२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश४३५ दिन कर्णाली प्रदेशको शासन चलाएका मुख्यमन्त्री शाहीका यी हुन् स्वास्थ्य क्षेत्रका काम

४३५ दिन कर्णाली प्रदेशको शासन चलाएका मुख्यमन्त्री शाहीका यी हुन् स्वास्थ्य क्षेत्रका काम


वीरेन्द्रनगर—कर्णाली मुख्यमन्त्री जीवनबहादुर शाहीले जाँदाजाँदै स्वास्थ्य क्षेत्रमा गरेका उपलब्धि सार्वजनिक गरेका छन् । मंगलबार मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बनेर ४ सय ३५ दिनमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने क्रममा स्वास्थ्यतर्फका उपलब्धि पनि सार्वजनिक गरेका हुन् ।

१७ कात्तिक २०७८ मा मुख्यमन्त्री बनेका शाहीले कोभिड–१९ महामारीदेखि स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलगायतका क्षेत्रमा उलेख्य उपलब्धी भएको बताएका छन् । कर्णाली प्रदेशमा कोभिड–१९ तथा महामारी नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसन, एचडियु, आईसीयु र पीआईसीयु, अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटर र भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य सामग्रीको सहज आपूर्ति र उपलब्धताको व्यवस्था मिलाइएको मुख्यमन्त्री शाहीले जानकारी दिए ।

‘कर्णाली प्रदेशमा कोभिड–१९ विरूद्धको खोप सेवालाई प्रभावकारी बनाइएको छ,’ उनले भने, ‘१८ वर्षभन्दा माथिका ७० प्रतिशत, १२ वर्षभन्दा माथिका ७४ प्रतिशत एवं कुल जनसंख्याको ८५ प्रतिशतले कोभिड–१९ विरूद्धको दोस्रो मात्रा खोप एवं दोस्रो मात्रा खोप लगाएकामध्ये ३७ प्रतिशत जनसंख्याले बुस्टर मात्रा लगाइसकेका छन् ।’

प्रदेश अस्पताल एवं अन्य जिल्ला अस्पतालहरूलाई विशेषज्ञ सेवा प्रवाह गर्ने अस्पतालको रुपमा विकास गर्न अस्पतालको क्षमता अभिवृद्धि, विशेषज्ञ सेवा प्रदान गर्ने गरी एम.आर.आई., अक्सिजन प्लान्ट, इन्फ्रा स्क्यानर र प्रयोगशाला उपकरणलगायत चिकित्सकीय उपकरण व्यवस्था गरी सञ्चालनमा ल्याइएको मुख्यमन्त्री शाहीले जानकारी दिए । प्रदेश सरकारको सहयोगबाट स्थानीय तहका ५ आधारभूत अस्पतालहरूको पूर्वाधार विकास, ७३ सामुदायिक स्वास्थ्य एकाइ तथा २० वर्थिङ सेन्टर सञ्चालनमा आएका उनले जानकारी दिए ।

स्वास्थ्य प्रयोगशाला सेवालाई विस्तार र सुदृढीकरण गर्नको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना र सञ्चालन गरिएको उनले बताए । ‘सबै जिल्लाका अस्पतालहरूमा थप प्रयोगशाला सम्बन्धी थप उपकरणहरूको ब्यवस्था गरिएको छ,’ उनले भने, ‘सुर्खेतको भेरीगंगा नगरपालिकको छिन्चुमा प्रादेशिक सरुवा रोग अस्पताल निर्माणको लागि संघीय सरकारबाट राष्ट्रिय वन क्षेत्रको ४.९ हेक्टर जग्गा उपलब्ध भएको छ । उक्त जग्गा प्रयोग गरे वापत लाग्ने २ करोड ८९ लाख ५० हजार २४० रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ । अस्पताल भवन निर्माणको प्रक्रिया अगाडि बढेको छ ।’

खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, बालरोग व्यवस्थापन, महामारी रोग नियन्त्रण एवं उपचारात्मक सेवाका सूचकहरुमा सुधार भएको, पूर्ण खोप कभरेज ७४ प्रतिशतबाट ९० प्रतिशत पुगेको, छ महिनासम्म स्तनपान गराउने आमाको संख्या ६२ प्रतिशतबाट बढेर ७५ प्रतिशत पुगेको, झाडापखाला प्रतिहजार बालबालिकामा ६९३ जनाबाट घटेर ५९५ जना, मातृ मृत्यु संख्या २१ प्रतिशतबाट घटेर १७ प्रतिशत, स्वास्थ्य संस्थामा प्रसूति जाँच गर्ने महिलाहरुको संख्या ४० प्रतिशतबाट बढेर ६५ प्रतिशत, आयुर्वेद सेवा लिनेको संख्या एक लाख १२ हजारबाट बढेर दुई लाख ६ हजार पुगेको मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘यो अवधिमा कर्णाली प्रदेशका थप ३ जिल्ला पूर्णखोप घोषणा भई पूर्ण खोप घोषणा हुने जिल्लाको संख्या ८ पुगेको छ,’ उनले भने, ‘हुम्ला र डोल्पा जिल्ला प्रक्रियामा रहेका छन् ।’

प्रदेश र जिल्लास्थित अस्पतालहरूको अस्पताल व्यवस्थापन समितिहरुको गठन गरिएको, सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको स्थापना भई कार्यान्वयनमा रहेको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना र सञ्चालन गरिएको उनले बताए ।

प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न ऐनको मस्यौदा तयारी गरिएको र विज्ञहरुसँग छलफल तथा अन्तक्रिया र भौतिक पूर्वाधार विकासको लागि वहुवर्षीय आयोजनाका लागि आवश्यक प्रक्रिया अघि बढेको मुख्यमन्त्री शाहीले जानकारी दिए । ‘पूर्वाधार तथा स्वास्थ्य सेवामा गुणस्तरीयता र प्रभावकारिता ल्याउन प्रयास गरिएको छ,’ उनले भने, ‘आर्थिक वर्ष ०७८/७९ मा प्रदेश अस्पतालले न्यूनतम सेवा मापदण्डमा देशकै सेकेण्डरी सरकारी अस्पतालहरूमध्ये प्रथम स्थान प्राप्त गरेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ