मिल्छ भन्ने हुँदैन् । जीवनशैली, खानपिन, व्यायायमहरु गरेर, कसैलाई लामो समयसम्म औषधी दिएर जीवन सहज पार्न सकिन्छ ।

विनाकारण अप्रत्यक्ष टाउको दुख्ने माइग्रेन हो । यसको यही प्राइमरी कारण हो भनेर पत्ता लाग्दैन् । तर, यसको उपचार भने हुन्छ । अरु बाँकी टाउको दुख्ने समस्या सेकेण्डरी ब्रेन ट्युमर, ट्रमाको केस, संक्रमण, टाउकोमा पिप जमेकोजस्ता कारणले हुन्छ । जसको मुख्य कारण पत्ता लाग्छ र त्यहीअनुसार उपचार गर्नुपर्छ ।

उपचार सुरुमा आएर हिस्ट्री सोधेर, के–के परीक्षण गराउने, त्यसको नतिजाको आधारमा फिजिसियनलाई देखाएपछि कसरी जाने भन्ने तय हुन्छ । यसका लागि सबै विधाको जनशक्ति आवश्यक पर्छ । ल्याब, अल्ट्रासाउण्ड, एक्सरे हेर्नेदेखि फिजिसियन, न्युरो सर्जन र नाक, कान घाँटी विशेषज्ञ, आँखा रोग विशेषज्ञ हामीसँग उपलब्ध छन् ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ