२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान समस्या

गाउँमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान समस्या


जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाका विभिन्न गाउँबस्तीमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा समस्या भएको छ । तातोपानी गाउँपालिकाको आठवटै वडा तथा गाउँबस्तीमा स्ट्रेचर नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा लैजान नै समस्या भएको हो ।

तातोपानी गाउँपालिका–२ डाँगीवाडाकी महिला स्वयम्सेविका चन्द्ररुपा नेपालीले भनिन्,‘अहिले गाउँमा स्ट्रेचर छैन । बिरामी तथा सुत्केरी व्यथा लागेकी महिलालाई काठको डोली, स्ट्रेचर जस्तो बनाएर पछ्यौरा बेरेर स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) लैजाने गरेका छौँ ।’

उनले गाउँमा स्ट्रेचर नभएको दुई वर्ष भएको बताउँदै गाउँपालिकामा माग गर्दा सुनुवाइ नभएको गुनासो गरिन् । तातोपानी गाउँपालिकामा हाँकु, लाम्रा, तातोपानी र ताम्ती स्वास्थ्य चौकी अन्तर्गत बर्थिङ सेन्टर सञ्चालनमा छन् ।

लामो समयसम्म गाउँमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य चौकीमा ल्याउन समस्या भोग्नु परेको हाँकु स्वास्थ्य चौकीका इञ्चार्ज रामबहादुर भण्डारीले बताए ।

‘हाँकु स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा एक वर्षमा ३७ जना गर्भवतीले प्रसूति सेवा लिएका छन्’,उनले भने,‘बर्थिङ सेन्टरबाट सुत्केरी आमालाई डिस्चार्ज गर्दा प्रसूति प्रोत्साहन भत्ता पनि उपलब्ध गराएर पठाउनु पर्ने हो । तर, सङ्घ र प्रदेश सरकारबाट रकम समयमै नआउने गरेकाले दुई-तीन महिनापछि प्रोत्साहन रकम उपलब्ध गराउनु पर्ने बाध्यता रहेको छ ।’

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाका स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाईका अनुसार गाउँमा स्टेचर नहुँदा बिरामीलाई स्वास्थ्य चौकी लैजान समस्या भएको हो । ‘यस्ता गुनासो गाउँपालिकामा आएपछि स्ट्रेचर खरिद गरेर स्टोरमा दाखिला गर्ने काम भइरहेकोले असार मसान्तभित्र गाउँबस्तीमा वितरण गर्ने छौँ ’,उनले भने,‘अहिले ३० वटा स्ट्रेचर खरिद गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ