२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशआर्थिक अभावले ब्लड क्यान्सरका बिरामी बिर्खलाई उपचारमा समस्या

आर्थिक अभावले ब्लड क्यान्सरका बिरामी बिर्खलाई उपचारमा समस्या


जुम्ला—सिंजा गाउँपालिका–२ रनुखानाका बिर्ख विश्वकर्मा अहिले ब्लड क्यान्सरसँग लडिरहेका छन् । रगतमा खराबी आएपछि उपचार गराउँदा चितवनस्थित भरतपुर क्यान्सर अस्पतालले ब्लड क्यान्सर भएको पुष्टि गरेको हो ।

केही समयदेखि नाक, मुख र पिसाबबाट रगत बग्ने समस्या देखिएको थियो । रक्त क्यान्सर पीडित बिर्ख भन्छन्, ‘एक वर्ष अघिदेखि नै मेरो नाक मुखबाट रगत पटक—पटक बगिरहन्थ्यो र पिसाबबाट पनि रगत जान्थ्यो । मैले वास्तै गरेको थिएन । समस्या निकै बल्झिएपछि भरतपुर क्यान्सर अस्पतालमा जाँच गर्दा ब्लड क्यान्सर भएको पुष्टि भयो ।’

उनी करिब दुई सातादेखि भरतपुर क्यान्सर अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । ‘बाच्ने रहर हुँदाहुँदैं आर्थिक अभावले मृत्यु कुर्न बाध्य छु । मलाई यतिबेला सहयोगको खाँचो छ,’ उनले भने ।

२२ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सरसँग लडिरहेका बिर्ख सहयोगी हातको पर्खाइमा छन् । सानैमा बुबाआमा गुमाएका उनको आर्थिक रुपमा पारिवारिक अवस्था पनि निकै कमजोर रहेको छ । सबैको धेरथोर सहयोग पाएको खण्डमा नयाँ जीवन पाउने आशामा आफू रहेको उनले बताए ।

अस्पताल भर्ना भएका बिरामी बिर्ख अहिले आर्थिक जोहो गर्न अस्पतालबाट बाहिर आएर यताउता भौतारिरहेका छन् । अस्पतालले उनलाई आर्थिक जुगाड गर्न १० दिनसम्मको औषधि दिएर पठाएको छ । यद्यपि उनी १९ माघमा पुनः अस्पतालको बेडमै फर्कनु पर्नेछ ।

बेडमा फर्किएपनि आर्थिक नजुटेको खण्डमा उपचार अघि बढ्न सम्भव छैन् । यता भरतपुर क्यान्सर अस्पतालले उनलाई धेरै चिन्ता र तनाव नलिई करिब ६ महिनासम्म नियमित चेक जाँच र औषधी प्रयोग गरेर रिकभर हुने सक्ने आश्वासन दिएको छ । डाक्टरी भाषामा अहिले बिर्खलाई ब्लड क्यान्सरको टू स्टेज मात्र भएको छ । टु स्टेजभन्दा माथि थ्री स्टेजसम्म पुगेपछि अप्रेशन गर्नैपर्ने हुन सक्छ । थ्री स्टेजसम्म नपुग्न दिन कुनै पनि तनाव नलिनसमेत डाक्टरले सुझाएका छन् ।

सानैमा बुबा–आमा गुमाएका बिर्ख विश्वकर्मा दिदी, भिनाको सहारामा हुर्किएका हुन् । आफू करिब दुई वर्ष उमेरको हुँदा बुबाआमाले छाडेर गएको बिर्ख बताउँछन् । उनी भन्छन्, ‘के गर्नु निधारमा लेखेको कुरा भोग्नैपर्ने रहेछ । दुई वर्षको हुँदा आमा बुबाको साथ खोसियो । अहिले कतिखेर श्वासले पनि साथ छोड्छ पत्तै छैन ।’

बिर्ख करिब १० वर्षयता काठमाडौंमा बस्दै आएका छन् । सानैदेखि गायन क्षेत्रमा रुचि राख्ने उनी लोक गीतका सर्जक पनि हुन् । १५ वर्षमै काठमाडौं छिरेका उनले अहिलेसम्म गीत गाउँदै आफ्नो जीवन धानिरहेका थिए ।

तर, अहिले ब्लड क्यान्सर जस्तो रोग लागेपछि उनलाई आर्थिक जुटाउन सकस भैरहेको छ । उपचार गर्दागर्दै आफूसँग भएको सबै रकम सकिएको र सहयोग जुटाउन सबैसँग चिनजान पनि राम्रो नभएकोले आफ्नो उपचारलाई अघि बढाउन सक्दो सहयोग गरिदिन उनले अपिल गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ