२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको ताजाकोटमा ३० जना बालबालिकामा कडा कुपोषण

हुम्लाको ताजाकोटमा ३० जना बालबालिकामा कडा कुपोषण

१ सय १५ बालबालिकामा मध्यम खालको कुपोषण


जुम्ला—हुम्लाको ताजाकोट गाउँपालिका–१ देखि ५ सम्मका वडामा ३० जना बालबालिकालाई कडा खाले कुपोषण देखिएको छ । ताजाकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मंसिर पहिलो सातादेखि २० पुससम्म कुपोषणमुक्त पालिका बनाउन सुरु गरिएको अभियानमा कुपोषण देखा परेको गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक धनराज ढकालले बताए ।

अभियानका क्रममा वडा नंं. १ देखि वडा नं. ५ सम्ममा ३० जना बालबालिकामा कडा खालको कुपोषण भएको भेटिएको छ । यस्तै, १ सय १५ जना मध्यम खालको कुपोषण भएका बालबालिका भेटिएको संयोजक ढकालले जानकारी दिए ।

गाउँपालिकामा कुपोषण अन्त्य अभियानका लागि प्रत्येक वडाका गाउँघरमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको ढकालले बताए । ६ महिनादेखि ६० महिनाका कुपोषित बालबालिकाहरुको तथ्यांक लिनका लागि पाखुरामा मुआफ टेप प्रयोग गरी सोहीअनुरुप कडा कुपोषित र मध्यम खालको भनेर मापन गरेर महिला स्वयंसेविकाले स्वास्थ्य संस्थामा पठाउने गरेको ढकालले बताए ।

‘महिला स्वास्थ्य स्वयम सेविकाले चेक जाँच गरी स्वास्थ्य संस्थामा पठाएका बालबालिकालाई कडा कुपोषित भएकालाई ओटिसीमा भर्ना गरेर उपचार गरिन्छ,’ ढकालले भने । मध्यम कुपोषितलाई खानपान, सरसफाई सम्बन्धि सल्लाह, आमा र बालबालिकालाई भेट्ने सुझाव दिएर घर पठाउने गरेको ढकालको भनाइ छ ।

‘ओटिसीमा भर्ना गरेर लगातार तीन महिनासम्म पनि कुपोषित बालबालिकामा सुधार आएन भने पोषण पुनः स्थापना केन्द्र सुर्खेत वा नेपालगञ्जसँग समन्वय गरेर आमा र कुपोषित बालबालिकालाई त्यहाँ पठाउने छौं,’ प्रमुख ढकालले भने, ‘त्यहाँ पठाएर भर्ना भएपछि ६ महिनासम्म आमा र बच्चालाई खाना तथा बस्न निःशुल्क व्यवस्था रहेको छ ।’

ताजाकोट गाउँपालिकाको स्वास्थ्य शाखामा उपचार हुन नसकेका दुई जना कुपोषित बालबालिकालाई थप उपचारका लागि पोषण पुनः स्थापना केन्द्र सुर्खेत पठाइएको उनले बताए । ताजाकोट–४ का मनबहादुर बोगटीका १३ महिनाकी छोरी र वडा–५ का गोर सार्कीको २१ महिनाको छोरा सुर्खेत पठाइएको हो ।

बालबालिकालाई मुख्यतयाः होचा, ख्याउटे र पुड्कोपन हुनबाट बचाउने उद्देश्यले कुपोषित बालबालिका अन्त्य अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । छोराछोरीमा गरिने विभेद्का कारण उपचार नपाउँदा धेरैजसो बालिकाको ज्यान जोखिममा रहेको अध्यक्ष जैसीको भनाइ छ । कुपोषितमध्ये पनि आधाभन्दा बढी बालिका रहेका छन् ।

गाउँपालिकामा सबैभन्दा बढी ७० प्रतिशत दलित समुदायका बालबालिका कुपोषणको शिकार भएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए । उनले भने, ‘गाउँघरमा जनचेतनाको अभावका साथै विहानदेखि बेलुकासम्म काममा व्यस्त हुने र स–साना बालबालिकाहरू खानपानमा ख्याल तथा हेरचाह नगर्ने भएका कारण दलित समुदायका बालबालिकाहरू बढी कुपोषित हुनुका साथै रोगको सिकार हुने गरेका छन् ।’

विशेषगरी आमाबुवाको लापरवाहीका कारण बालबालिकाहरुमा कुपोषण हुने गरेको पाइएको प्रमुख ढकालले बताए । जिल्लाको दुरदराज वस्तीमा गर्भावस्थामा समेत आराम नगरी महिलाहरुले सक्ने नसक्ने सबै काम गरेको पाइन्छ । बच्चा जन्माइसकेपछि पनि महिलाहरुले नवजात शिशुको रेखदेख गर्नुभन्दा बढी काम गर्ने गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ