२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका स्वास्थ्य संस्थामा सिटामोलसहित अत्यावश्यक औषधी अभाव

जुम्लाका स्वास्थ्य संस्थामा सिटामोलसहित अत्यावश्यक औषधी अभाव


जुम्ला—जुम्लाको तिला गाउँपालिका–३ कुडारी गाउँस्थित कुडारी स्वास्थ्य चौकीमा सिटामोलसहित अत्यावश्यक औषधीको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि सिटामोल, जीवनजल, आँखा र कानमा हाल्ने औषधी अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधी पाउने व्यवस्था भएपनि सिटामोल, जीवनजलजस्ता अत्यावश्यक औषधी नै नपाउने गरेको स्थानीय लालसरी सुनारले बताइन् । ‘अहिले हिउँदमा बढी चिसो हुन्छ । चिसोमा रुघाखोकी लाग्ने गर्दछ । तर, स्वास्थ्यमा सिटामोल पनि नहुँदा समस्या हुने गरेको छ,’ उनले भनिन् ।

जुम्लामा चिसो बढेको छ । चिसोका कारण ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी औषधी उपचारका लागि स्वास्थ्य चौकीमा आउने गरेका छन् । दैनिक १५–२० जना बिरामी स्वास्थ्य संस्थामा आउने गरेका छन् ।

तर, स्वास्थ्य संस्थामा अत्यावश्यक औषधी नहुँदा समस्या भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । उनीहरु भन्छन्, ‘गाउँपालिका स्वास्थ्य शाखामा माग गरेका छौं । उपलब्ध भएको छैन । दुई सातादेखि स्वास्थ्य संस्थामा औषधी अभाव छ ।’

तिला गाउँपालिका स्वास्थ्य शाखा इन्चार्ज गणेश शाहीका अनुसार गाउँपालिकाको औषधी खरिद प्रक्रियामा रहेको छ । ‘स्वास्थ्य संस्थामा अपुग औषधी जनस्वास्थ्य कार्यालयको स्टोरबाट ल्याएर व्यवस्थापन गर्ने गरेका छौं,’ उनले भने, छिट्टै नै औषधी खरिद गरी अपुग औषधी व्यवस्थापन गर्ने तयारी गरेका छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ