२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशओडारमा बस्दै आएकी मानसिक रोगकी बिरामी एक वृद्धासहित चारजनाको उद्धार

ओडारमा बस्दै आएकी मानसिक रोगकी बिरामी एक वृद्धासहित चारजनाको उद्धार


जुम्ला –  नौ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिसे वृद्धा सहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यन्वयन स्वरुप भइरहेको अभियान अन्तरर्गत  बुधबार प्रशासनको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा उक्त वृद्धा सहित चार जना  बेवारिसे सडक मानवलाई उद्धार गरिएको हो ।

चन्दननाथ नगरपालिका – ३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने कमला कुमाई नाम गरेकी वृद्दा , चन्दननाथ नगरपालिका–९ निवासी पुनि तिरुवा, तातोपानी गाउँपालिका – ५ निवासी बाहुनी लाटी र सिंजा गाउँपालिका निवासी घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

उनले भने, ‘पुस १६ गते सडक मानवको तथ्यांक संकलन गरी सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भएअनुसार पहिलो चरणमा चार जनालाई उद्धार गरिएको हो ।’

उद्धार गरी पठाएका चारजना महिलामध्ये एकजना स्पष्ट बोल्न नसक्ने र शारीरिक अपाङ्ग भएपनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारीरिक तथा मानसिक रुपमा अपाङ्ग भएका बेवारिसे सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेत स्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ भापाले जानकारी दिए ।

यद्दपी बेवारिसे वृद्धाले भने ओडारबाट अन्त कतै नजाने बताउँदै आएकी छन् । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताए पनि बढ्दै गएको चिसोले  वृद्धा महिलाको उद्धारको विकल्प थिएन् । तर प्रशासनले वृद्धालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्धार भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।

चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । उनका अनुसार मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुत पनि सुर्खेत पुर्‍याइएको छ।

राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्धारमा प्रहरी प्रशासन, नगरपालिका अटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए । उनका अनुसार चार जना सडक मानवलाई सुर्खेतसम्म लिने सबै खर्च नगरपालिकाले हेरेको छ ।

सुर्खेतमा बसोबासको व्यस्थापनको  लागि प्रशासनले समन्वय गरेको छ । अन्य सडक मानवभन्दा ९ महिनादेखि ओडारमा बस्दै आएकी वृद्धालाई उद्धार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीय जानकी रावलले बताइन । उनले भनिन्, ‘घरमा बस्न नमान्ने, सधै वनमा डुल्ने, कठ्यांग्रिदो चिसोमा ओडारमै बस्ने, चिसो बढेकाले केहि हुने हो की भनेर चिन्तीत थियौं । तर ९ महिनापछि उद्धार हुँदा ढुक्क भयौं।’

पहिला ओडार छोडेर अन्त कतै नजाने बताइरहेकी कमला कुमाईले आफुलाई सुरक्षित स्थान पठाउन लागिएको भन्दै निबै खुसी भएकी थिइन् । उनीसँगै अन्य तीनजना सडक मानव पनि आफ्ना उद्धार भई सुरक्षित ठाउँमा लिन लागेको भन्दै खुसी भएका छन् । कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेकोले गर्दा सडकमा बेवारिसे देखिने सबैलाई उद्धार र राहतमा प्रहरी प्रशासन नियमित जुटिरहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ