२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीमा सञ्चालनमा आयो प्रसुती गृह

पातारासीमा सञ्चालनमा आयो प्रसुती गृह


जुम्ला – जुम्लाको पातारासी गाउँपालिकाको उर्थुचौतारको पटमारा स्वास्थ्य चौकीमा प्रसुती गृह सञ्चालनमा आएको छ । स्थानीय सरकार सञ्चालन भएयता दुर्गमका गाउँ-गाउँमा पूर्वाधार सहितको गुणस्तरीय स्वास्थ्यको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ प्रसृति गृह सञ्चालनमा ल्याएको हो ।

ग्रामीण भेगका स्वास्थ्य संस्था स्तरवृद्धि हुँदै गएका छन् । ल्याव सेवा, प्रसुती गृह सञ्चालन गरिरहेका छन् । खकार, रगत, दिशा पिसाब लगायत २०-२१ प्रकारका समस्याहरूको परीक्षण गाउँकै स्वास्थ्य चौकीमा हुने भएपछि स्थानीय खुसी भएको स्वास्थ्य चौकी इन्चार्ज कृष्ण बुढाले बताए ।

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढा र पालिका अध्यक्ष लछिमन बोहोराले आइतबारदेखि सञ्चालनमा आउने गरी ल्याब सेवा र बर्थिङ सेन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

जिसस काव प्रमुख कार्मा बुढाले दुर्गमका नागरिकको समस्या बुझेर गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा सुचारु गरेर नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित भएको बताए ।

उनले भने, ‘गाउँकै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा सदरमुकाम जान असहज थियो । जसकारण अधिकांश महिला घरमै सुत्केरी हुने गर्दर्थे । सदरमुकाम गए पनि महँगो खर्च लाग्थ्यो । तर अब गाउँमै ल्याब, बर्थिङसेन्टर सञ्चालन भएपछि नागरिकले राहत महसुस गर्ने छन् ।’

गाउँमै बर्थिङ सेन्टर हुँदा आमा तथा बच्चाको सुरक्षासँगै शिशु मृत्युदर घटाउने सरकारको लक्ष्य पनि सफल हुने उनको भनाइ छ । पातारासीका प्राथमिकता क्षेत्र भनेकै स्वास्थ्य, पर्यटन कृषि र जलविद्युत क्षेत्र हो । अध्यक्ष लछिमन बोहोराले भने, ‘जलविद्युतमा जिल्लाकै पहिलो स्थानमा छौँ । भौगोलिक विकटताले गर्दा स्वास्थ्यको सम्मान पहुँच थिएन । गर्भवती महिलाका पीडा बुझ्दै । अन्य नागरिकका पिर मर्का मनन गर्दै ल्याब सेवा र बर्थिङसेन्ट एकैसाथ सञ्चालनमा ल्याएका छौं ।’

पूर्वाधार, जनशक्ति तथा उपकरण सहितको ल्याब सेवा र बर्थिङ सेवा सञ्चालनमा आएकोले अब पातारासीका नागरिकलाई सदरमुकाम भौँतारिने अवस्थाको अन्त्य भएको अध्यक्ष बोहोराको बताए ।

पालिकाभरिका करिब ३४ सय घरधुरीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुराउने गरी काम भइरहेको पातारासी गाउँपालिकाका स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । उनका अनुसार पटमारा स्वास्थ्य चौकीबाट ६ र ७ नम्बर वडाका सबै नागरिकले सेवा लिने छन् ।

प्रसुतीगृह सञ्चालन हुँदा घरमै सुत्केरी गराउने, अस्पताल नजाने, आमा तथा बच्चालाई जोखिम हुने लगायतका सबै समस्या अन्त्य हुने विश्वास गरिएको बुढ्थापाले उल्लेख गरे ।

हालसम्म पातारासी गाउँपालिकाका छुमचौर, डिल्लीचौर र पटमारा गरी तीनवटा स्वास्थ्य चौकीमा प्रसुती गृह सञ्चालन भएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ