२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडेढ महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

डेढ महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला


जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी (४३ झण्डै दिन) डेढ महिनापछि खुलेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा. डा.राजेन्द्रराज वाग्लेले तेस्रो डीन मुनिराज क्षेत्रीलाई नियुक्त गरेको विरोध तथा विभिन्न माग गर्दै प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले असोज २८ गतेदेखि तालाबन्दी गरेका थिए ।

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठक विना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेश्रो डीन नियुक्ति गरी संस्थालाई आर्थिक भार पारेको भन्दै समाजले डीन नियुक्ति खारेजी गर्नुपर्ने माग राख्दै तालावन्दी गरेको थियो ।

उपकुलपति प्राडा. वाग्लेले सम्पर्क कार्यालय काठमाडौंबाट प्रतिनिधि मण्डल खटाएर पटक-पटक वार्ता गर्न निर्देशन दिएपनि तालाबन्दी खुल्न सकेको थिएन । पछि आफै केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नमान्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो ।

अन्त्यमा, आएर प्रतिष्ठानको कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोली माग गरिएको तीनवटा मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रामाकान्त उपाध्यायले जानकारी दिए ।

सहमतिमा नियुक्त भएका डीन र अन्य डीनहरुको सम्बन्धमा ३ सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलले पेस गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेस गर्ने सहमति भएको छ । त्यस्तै प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई १ जना डीन प्रमुख रहने र अन्य संकायका डीन सहायक डीन रहने सहमति भएपछि ताला खोलिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

त्यस्तै, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र उक्त सम्पर्क कार्यालयमा कार्यरत कर्मचारीहरुलाई १ हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला सार्ने सहमति भएको र प्रतिष्ठानका सम्पूर्ण पदाधिकारीहरू विशेष कामबाहेक पुरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेर काम गर्ने सहमति भएको छ । गत २६ असोजमा प्रतिष्ठानको सम्पर्क कार्यालय ललितपुरबाट उपकुलपति राजेन्द्रराज वाग्लेले स्वास्थ्य संकायको डीनमा प्रा.डा मुनिराज क्षेत्रीलाई नियुक्त गरेका थिए ।

प्रतिष्ठानमा कार्यरत कुनैपनि कर्मचारी बाहिर काम गर्न नपाउने र दोहोरो सुविधा भोग गर्न नपाउने ऐनमा उल्लेख भए अनुसार गर्नुपर्ने भन्दै कर्मचारीहरू आन्दोलन गरेका थिए । यसैगरी, ताला खुलेपछि प्रतिष्ठानका उपकुलपति वाग्लेको कार्यकक्षमा पत्रकारले सूचना र प्रतिक्रिया लिन खोज्दा कार्यकक्षमै नपसेर बाहिरिएको थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ