२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप, १ सय ५० बेड क्षमता २ सय ५० बेड सञ्चालन

कर्णाली प्रदेश अस्पतालमा बिरामीको चाप, १ सय ५० बेड क्षमता २ सय ५० बेड सञ्चालन

उत्कृष्ट अस्पताल बनाउने प्रयत्नमा छु : डा. खड्का


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको अत्याधिक चाप हुने गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काअनुसार १ सय ५० बेड क्षमताको अस्पतालले बिरामीको अत्याधिक चाप रहेका कारण २ सय ५० बेडसम्म बिरामी भर्ना गर्नुपर्ने बाध्यता छ ।

‘अस्पताल पुगेका बिरामीलाई सेवा नदिएर डिस्चार्ज गर्ने कुरै भएन । बिरामीको चापलाई मध्यनजर गरी हामीले २ सय ५० बेड बराबर सेवा सञ्चालन गरेका छौं,’ अस्पताल निर्देशक डा. खड्काले भने, ‘ढाड र टाउकोको पनि शल्यक्रिया सेवा सुरु भएको छ । अब सर्ने टिबीका बिरामीलाई पनि भर्ना गरी उपचार गर्ने योजना छ ।’

उनकाअनुसार क्षमताभन्दा बढी बिरामीलाई सेवा दिनुपर्दा जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन नभएको बेला क्षमताभन्दा बढी बिरामी भर्ना लिँदा उपचारमा सकस भएको हो । ‘हाल हामीसँग करिब १ सय ३७ जना स्वास्थ्य जनशक्ति छ । बजेट अभाव पनि छ,’ उनले भने, ‘यसका लागि प्रदेश सरकारसँग पहल भइरहेको छ । चाँडै दरबन्दी पूर्ति भयो भने सेवा प्रवाहमा सहज हुने थियो ।’

प्रदेश सरकारले जतिसक्दो चाँडो दरबन्दी पूर्ति गर्नुपर्ने भन्दै आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने डा. खड्काको माग छ । गुणस्तरीय सेवा प्रवाहमा देशकै उत्कृष्ठ सरकारी अस्पताल बनाउने योजनामा लागेको उनले दाबी गरे ।

कर्णाली प्रदेश अस्पतालमा न्यून शुल्कलगायतका कारण सेवाग्राहीको दैनिक भिड लाग्ने गर्छ । हाल दैनिक ६ सयभन्दा बढी बिरामीले प्रदेश अस्पतालबाट सेवा लिइरहेका छन् । अस्पताल निर्देशक खड्काले भने, ‘सेवाग्राहीको माग र समस्याका आधारमा अस्पताल स्तरबृद्धि गरेका छौं । यो कर्णालीको मात्रै अब्बल अस्पताल होइन, अब देशकै उत्कृष्ट सरकारी अस्पताल बनाउँछौं ।’

सरकारी अस्पतालप्रति नागरिकले हेर्ने दृष्टिकोण र सोच परिवर्तन भइसकेको भन्दै अस्पताल स्तरबृद्धिका लागि भौतिक संरचना तथा दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिएको उनको भनाइ छ ।

मानव विकास सुचांकमा पछि परेको कर्णाली प्रदेशका नागरिक विभिन्न प्रकारका रोगले पनि ग्रसित छन् । यहाँ नागरिकको सहज पहुँच पुग्ने गरी उपचार गर्ने भरपर्दो सरकारी अस्पताल पनि छैन । हाल प्रदेश अस्पतालले आँखा र मुटुको बाहेक अन्य सबै प्रकारका जटिल शल्यक्रिया गर्न थालेपछि अस्पतालप्रति कर्णालीवासीको भरोसा बढेको छ । अब कुनै प्रकारको ठूलो रोग लागेमा वा तत्काल जटिल प्रकारको शल्यक्रिया गर्नुपरेमा प्रदेश अस्पताल छदैछ भन्नेमा कर्णालीवासी ढुक्क छन् ।

हाल प्रदेश अस्पताल सुर्खेतबाट कर्णालीका १० वटै जिल्ला तथा अन्य प्रदेशका नागरिकले स्वास्थ्य सेवा लिइरहेका छन् भने जटिल प्रकारको शल्यक्रियाका लागि अस्पतालमा दक्ष चिकित्सक तथा उपकरणको पनि व्यवस्था छ । अस्पतालकाअनुसार २० वटा आईसीयु तथा एनआईसीयु सञ्चालनमा छन् भने न्युरो आईसीयुलगायत थप एनआईसीयुको व्यवस्था गर्ने तयारी छ ।

सुचना दिनेलाई पुरस्कार

प्रदेश अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले निजी अस्पतालमा पनि काम गर्दा सरकारी अस्पतालमा सेवाग्राही घटाएको आरोप लाग्न थालेपछि त्यस्ता चिकित्सक तथा स्वास्थ्यकर्मीको कार्यालय समयप्रति निगरानी बढाइएको छ ।

अनुशासनमा बलियो बनाउनुका साथै कर्मचारीलाई ड्युटीफूल बनाउन निगरानी गर्न थालिएको हो । यदि कोही कसै चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालमा आएका बिरामीलाई आफूले दिनसक्ने सेवा नदिएर निजी क्लिनिकमा सेवा लिन पठाएमा कारवाही गरिने डा. खड्काले बताए । कसैले यस्तो हर्कत गरेको खण्डमा थाहाँ पाएर सूचना दिनेलाई समेत पुरस्कृत गरिने उनले जानकारी दिए ।

अस्पतालमा उपलब्ध चिकित्सक र उपकरणको आधारमा बिरामीलाई सकेसम्मको सेवा दिने उनको योजना छ । हाल बिरामीको सहजताका लागि अस्पतालले सूचना प्रणालीलाई व्यवस्थित बनाएको छ । भने बिरामीलाई औषधि उपचारसँगै मेरिटेशनका कक्षा समेत दिइन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ