२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए

५ वर्षदेखि अन्धकारमय जीवन बिताइरहेका ७२ वर्षीय खेम्चोकसँगै जब १०७ जनाले पुनः दृष्टि पाए

दुर्गम क्षेत्र नाम्खामा आँखा उपचार केन्द्र संचालन


काठमाडौं—हुम्ला यारीका खेम्चोक लामाका लागि ५ वर्षदेखि उज्यालो संसार सपना थियो । मोतियाविन्दुका कारण आँखा देख्न छाडेपछि उनको संसार अन्धकारमय थियो । ७२ वर्षीय उनका लागि फेरि दृष्टि पाउनु कल्पनाकै कुरा थियो ।

तर, कल्पनालाई यथार्थमा बदलिदियो, तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ प्रा.डा. गोविन्द पौड्यालको नेतृत्वको प्राविधिक टोलीले सञ्चालन गरेको आँखा शिविरले । खेम्चोक पुनः दृष्टि प्राप्त गरेर सामान्य जीवनयापन गर्न सक्ने भएका छन् ।

खेम्चोक त एक प्रतिनिधी पात्रमात्रै हुन्, उनीजस्तै मोतियाविन्दुको समस्या लिएर बाँचिरहेका १ सय ७ जनाले आँखाको रोशनी पुनः प्राप्त गरेका छन् । शल्यक्रियापछि लामो समयदेखि अन्धकारमा जीवन जीउन बाध्य भएका बिरामीहरुको जीवनमा उज्यालो छाएको छ ।

डा. पौड्यालको टोलीले सिमिकोटमा ४८ र नाम्खामा ६३ जनाको शल्यक्रिया गरेको थियो । जसमा मोतिविन्दु १०७ जना अन्य ४ जना गरी १ सय ११ जनाको शल्यक्रिया गरिएको थियो ।

टोलीले जेठ २५ र २६ गते याल्बाङ, २७ र २८ नाम्खामा शिविर आयोजना गरेको थियो । जसमा ८ सय ५२ जना सेवाग्राहीहरुको आँखा परिक्षणका तथा उपचार गरिएको थियो ।

सिमीकोट शिविरको लागि स्वास्थ्य सेवा कार्यालय जिल्ला अस्पताल सिमीकोट, नेत्र ज्योति संघ हिमालय आँखा अस्पतालबाट संचालित आँखा उपचार केन्द्र हुम्ला र नेपाल रेड्क्रस सोसाइटीको विशेष सहयोग रहेको थियो । उक्त शिविरमा प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित कार्यालय प्रमुखहरुको निरीक्षण गरेका थिए ।

याल्बाङ, नाम्खामा नाम्खा गाउँ पालिकाको आयोजनामा आँखा शिविर सम्पन्न भएको थियो । शिविर संचालन अगावै नाम्खा गाउँ पालिकाका नेत्र सहायक र कार्यालय सहायकले १७ दिन पालिकाको विभिन्न गाउँहरुमा पुगेर मोतिविन्दुका बिरामी छनौट शिविर संचालन भएको थियो । छनौट भएका मोतिविन्दुका बिरामीहरु ल्याउने र लाने काम नाम्खा गाउँ पालिकाले गरेको थियो भने आवश्यक परेका बिरामीको खाना र बस्न स्थानीय विद्यालय सहयोगी संस्था हिमालयन चिल्ड्रेन सोसाइटीको सहयोग थियो ।

आँखा शिविरमा तिब्बत चीन सिमाना यारी, लीमी भ्याल्लीदेखि स्याडा, सर्केघाट गाँउसम्मका स्थानियवासीले सेवा लिएका थिए । उक्त शिविरहरुका लागि सेवा फाउन्डेसन नेपालको पनि सहयोग रहेको थियो ।

नाम्खामा आँखा उपचार केन्द्र


नाम्खा गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहकार्य र सेवा फाउन्डेसनको सहयोगमा याल्बाङ, नाम्खा गाउँपलिकामा २९ जेठदेखि आँखा उपचार केन्द्र स्थापना भएको छ । आँखा शिविरसँगसँगै नाम्खा आँखा उपचार केन्द्र समुद्घाटन गरिएको हो ।
शिविरबाट पुनः दृष्टि प्राप्त गरेको सेवाग्राही खेम्चोक लामा, तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञ प्रा. डा. गोविन्द पौड्याल, नाम्खा गाउँ पालिकाको प्रमुख कार्यकारी अधिकृत धर्मराज न्यौपाने र सम्बन्धित् वडा अध्यक्ष लाटर लामा संयुक्त रुपमा आँखा केन्द्रको उद्घाटन गरेका थिए ।
उक्त आँखा केन्द्र सो क्षत्रको जनता लाई निरन्तर सेवा प्रदान गर्नेछ । यो आँखा केन्द्र तिलगंगा आँखा प्रतिष्ठान र सेवा फाउन्डेसनको सहयोगमा संचालित सवैभन्दा दुर्गम क्षेत्रमा रहेको आँखा उपचार केन्द्र हो । नाम्खा गाउँपलिका एकीकृत स्वास्थ्यसेवा प्रणालीको आँखा सेवा संचालन गर्ने हुम्ला जिल्लाको पहिलो गाउँपालिका हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ