२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा

कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवा थप, अनलाइनबाटै ओपिडी टिकट सेवा


सुर्खेत – कर्णाली प्रदेश अस्पतालमा विशेषज्ञ सेवामा पहुँच विस्तार गरिएको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएसँगै जटिल रोगका उपचार तथा शल्यक्रिया लगायतका सेवामा विस्तार गरिेको हो ।

यसका साथै अस्पतालमा अत्याधुनिक उपकरण, मेसिन र औजारहरु पनि भित्रिएका छन् । साथै, अस्पतालमा थप विशेषज्ञ चिकित्सकहरु उपलब्ध भएकासंगै वरामीको उपचारमा सहज भएको छ ।

अस्पतालमा स्थापनादेखि नै पहिलो पटक टाउकोको शल्यक्रिया सेवा सुरु गरिएको अस्पताल स्रोतले बताएको छ । जुन सेवा कर्णाली प्रदेशका अन्य कुनै पनि अस्पतालमा छैन । लामो समय संघीय राजधानी काठाण्डौँका विभिन्न अस्पतालहरुमा सेवा पु¥याएका न्यूरो सर्जन डाक्टर निलम कुमार मानव आएपछि पहिलो पटक न्यूरो सम्बन्धी शल्यक्रिया हुन थालेको हो ।

न्यूरो सर्जन डाक्टर निलम प्रदेश अस्पतालमा आएदेखि २५ वटा टाउको र दुईवटा ढाडको अप्रेसन गरिएको छ । कर्णालीमा टाउकोमा चोटपटक लागेका विरामी धेरै आउने गरेको डाक्टर निलमले बताए ।

अस्पतालले ओपिडी सेवाको समय पनि बढाएको छ । यसअघि विहान १० बजेदेखि ३ बजेसम्म दिने गरिएको ओपीडी बिरामी जाँच सेवा विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म बनाइएको छ । शुक्रबार भने ९ बजेदेखि २ बजेसम्म सेवा दिइने छ । नाम दर्ता सेवा विहान ८ बजेदेखि नै दिन सुरु गरिएको छ ।

यस्तै, अस्पतालमा स्वास्थ्य विमा गरिएका नागरिकलाई प्राथमिकताका साथ छ्ट्टै फाँटबाट सेवा दिने व्यवस्था मिलाइएको छ । जसले गर्दा सहजता भएको र सेवाग्राही पनि थपिएको अस्पतालका प्रवक्ता डा बिकास केसीले जानकारी दिए ।
प्रदेश अस्पतालले गत आर्थिक वर्ष २०७७-०७८ मा ५३ हजार ४ सय ५३ जनालाई ओपीडी र ८ हजार ९ सय ६३ जनालाई आकस्मिक सेवा दिएको छ ।

त्यही अवधिमा ४ हजार ९ सय ४९ जना महिलाहरुले अस्पतालबाट सुत्केरी सेवा लिएको अस्पतालका सूचना अधिकारी डाक्टर विकास केसीले जानकारी दिए । केसीकाअनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकहरु आएसंगै शल्यक्रिया हुने संख्या बढेको छ ।

गत आर्थिक बर्षमा अस्पतालबाट २ हजार ४ सय ५७ अप्रेसन भएको डा. केसीले बताए । अघिल्लो आर्थिक बर्षमा भने १ हजार ९ सय ५२ वटा सल्यक्रिया गरिएको थियो ।

अस्पतालमा अक्सिजनको सहज व्यवस्थापन

कुनैबेला यो अस्पतालमा विरामीले सहज रुपमा अक्सिजन नै नपाउने समस्या थियो । त्यसमा पनि कारोना महामारीको बेलामा संक्रमितले अक्सिजनका लागि हानथाप नै गरे । तर, अब अस्पतालले भने अक्सिजनको सहज व्यवस्थापन सुरु गरेको छ । अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्टहरु थप गरेर उत्पादनको तयारी थालेको छ ।

जसअनुसार हाल केही बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ति भइरहेको भन्दै अस्पतालले चाँडै सबै बेडमा अक्सिजन सहज रुपमा उपलब्ध हुने जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार अस्पतालमा थप प्लान्ट संचालनको तयारीमा गरिएको छ ।

अब बिरामीले अक्सिजनको सिलिण्डर खोज्नुपर्ने अवस्था आउने छैन । हामी दशैंअघि नै पाइपलाइनबाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं’ ,डा. खड्काले भने । साथै, उनले अस्पतालमा थप सेवा र चिकित्सकहरु उपलब्ध गराउनका लागि सरकारसँग माग गरिएको समेत जानकारी दिए ।

अनलाइनबाटै ओपिडी टिकट

सेवा र सुविधा विस्तार भएसँगै अहिले प्रदेश अस्पतालमा विरामीको चाप पनि बढेको छ । बिरामीको चाप बढेका कारण चेकजाँचका लागि ओपिडी टिकट लिन पालो कुर्नपर्ने अवस्था छ । तर, अस्पतालले यसलाई मध्यनजर गर्दै अब अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्न लागेको हो । यसले बिरामीलाई लाइन लाग्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने अस्पतालको दाबी छ ।

यस्तै, अस्पतालले आकस्मिक कक्षमा उपचार गराइरहेका बिरामीका लागि २४ सै घण्टा ल्याव, विलिङ र औषधी सेवा पनि सुरु गरेको छ । योसँगै अस्पतालले अब आर्थिक अवस्था कमजोर भएको र विपन्न परिवारका बिरामीका लागि नि:शुल्क खानाको व्यवस्थापन गर्ने समेत योजना बनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ