२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशउपचार खर्च जुटाउन नसक्दा १३ वर्षीया ममताले गुमाइन् ज्यान

उपचार खर्च जुटाउन नसक्दा १३ वर्षीया ममताले गुमाइन् ज्यान


जुम्ला—कनकासुन्दरी गाउँपालिका–५ लुड्कुकी १३ वर्षीया ममता बुढाको आर्थिक अभावका कारण कोहलपुरको शिक्षण अस्पतालमा मृत्यु भएको छ । बायाँपट्टीको फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टीको शरीर चल्न छोडेकोलगायतका स्वास्थ्य समस्यासँग लडिरहेकी उनको विगत पाँच दिनदेखि कोहलपुर मेडिकल कलेजको आईसीयुमा उपचाररत थिइन् ।

बेहोस अवस्थामा रहेकी उनको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार हुन नसक्दा उनको मृत्यु भएको आफन्तले जनाएका छन् । उनका बुबा र आफन्तले सहयोगको लागि अपिल गरेका थिए । तर, उनको उपचारका लागि सहयोग जुट्न सकेन ।

दुर्गम जिल्ला जुम्लाको विकट सिंजाबाट उपचारका लागि निजी अस्पतालमा पुग्दा ममताका आफन्तले अस्पतालले तोकेको खर्च व्यहोर्न सकेनन् । ममताका मामा सन्तोष बोहोराका अनुसार डाक्टरहरूको सल्लाहअनुसार भेन्टिलेटरमा राखेर उपचार गर्न सल्लाह दिएका थिए । ‘भेन्टिलेटरमा प्रतिदिन १४ हजार बढी खर्च लाग्ने रहेछ,’ उनले भने, ‘त्यही खर्चको जोहो नहुँदा उनको ज्यान गयो ।’

गाउँले साथीभाइको सहयोगमा आईसीयुमा राखेर उपचार भएपनि होस् नखुलेपछि भेन्टिलेटरमा लिनुपर्ने थियो । भेन्टिलेटरमा राखेर उपचार गर्न नसक्दा ममताले मृत्युुवरण गर्नुपरेको बोहोराले बताए । ‘आर्थिक अभावले भेन्टिलेटरमा लिन नसक्दा भान्जी गुमाउनुप¥यो,’ उनले भने, ‘हेर्दाहेर्दै कलकलाउदो, लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मर्नुपर्ने स्थिति आयो ।’

छोरीले उपचार अभावमा ज्यान गुमाएपछि उनका बुवा सम्हालिन सकेका छैनन् । भारतमा गएर परिवार चलाउँदै आएका उनले उपचारमा मनग्य खर्च गर्न नक्दा छोरी गुमाएका हुन् ।

शासन व्यवस्था संचालन गरिरहेकाहरु स्वास्थ्य, शिक्षालाई सुलभ र प्रभावकारी बनाउने भाषण दिन्छन् । तर, उनीहरुका भाषण र दुर्गममा स्वास्थ्य सेवा पु¥याउनेदेखि जटिल प्रकृतिका रोगहरुको निःशुल्क उपचार गरिदिनेसम्मका बाचा चुनावी घोषणापत्रमै सिमित हुने गरेका छन् ।
उसो त देशको मुल कानुन संविधानको मौलिक हकमै स्वास्थ्य निःशुल्क भनिएको छ ।

संविधानको धारा, ३५ को स्वास्थ्यसम्बन्धी हकका चार वटा उपधाराहरुमा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन । प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ । प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।’ तर, ममताको स्वास्थ्य सेवामा पहुँच पुग्न सकेन र आईसीयुमा उपचार गराइरहेकी उनले होस् नखुलेरै ज्यान गुमाइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ