२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने

तातोपानी गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने


जुम्ला—तातोपानी गाउँपालिका जुम्लाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको छ । गाउँ सभाको १४ औं अधिवेशनले एमबीबीएस अध्ययन छात्रवृत्ति सम्बन्धी कार्यविधि, २०८० पारित गरेको छ ।

कार्यविधि पारित गरेसँगै गाउँपालिकाले छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको हो ।

चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने एक जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस अध्ययन छात्रवृत्ति उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । एमबीबीएस अध्ययन जम्मा खर्चको ५० प्रतिशत गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्नेछ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार पालिकाले छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि कार्यविधिमा कोषको व्यवस्थापन गरेको छ । ‘चालु आर्थिक वर्षमा पालिकाले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । राजपत्रमा प्रकाशित भएपछि कार्यविधि लागु हुनेछ,’ उनले भने, ‘छात्रवृत्ति यसै चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।’

गाउँपालिका अध्यक्ष संयोजकत्वमा ९ सदस्यीय एमबीबीएस अध्ययन छात्रवृत्ति व्यवस्थापन समिति हुने कार्यविधि उल्लेख गरिएको छ । सदस्यमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास समिति संयोजक, प्रधानाध्यापकबाट एक जना, शिक्षाविद् एक जना महिलासहित तीन जना र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने कार्यविधिमा उल्लेख गरिएको छ ।

छात्रवृत्ति कोष स्थापना

गाउँपालिकाले एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने कार्यविधिमै व्यवस्थापन गरेको छ । एमबीबीएस अध्ययनका लागि मात्रै लक्षित कोष स्थापना गर्ने गरी कार्यविधि गाउँपालिकाले बनाएको अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । ‘कोषमा दातृ निकाय विकास साझेदारी गैरसरकारी संघ संस्था तथा व्यक्तिबाट स्वेछिक रुपमा उपलव्ध गराइने रकम, संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने रकम रहने छ,’ उनले भने ।

कोषको खाता सञ्चालन प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी र आर्थिक प्रशासन शाखा वा निजले तोकेको आर्थिक प्रशासनतर्फको कर्मचारीको संयूक्त दस्तखतबाट हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

दुई वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने

गाउँपालिकाको छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले अध्ययन सम्पन्न भएपश्चात कम्तिमा दुई वर्षसम्म गाउँपालिकामै सेवा गर्नुपर्र्ने कार्यविधिमा व्यवस्था गरिएको छ । त्यसका लागि छनोट विद्यार्थीले पालिका समक्ष कबुलियतनामा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भर्ना शुल्क, रजिष्ट्रेशन शुल्क, मासिक शुल्क सम्बन्धित शिक्षण संस्थाको खातामा जम्मा हुने गरी बैकमार्फत भुक्तानी गर्ने कार्यविधिमा व्यवस्थापन गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ