२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, पालिकाभर बिरामी

भाइरल ज्वरोले मुगुमा तीन जनाको मृत्यु, पालिकाभर बिरामी

स्वाब परीक्षणका लागि सुर्खेत पठाइयो, रिपोर्ट आएपछि मात्रै कारण पुष्टि हुने


जुम्ला—मुगुको सोरु गाउँपालिकामा तीन जनाको ज्वरोले मृत्यु भएको छ । एक साता यता मृत्यु हुनेमा मृत्यु हुनेमा सोरु गाँउपालिका– ६ पुरुमुरु गाँउका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुसुम ढोली रहेका छन् ।

पुरुमुरु, जिमा , भिई, नार्थपु, सिप, ख्याल्च, वुम्चलगायतका दर्जन बढी गाउँका घर—घरमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, टाउको दुख्ने  र नाक मुख सुख्या हुनेजस्ता लक्षण देखिएका बिरामीहरु रहेका छन् । बिरामी रहेका गाउँमा सिटामोल समेत अभाव हुँदा बिरामीहरुको संख्या बढदै गएको हो ।

बिरामी सलबहादुर ढोलीकाअनुसार घरमा रहेकी माहिली बुहारीलाई एक हप्ता पहिलेदेखि रुघाखोकी, ज्वरो आउने, खाना खान मन नलाग्ने लक्षण देखिएपछि पालिका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गरे । ‘औषधी खाएपनि सञ्चो नभएपछि मुगु जिल्ला अस्पताल लिदैं गर्दा बुहारीको बाटोमै मृत्यु भयो । अहिले मलाई र घरमा भाई बुहारीलाई पनि रुघाखोकीले थला पारेको छ,’ उनले भने, ‘नजिकको स्थानीय सरकार र अन्य कुनै पनि निकायले सहयोग गरेका छैनन् ।’

गाँउभर बिरामी रहेको तर स्थानीय सरकार वडा र पालिकाबाट कुनै पनि निकायबाट औषधी नहुँदा निकै समस्या भएको स्थानीयको गुनासो छ । ‘स्वास्थ्य संस्थामा बिरामी लिएर जाउ भने बिरामी बोक्ने मान्छेको पनि समस्या छ । स्वास्थ्य संस्था ३ घण्टा टाढा छ । एक जनालाई ७/८ सय रुपैयाँ गाडी भाडा पर्छ । वडाध्यक्ष, सदस्य, पालिका अध्यक्ष बनाएका छौं । अहिले कहाँ गएका छन् थाहा छैन,’ सोरु गाँउपालिका – ६ जिमा गाउँका कर्णजित बुमीले गुनासो गरे, ‘घर—घरमा गाँउ वस्तीमा बिरामी धेरै छन् । केही कर्मचारी हुने खानेले मेडीकलबाट औषधी किनेर उपचार गर्छन् । हामी आर्थिक अवस्था कमजोर भएका कता जाउ । स्वास्थ्य सस्था जाउ सामान्य सिटामोल पाइदैन् । घरको जडिबुटीले सञ्चो हुँदैन । हामीले मृत्यु कुर्नुबाहेक अर्को विकल्प छैन ।’

सोरु गाँउपालिका विभिन्न बस्तीमा भाइरल ज्वरो खोकीका बिरामीहरु बढदै गएको र मृत्युसम्म भएको थाहा पाएपछि जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर चिकित्सक र औषधीसहितको टोली खटाएको छ । ‘बिरामीहरुको खकार र रगत चेक गरेपछि मात्र के कारण गाउँमा धेरै बिरामी भएको हुन कुन रोग हो भन्ने पत्ता लाग्ने छ,’ सोरु गाँउपालिका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले भने, ‘अहिलेको लक्षण हेर्दा मौसम परिवतनसंगै सिजनल इन्फ्लुएन्जा भाइरल ज्वरोजस्तो देखिएको छ ।’

जिल्ला स्वास्थ्य कार्यालय मुगुको चिकित्सकसहितको टोलीले मंगलबार सोरु गाँउपालिका–६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जनाभन्दा बढीलाई स्वास्थ्य परीक्षण गरेर रुघाखोकी, ज्वरो, शरीर दुख्नेको औषधी वितरण गरेको छ । ‘कोभिड—१९, मलेरिया, औलोलगायतको चेक जाँच गरिएपनि खासै अन्य कुनै पनि भाइरस देखिएको छैन । केही स्थानीय नागरिकहरुको स्वाब परीक्षणको लागि सुर्खेत पठाएका छौं,’ जिल्ला अस्पताल मुगुका चिकित्सक डा. कमल ढुंगानाले भने, ‘त्यसको रिपोर्ट आएपछि मात्र कुन भाइरस हो भन्न सकिन्छ । बिरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ