२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रतिष्ठानमा डेढ करोड रकम बराबर विपन्न बिरामीलाई निःशुल्क उपचार

कर्णाली प्रतिष्ठानमा डेढ करोड रकम बराबर विपन्न बिरामीलाई निःशुल्क उपचार


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ६ वर्षको अन्तरालमा दुई हजार तीन सय बढी विपन्न बिरामीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ । प्रतिष्ठानले आर्थिक वर्ष २०७४/०७५ देखि आव ०७९/८० सम्म ६ वर्षमा कर्णाली प्रदेशभरका दुई हजार तीन सय बिरामीलाई निःशुल्क विशेषज्ञ सेवा दिएको हो ।

प्रतिष्ठान जुम्लामा स्थापना वि.सं. २०६८ सालमा भएपनि औपचारिक सेवा प्रवाह वि.सं. २०७० सालदेखि भएको थियो । प्रतिष्ठानले वि.सं. २०७४ सालदेखि विपन्न बिरामीलाई निःशुल्क उपचार गर्दै आएको हो । निःशुल्क उपचारमा विपन्न बिरामीलाई प्रतिष्ठानले डेढ करोड खर्चेको छ ।

मेडिकल रेर्कडर मेघराज बुढाका अनुसार प्रतिष्ठानबाट आर्थिक वर्ष २०७४/०७५ २ सय ७१ जना विपन्न नागरिकले ४ लाख ५८ हजार ५४३ रुपैयाँ बराबरको निःशुल्क उपचार पाएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा २ सय ८२ जनाले ७ लाख ७८ हजार ८६२ रुपैयाँ, आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५३ जनाले ९ लाख १२ हजार ४४४ रुपैयाँ बराबरको निःशुल्क उपचार पाएका हुन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १ सय ९३ जनाले १९ लाख ८९ हजार २९१ रुपैयाँ बराबरको निःशुल्क उपचार पाएका थिए । आर्थिक २०७८/०७९ मा ह्वात्तै बढेर ५ सय ८६ जनाले ४१ लाख ८५ हजार ८७ रुपैयाँको निःशुल्क उपचार पाएको मेडिकल रेकर्डर बुढाले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक २०७९/०८० मा अहिलेसम्मकै धेरै संख्यामा ७ सय ७२ जना अति विपन्न नागरिकले ५३ लाख ७४ हजार ८२२ रुपैयाँ बराबरको निःशुल्क उपचार लिएका छन् । ६ वर्षको तथ्यांकलाई मात्र अध्ययन गर्दा प्रतिष्ठानबाट २ हजार ३ सय ७१ जना विपन्न नागरिकले प्रतिष्ठान १ करोड ३६ लाख ९९ हजार ४९ रुपैयाँसहितको निःशुल्क उपचार सेवा लिएका छन् । अन्य क्यान्सर, मिर्गौला रोग सम्बन्धी सहयोग झण्डै गरी डेढ करोड बराबरको निःशुल्क उपचार लिएको देखिन्छ ।

प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतका अनुसार आर्थिक अभावले उपचार पाउनबाट बन्चित नहुन् भन्ने उद्देश्यले निःशुल्क सेवा प्रदान गरिएको हो । सरकारले कम बजेट पठाउने गरेपनि निःशुल्क उपचार लिनेको संख्या वर्षेनी बढ्दो रहेको उनले जानकारी दिए ।

‘यो प्रतिष्ठानका लागि अवसर र चुनौती पनि हो । स्रोत सिमित हुँदैं जाने, सरकारले न्युन बजेट पठाउने तर निःशुल्क उपचार लिने विपन्न नागरिकको संख्या वृद्धि हुनु हाम्रो लागि चुनौतीको विषय बनेको छ, ‘उनले भने, ‘विपन्न नागरिकको स्वास्थ्य अधिकार आर्थिक अभावले मात्रै बन्चित हुँदैन् । कर्णाली प्रतिष्ठानले विपन्न नागरिकलाई स्वास्थ्य अधिकार प्रत्याभूत गराउँछ ।’ कोभिडको रोकथाम र नियन्त्रणमा अग्रणी भूमिका खेलेको पश्चिम नेपालकै भरोसा बनेको प्रतिष्ठानको विस्तार र विकासमा राज्यले ध्यान नदिएको गुनासो उनको छ ।

प्रतिष्ठानले कर्णालीका १० जिल्लासहित सुदूरपश्चिमका ३ गरी १३ जिल्लामा आफ्नो सेवा प्रवाह गरिरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ