२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालमा ६१ जना कर्मचारी संक्रमित, बिरामीको चाप बढ्यो

कर्णाली प्रदेश अस्पतालमा ६१ जना कर्मचारी संक्रमित, बिरामीको चाप बढ्यो


सुर्खेत – कोभिड-१९ संक्रमणको तेस्रो लहर सुरु भएसँगै कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बिरामीको चाप बढ्दै गएको छ । तर, बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी नै आफै थलापर्न थालेका छन् ।

विगत एक महिनाअघि दैनिक तीन, चार सय सेवाग्राही (बिरामी) आउने प्रदेश अस्पतालमा हाल ह्वात्तै बिरामीको संख्या बढेको छ । अस्पतालका अनुसार हाल दैनिक पाँचदेखि सात सय जनासम्म सेवाग्राही अस्पताल आउँछन् । तर, तिनै बिरामीलाई सेवा दिन बसेका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित बन्न थालेपछि सेवा प्रवाहमा सकस भएको छ ।

अस्पताल निर्देशक डा. डम्बर खड्काका अनुसार आइतबारसम्म मात्रै अस्पतालमा कार्यरत ६१ जना कर्मचारीलाई संक्रमण पृष्टि भएको हो । कोभिड संक्रमणको तेस्रो लहर नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारी तीव्र पारिएको बेला स्वास्थ्यकर्मी नै धमाधम संक्रमति बन्न थालेपछि सेवाग्राही पन्छाउन सकस परेको डा. खड्काले बताए ।

अस्पतालका कार्यालय सहयोगी, नर्सिङदेखि अप्रेसन थ्रिएटरसम्मका ६१ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । ‘एकातिर अस्पतालमा दरबन्दी अनुसार कर्मचारी अभाव छ । अर्कोतिर भएका कर्मचारी नै संक्रमित भएर आराम गरेर बस्दा सेवा प्रवाहमा सकस छ,’निर्देशक डा. खड्काले भने, ‘उपलब्ध बाँकी जनशक्तिले ओभर ड्यूटी गरेरै भएपनि सेवा रोकेका छैनौ । तर, यसरी नै कर्मचारी संक्रमित भएर थलापर्न थालेमा अन्तत सेवा प्रवाह रोक्नपर्ने पनि स्थिति हुनसक्छ ।’

हाल प्रदेश अस्पतालमा १३९ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । कोभिड व्यवस्थापनका लागि २० वटा आईसीयू बेड र ७ वटा भेन्टिलेटर व्यवस्थापन गरिएको छ । भने, सामाजिक विकास मन्त्रालयसँग अभाव कर्मचारी तत्काल पुर्ती गर्न माग गरिएको छ ।

औषधी उपकरणसँगै बिरामीलाई खानाको समेत व्यवस्थापन गर्ने लगायतका विषयमा प्रदेश सरकारसँग रकम माग गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले बताए । अस्पतालका अनुसार सामान्यबाहेक आपतकालिन सेवा दिनुपर्ने बिरामी समेत ह्वात्तै बढेका हुन् । अस्पतालमा सेवालिन आएका संक्रमित तथा अन्य रोगका बिरामीसँगै स्वास्थकर्मी पनि थलापर्न थालेपछि चिन्ताजनक अवस्था सृर्जना हुनसक्ने देखिन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ