२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं

जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं


जुम्ला—तिला गाउँपालिका–२ लिही गाउँका १७ वर्षीय दिपेश परियारलाई जीबीएस सिन्ड्रोम भएर थलिएका छन् । जीबीएस विश्वमै दुर्लभ मानिएको रोगमध्येको एक हो । जसको उपचारमा लाखौं खर्च हुने गरेको छ ।

विरलै व्यक्तिमा देखिने जीबीएस नामक यो रोग दिपेशलाई लागेपछि उपचारका लागि २३ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । तर, निको भएको छैन । घरमा भएको सबै पैसा खर्च भएपछि अहिले थप उपचारमा आर्थिक समस्या भएको दिपेशका बुबा जनक परियारले बताए । ‘अहिले साहारा फिजियोथेरापी काठमाडौंमा थेरापी विधीबाट उपचार भैरहेको छ,’ उनले भने ।

दिपेशलाई गएको भदौ महिनामा हात र खुट्टा चिलाउने र हिड्न नसक्ने जस्तो लक्षण देखा परेपछि नेपालगंज नर्सिङ होममा उपचारका लागि लगिएको थियो । त्यहाँ रोग निको नभएपछि दिपेशलाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको परियारले बताए ।

‘तीन महिनासम्म चिकित्सकको प्रत्यक्ष निगरानीमा टिचिङमा उपचार पश्चात जीबीएस रोग लागेको थाहा भयो,’ दिपेशका बुवा जनकले भने, ‘रोगको नाम पनि सुनेको थिएन् । छोराका दुवै हात खुट्टा बांगो भएका छन् । हिडडुल गर्न पनि सक्दैनन् । उपचारपछि पहिले भन्दा केही मात्रामा सुधार भएको छ ।’ उनकाअनुसार अहिले आर्थिक अभावका कारण काठमाडौंमा बसेर उपचार गर्न निकै कठिन भएको छ । यो रोग लागेका व्यक्तिहरु निको हुन लामो समय लाग्ने र खर्च पनि धेरै लाग्ने चिकित्सकले जनाएको उनले जानकारी दिए ।

छोराको उपचारका लागि तीनै तहका सरकारसँग सहयोगको अपिल गरेपनि वेवास्ता गरेको उनको गुनासो छ । मृत्युसँग लडिरहेको छोरालाई बचाउन परियारले सबैलाई सहयोगको याचना गरेका छन् । अहिले टिचिङ अस्पतालको अगाडिमा रहेको साहारा फिजियोमा उपचार भइरहेको छ । फिजियोथेरापी गर्दा प्रति दिनको पाँच हजारको दरले खर्च हुने गरेको उनले बताए । ‘हामीलाई खर्च पुर्‍याउन धेरै नै समस्या भएको छ । छोराको चैत १५ गतेदेखि २७ सम्म एसइईको परीक्षा समेत छ । छोराको जीवन बचाउन सहयोगी दाता, निकाय व्यक्ति सबैलाई अपिल गर्दछु,’ जनकले भने ।

चिकित्सकहरुकाअनुसार जीबीएसका लक्षणहरू बालबालिकापिच्छे फरक–फरक हुन सक्छ । यसमा औंला दुख्ने वा सुन्निने, खुट्टा वा हातमा कमजोरी, हिँड्न गाह्रो हुने, चिडचिडापन, श्वास फेर्न गाह्रो हुने तथा अनुहारमा कमजोरी हुन सक्छ । यस्ता लक्षण देखिए तत्काल बालबालिकालाई चिकित्सक कहाँ पु¥याउनुपर्छ । जीबीएस रोग एउटा दुर्लभ विकार हो तर यो कुनै पनि बालबालिकामा हुन सक्छ । यसमा बालबालिकाको लक्षण, उमेर तथा स्वास्थ्य अवस्थाका आधारमा उपचार गरिन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ