२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको हाँडसिजामा बन्नेभयो १५ शैय्याको अस्पताल

जुम्लाको हाँडसिजामा बन्नेभयो १५ शैय्याको अस्पताल


जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । अस्पताल निर्माण गर्नका लागि गाउँपालिका अध्यक्ष नरविर रावतले शिलान्यास गरेका हुन् ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा कर्णाली प्रदेशका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैय्याको अस्पताल निर्माण कार्यसँगै यहाँको हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो ।

अस्पताल निर्माण गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट रु १८ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल भएपनि यहाँ सहशुल्क सहित नागरिक उपचार गर्ने गरेका छन् । तर स्थानीय बासीले निःशुल्क उपचार गर्न पाउने सरकारी अस्पताल भने छैन ।

अस्पताल बनाउन २२ जना स्थानीयबासी ३ हजार ५ सय वर्गमिटर जग्गा निशुल्क उपलव्ध गराएका छन् । नि:शुल्क जग्गा उपलव्ध गराउने स्थानीय नागरिकलाई गाउँपालिकाले सम्मान गर्नुका साथै कदरपत्र पनि उपलब्ध गराएको छ ।
नागरिकले निशुल्क उपचार गर्न पाउने जुम्लाकै ठुलो १५ शैयाको सरकारी अस्पताल कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा बन्ने भएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताए ।

उनले भने, ‘यहाँ  अब अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि नागरिकले सहज रुपमा नि”शुल्क उपचार पाउने छन् ।’ यस्तै, यसअघि तिला गाउँपालिका–३ कुडारीमा १० शैयाको अस्पताल बनाउनका लागि शिलान्यास भईसकेकोे छ । अस्पताल निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत जुम्ला पुगेर शिलान्यास गरेका हुन् ।

स्वास्थ्य चौकीमा ल्याव सञ्चालन

कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा ल्याव सञ्चालन गरिएको छ । यहाँका दुर्गम ठाउँमा स्वास्थ्य परीक्षण ल्याव सञ्चालन नहुदा दुईदिन पैदल यात्रा गरी सदरमुकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएर परीक्षण गर्नुपर्ने बाध्यता थियो ।  तर ग्रामीण भेगका स्वास्थ्य चौकीका ल्याव सञ्चालनमा आएपछि दिसा, पिसाव, खकार लगायत अन्य परीक्षण गर्न सहज भएको इन्चार्ज विरेन्द्रप्रसाद उपाध्यायले बताए ।

यहाँका नागरिक विरामी हुदा स्थानीय स्तरमै ल्याव परीक्षण गरी आवश्यकता अनुसार औषधि उपचार गर्न सकिने अवस्था भएको उनको भनाई छ ।

पाँच बेडको कोभिड अस्पताल

जुम्लाको कनकासुन्दरी गाउँपालिकाको हाँडसिजामा कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको छ । बुधबार औपचारिक रूपमा उद्घाटन गर्दै कनकासुन्दरी गाउँपालिकाले ५ शैय्याको भिन्नै कोभिड अस्थायी अस्पताल संचालनमा ल्याएको हो ।

कोरोना संक्रमणका बिरामीको पालिकामै प्राथमिक उपचारका लागि कोभिड अस्पताल संचालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदर आचार्यले बताए ।

उनका अनुसार कोरोना भाइरसका बिरामी भइहालेमा भिन्नै उपचार गर्ने उद्देश्यका साथ अस्पताल सुरु गरिएको हो । जोखिम आइहालेमा स्वास्थ्यकर्मीहरूले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन आर्थिक, भौतिक सहयोगमा कुनै कुरामा कमी नगर्ने उनले प्रतिबद्धता जनाए ।

कोभिड अस्पताल व्यवस्थापनका लागि संघीय सरकारले १० लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नैनसिंह बुढाले भने, ‘कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, २ जना स्टाफ नर्स र कार्यालय सहयोगीको दरबन्दी छ । तर, अहिलेसम्म मेडिकल अफिसरको दरखास्त परेको छैन । अरू स्टाफ भर्ना गरी काम सुचारु गरिएको छ ।’

प्रशासनको तथ्यांकअनुसार जुम्लामा ११ हजार ६३९ जनालाई कोरोना परीक्षण गरिएकामा ४६३ जना संक्रमित भएका छन् । तीमध्ये ४५१ जना निको भएर घर फर्किएका छन् भने १२ जना अझै सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ