२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपौष्टिक आहाराले बालवालिकाको पोषणमा सुधार

पौष्टिक आहाराले बालवालिकाको पोषणमा सुधार


जुम्ला—तिला गाउँपालिका –४ साँपुल्ली गाउँकी विमला शाहीको एक वर्षको बच्चा छ । विमलाको बच्चा जन्मदा ४ किलो तौल थियो । अहिले एक वर्षको हुँदा तौल १० किलो छ । ‘गर्भवती हुँदादेखि नै पौष्टिक आहारा खाँदै आएकोले सुत्केरी हुँदा पनि सहज भयो । बच्चा जन्माउन पनि सजिलो,’ उनले भनिन्, ‘बच्चा कुपोषण भएन । अहिले बच्चालाई नियमित पौष्टिक आहारा सर्वाेत्तम पिठो खुवाउँदैं आएकोले पोषणमा सुधार भएको छ ।’

यस्तै तिला गाउँपालिका–३ की लालसरी सुनारले १९ वर्षकै उमेरमा बच्चा जन्माइन् । उनको बच्चा अहिले ४ महिनाको छ । सानै उमेरमा प्रजनन अंग परिपक्व नहुँदैं बच्चा जन्माउँदा असहज नै हुने उनले महसुस गरिन् । ‘गर्भवती हुँदा पौष्टिक आहारा सर्वोत्तम पिठो खाँदै आएकोले पोषणमा सुधार भएको हुदा बच्चा जन्माउँदा धेरै असर भएन्,’ लालसरी भन्छिन् ।

यी त दुई प्रतिनिधी उदाहरण मात्रै हुन् । पौष्टिक आहारा सर्वोत्तम पिठोको प्रयोगले आमा र बच्चा दुवैमा पोषण सुधार भएको महसुस गरेका छन् । मातृ तथा बाल मृत्युदर शुन्य बनाउन र पोषणमा सुधार ल्याउनका लागि दातृ निकायदेखि नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ ।

नेपाल सरकारसँग साझेदारी गर्दै विश्व खाद्य कार्यक्रमले कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, डोल्पा र मुगु जिल्लामा एमडिआई नेपालको प्राविधिक सहयोगमा गर्भवती महिला र ६–२३ महिना भित्रका बच्चालाई पौष्टिक आहारा सर्वाेत्तम पिठो वितरण गर्दै आएको छ । एमडिआई नेपाल जुम्लाका संयोजक नवीन रावलका अनुसार सन् २०१४ देखि यो कार्यक्रम नियमित सञ्चालनमा रहेको छ । ‘यसले गर्भवती आमा र बच्चामा पोषण सुधार आएको छ,’ उनले भने ।

खाद्य असुरक्षा भएका जिल्लामा यो कार्यक्रम सञ्चालनमा रहेको विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण शाहीले बताए । उनकाअनुसार यो कार्यक्रममार्फत स्थानीय उत्पादनबाट पनि सर्वाेत्तम खाना बनाउन सिकाउन थालिएको छ । ‘स्थानीय उत्पादनबाट पौष्टिक खाना बनाएर गर्भवती आमा र बच्चालाई खुवाउन सिकाएका छौं,’ शाहीले भने ।

गर्भवती आमा र नवजात बच्चाको पोषण सुधारका लागि गैरसरकारी र सरकारी तवरबाट लगानी भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमारी केशरीले बताए । उनले भने, ‘यसको भरपूर सदुपयोग गर्नुको विकल्प छैन । दातृ निकायसँग समन्वय गरेर राज्यले केही सिमित अवधिका लागि परियोजना सञ्चालन गरेको हो । सधंै यही नै लागु हुँदैन् । निश्चित अवधिका लागि परियोजना सञ्चालन गरिएको हुन्छ । यस्तो अवस्थामा यही परियोजनाबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्नपर्दछ ।’

स्वास्थ्य क्षेत्रको सुधारका योजना नै पालिकाले प्रथामिकतामा राख्ने गरेको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनकाअनुसार तिला गाउँपालिकामा ९ वटा वडा छन् । तर, यो पालिकामा १३ वटा स्वास्थ्यका संरचना स्थापना गरिएको छ । ‘हामी नागरिकको स्वास्थ्य सुधारमा सचेत छौं । भौगोलिक रुपमा गाउँवस्ती विकट भएकाले सवैलाई स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउनका लागि १३ वटा स्वास्थ्य संरचना स्थापना गरिएको हो,’ रोकाया भन्छन्, ‘नागरिकले पनि आफ्नो स्वास्थ्य अवस्थाका बारेमा ध्यान दिन जरुरी रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ