२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण

कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पतालमा हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ । अस्पतालले दुई जना महिलाको हाडजोर्नीको सफलतापूर्वक प्रत्यारोपण गरेको हो ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका घर भएकी ४० वर्षीया रंगा विक र कालिकोट घर भएकी ६४ वर्षीया दीपा महताराको जोर्नी प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । दुबैजनाको दाहिने खुट्टाको ‘हिप’ जोर्नीको अपरेशनमार्फत प्रत्यारोपण गरिएको अस्पतालका प्रवक्ता एवं कन्सल्टेन्ट अर्थाेपेडिक सर्जन डा. विकास केसीले जानकारी दिए ।

बाथ रोगका कारण हड्डी खिइएर हुने समस्याको समाधानका लागि यो प्रत्यारोपण गरिएको बताइएको छ । प्रत्यारोपणमा प्रदेश अस्पतालका ६ जना ‘कन्सल्टेन्ट अर्थोपेडिक’ डाक्टरहरुको टिम संलग्न रहेको डा. केसीले जानकारी दिए ।

जोर्नीको प्रत्यारोपणका लागि काठमाडौं, बुटवल जानुपर्ने समस्यालाई कर्णालीमै समाधान गर्न सफल भएको अस्पतालले जनाएको छ । प्रदेश अस्पतालमै जोर्नीको प्रत्यारोपण गर्न सकिने भएपछि यहाँका नागरिकलाई राहत प्रदान गर्न सकिने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए ।

हाडजोर्नी प्रत्यारोपणका लागि बिरामीको अवस्थाअनुसार कम्तिमा पाँचदेखि सात लाख रुपैयाँसम्म खर्च हुने भएपनि स्वास्थ्य बिमा भएका बिरामीका लागि प्रदेश अस्पतालमा उपकरण खर्च मात्रै लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. केसीका अनुसार सफल प्रत्यारोपण गरिएका ती दुई जना बिरामीको दुईदेखि दुई लाख पचास हजारसम्म खर्च भएको छ । उनीहरु दुबैजनाको स्वास्थ्य बिमा भएकोले खर्च कम भएको हो ।

हाडजोर्नी प्रत्यारोपण एक पटक गरिसकेपछि कम्तीमा २५ देखि ४० वर्षसम्म काम गर्ने डा. केसीले जानकारी दिए । प्रदेश अस्पतालमा भौतिक संरचना, अप्रेशन सामाग्री र जनशक्ति समेत भएकोले यस्तो खालको जटिल शल्यक्रिया सम्भव भएको निर्देशक .डा. खड्काले बताए । कर्णाली प्रदेश अस्पतालले जटिल खालका शल्यक्रिया सुरु गरे बिरामीको संख्या ह्वात्तै बढेको उनको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ