२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिलाका स्वास्थ्य संस्थामा औषधि वितरण

तिलाका स्वास्थ्य संस्थामा औषधि वितरण


जुम्ला—जुम्लाको तिला गाउँपालिका स्वास्थ्य शाखाले पालिका भित्रका स्वास्थ्य संस्थामा औषधि वितरण गरेको छ । सोमबार गाउँपालिका अभाव रहेका स्वास्थ्य चौकीमा औषधि वितरण गरेको हो ।

यसअघि हेल्थआवाजले स्वास्थ्य संस्थाहरुमा सिटामोलसहितका औषधि अभाव रहेको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशनपछि पालिकाको स्वास्थ्य शाखाले स्वास्थ्य संस्थामा चाहिने आवश्यक औषधि खरिद गरी अभाव रहेका स्वास्थ्य संस्थामा करिब ८ लाखको औषधि पठाएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हर्कबहादुर रावतले बताए ।

‘यहाँका १३ वटै स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिनका लागि थप औषधि खरिद प्रक्रिया अगाडि बढेको छ,’ उनले भने, ‘तिलाका नागरिकलाई सहज रुपमा औषधि पाउने गरी गाउँपालिका लागि परेको छ ।’ पालिकाले यो वर्षका लागि जम्मा ८ लाख रुपैयाँ बजेट स्वास्थ्य शाखालाई विनियोजन गरेको थियो । सिमित बजेटको सीमाभित्र भई काम गर्नुपर्ने भएकाले स्वास्थ्य शाखामा देखिएको औषधि अभावलाई हल गर्नका लागि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधिको माग फाराम भरी स्वास्थ्य संस्थामा औषधि यसअघि पठाई सकेको स्वास्थ्य शाखाले जनाएको छ ।

नेपाल सरकारले तोकेका सबै प्रकारका औषधि निःशुल्क रुपमा स्वास्थ्य चौकीमा पाउने गरी काम गर्ने स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ । सरकारी तवरवाट जाने औषधिहरु समयमै तिलाका स्थानीयवासीलाई उपलब्ध गरिने गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए ।

पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामोललगायतका औषधि पठाइएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् । सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाख रुपैयाँको बजेटमार्फत औषधि टेन्डर प्रक्रियाबाट खरिद गरिने तिला गाउँपालिकाले जनाएको छ ।

साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको भन्दै तिलाका स्थानीयवासीले विरोध जनाएका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ