२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसशस्त्र द्वन्द्वका घाइतेको उपचार कर्णाली प्रतिष्ठानमा हुने

सशस्त्र द्वन्द्वका घाइतेको उपचार कर्णाली प्रतिष्ठानमा हुने


जुम्ला – १० वर्षे सशस्त्र द्वन्दका क्रममा घाइते भएका व्यक्तिहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार हुने भएको छ । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएर घाइतेको उपचार हुने भएको हो ।

कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र प्रतिष्ठानका डीन प्रा.डा. मुनिराज क्षेत्रीको रोहवरमा सोमबार कानून मन्त्रालयका सचिव शोभाकान्त पौडेल र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाइले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरित समझदारी पत्र मन्त्रालय र प्रतिष्ठानका प्रतिनिधिहरुले एक आपसमा आदान–प्रदान गरेका छन् ।

त्यस्तै, कानूनमन्त्री भण्डारीकै रोहवरमा मन्त्रालयका उपसचिव बीरेन्द्र केसी र कर्णाली प्रदेश अस्पताल सुर्खेतका मेडिकल अधिकृत बिनोद बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । मन्त्रालय र अस्पतालका प्रतिनिधिहरुले हस्ताक्षरित समझदारी पत्र आदान–प्रदान गरेका छन् ।

जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका क्रममा घाइते तथा अपांग भई उपचारको अभावमा कष्टकर जीवनयापन गर्न बाध्य घाईते तथा अपांगता भएका नागरिकहरुको उपाचारार्थ देशका चार प्रतिष्ठान र एउटा प्रदेशस्तरको अस्पताललाई प्रति अस्पताल १० लाखका दरले रकम उपलब्ध गर्ने समझदारी गरिएको कानूनमन्त्री भण्डारीले बताए ।

‘अहिले तत्काल घाइते योद्धाहरूको उपचार गर्न मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालसँग सम्झौता गरेको छ, ‘उनले भने, ‘एक हप्तामा पाटन स्वास्थ्य विज्ञान, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान, वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंसँग सम्झौता हुदैछ ।’ घाइतेहरुको उपचार होस् भनेर प्रतिष्ठान र एउटा अस्पतालका लागि ५० लाख बजेट छुट्याइएको र आवश्यकतामा थपिने समेत उनले बताए ।

मन्त्रालयका सचिव पौडेलले चालु आर्थिक बर्ष ०७७-०७८ को द्वन्द्वपीडित घाईते उपचार कार्यक्रममार्फत बजेट छुट्याईएको बताए । उनले अस्पताल वा प्रतिष्ठानको उपचारको लागि आएका घाईते वा अपांगता भएका व्यक्तिलाई उपचार गर्दा लागेको औषधि उपचारको रकम बाहेक दैनिक एक हजारका दरले बढीमा सात दिनसम्मको लागि आवास तथा खाना खर्च वा उपचार अवधिभर सर्वसुलभ खाना र आवास उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिएको जनाए ।

त्यसैगरी, उपचारको क्रममा दैनिक कुरुवा बस्नु पर्ने भएकोमा बसेको कुरुवालाई दैनिक एक हजार ५०० रकम उपलब्ध गर्नेगरी प्रतिष्ठान तथा अस्पतालसँग समझदारी गरिएको सचिव पौडेलले बताए । सम्झौता भइसकेका उल्लेखित दुई स्वास्थ्य संस्थामा पुगेर उपचार गर्न सकिने बताइएको छ ।

मन्त्रालयले उपचारको अभावमा कष्टकर जीवनयापन गर्न बाध्य घाइते योद्धाहरूलाई जानकारी गराइदिएर कर्णाली प्रदेश सरकारको यो कार्यक्रमबाट लाभान्वित हुने वातावरण सिर्जना गर्न सम्बद्ध पक्षलाई अनुरोध गरेको छ भने संघीय राजधानीका वीर, पाटन र केन्द्रमा सम्झौता भए पश्चात् उपचारका लागि सुचित गरिने जनाइएको छ ।

उपचार, दुई तर्फी भाडा, खानाको लागि कार्यविधि अनुसारको रकम सम्बन्धित अस्पतालबाट उपलब्ध हुने तथा एकजना सहयोगीलाई समेत भाडा, खाना र बस्नको लागि कार्यबिधिमा तोकिएको रकम सम्बन्धित अस्पतालबाटै उपलब्ध हुने आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ