२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा भन्छिन्, ‘महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ’

पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा भन्छिन्, ‘महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुन्छ’

‘कर्णालीमा ४२ प्रतिशत विशेषज्ञ दरबन्दी खाली छ’


वीरेन्द्रनगर—पूर्व स्वास्थ्य सचिव एवं स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुधा शर्माले महिला स्वास्थ्य कमजोर भएमा परिवार कमजोर हुने बताएकी छन् । प्रसुती र पितृसत्ता विषयमा विदत् प्रवचन दिन ‘कर्णाली उत्सव कुडा कर्णालीका’मा भाग लिन सुर्खेत पुगेकी डा. शर्माले कर्णालीका महिला पछि परेको खण्डमा देश पनि पछि पर्ने बताइन् ।

‘महिला स्वास्थ्य कमजोर भयो भने परिवार कमजोर हुन्छ,’ उनले भनिन्, ‘कर्णालीका महिला पछि परेको खण्डमा देश पछि पर्नेछ र दिगो विकासको लक्ष्य पूरा हुने छैन ।’

कर्णालीमा पछिल्ला वर्षहरुमा बाल मृत्यदरमा निकै सुधार भएको उनले बताइन् । उनले कुनै बेला जन्मिएका १ हजार जना बालबालिकामा १ सय १९ जना बालबालिका मर्ने कर्णालीको शिशु मृत्युुदरमा निकै सुधार भएको बताएकी हुन् । उनले आङ खस्ने, बालविवाह, मातृमृत्युजस्ता समस्याले महिलाहरु पीडित रहेको बताइन् ।

डा. शर्माका अनुसार दुई वर्ष अगाडि नवजात शिशु मृत्युदर घटेर १ सय जनाबाट २६ जनामा झरेको छ । तर, यो पर्याप्त नभएको उनको भनाइ थियो । ‘देशमा औसत शिशु मृत्युदर १ हजारमा २२ छ,’ उनले भनिन्, ‘वि.सं. २०५३ देखि हालसम्म कर्णालीले राम्रो प्रगति हासिल गरेको छ ।’ यसका लागि महिला शिशा अनिवार्य गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले देशको भविष्य राम्रो बनाउन महिलाको भविष्य राम्रो हुनुपर्ने तर्क गरिन् ।

समग्र देशको तुलनामा कर्णालीमा बाल विवाह सबैभन्दा बढ्ता छ । जसले मातृ मृत्युुदर बढाइरहेको छ । नेपालमा १ लाख गर्भवती आमामध्ये १ सय ५१ आमा मर्ने गरेकामा कर्णाली क्षेत्रमा भने १ सय ७१ आमाको मृत्युु भइरहेको छ । ‘अब सन् २०३० सम्ममा मातृ मृत्युदरलाई ७० मा झार्नु पर्नेछ । अनिमात्र सहशताब्दी लक्ष्य हासिल गर्न सकिनेछ,’ उनले भनिन् ।

तथ्यांकमा सुधार भएर मात्रै आशा गर्नु ठाउँ नरहेको उनको तर्क छ । ‘कुन वर्ग, समुदाय, जातजातिको स्वास्थ्य क्षेत्रमा कतिको पहुँच पुगेको छ । त्यो महत्वपूर्ण हुन्छ,’ उनले भनिन्, ‘यो बहसको विषय हो । पीडित हुनेहरुको स्तर साह्रै कमजोर छ । महिलाहरु बढी छन् ।’

संख्याका हिसाबले स्वास्थ्य संस्थाको राम्रो उपलब्धता भएको कर्णालीमा सेवा प्रवाहको स्तर साह्रै कमजोर भएको डा. शर्माले बताइन् । गर्भावस्थाभन्दा अगाडि रगत बगेको खण्डमा आमा मर्ने सम्भावना अत्याधिक हुने गरेको उल्लेख गर्दै उनले यो अवस्था कर्णालीले युगौंदेखि भोग्दै आएको बताइन् । अब बालिग भएपछि मात्रै विवाह गर्ने, स्तरीय स्वास्थ्य उपचार खोज्ने र शिक्षा दिन तत्पर हुनपर्ने उनको भनाइ छ ।

‘हामी बेला-बेला चुकिरहेका छौं । किन चुक्यौं भन्ने प्रश्न महत्वपूर्ण हो । जब हामी चुकेको प्रश्न नै बुझ्न सक्दैनौं तब हामी कहिले अगाडि बढ्दैनौं,’ डा. शर्माले थपिन् ।

नेपालमा गर्भावस्थामा भएदेखि नै छोरीको हत्या भइरहेका तथ्यांकहरु रहेको उनको भनाइ थियो । प्रवचनको क्रममा उनले पेश गरेको १२ जिल्लाको तथ्यांकअनुसार नेपालका १२ जिल्लामा १ सय छोरी जन्मिँदा १ सय १० जना छोरा जन्मिरहेका छन् । ‘छोराछोरी बराबर जन्मिनुपर्ने समाजमा छोराको चाह बढ्दैंछ । यसले देशको चित्र कस्तो बन्ला? हामी कहाँ पुगौंला ?,’ उनको प्रश्न थियो ।

देशको आधा जनसंख्या ३० मिनेमाट स्वास्थ्य संस्थामा पुग्ने गरेको उनले बताइन् । ‘देशको आधा जनसंख्यालाई स्वास्थ्य संस्थासम्म पुग्न ३० मिनेटमा लाग्छ । तर, कर्णालीका जम्मा ३० प्रतिशत जनता मात्रै ३० मिनेटमा स्वास्थ्य संस्थामा उपचारका लागि पुग्न सक्छ,’ डा. शर्माले भनिन्, ‘अब कर्णालीले सकारात्मक प्रतिस्पर्धा गर्नुपर्छ । यसले अगाडि बढ्ने र संघर्ष गर्ने बाटो पहिल्याउन सक्छ । अनि मात्रै कर्णाली जित्न तत्पर हुन्छ ।’

स्वास्थ्य समस्या महिलामा बढी रहेकाले यसले समाजलाई बढी असर पारेको उनको भनाइ थियो । महिलालाई रोग लाग्न नदिन समुदायको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै डा. शर्माले नेपालमा सबै जनतालाई आधारभूत स्वास्थ सेवा निःशुल्क दिने कानुनी प्रावधान रहेको बताइन् । ‘यसलाई प्रभावकारी बनाउन जरुरी छ,’ उनले भनिन् ।

कर्णालीमा परिवारको १३ प्रतिशत खर्च स्वास्थ्य सेवाका लागि भइरहेको बताउँदैं जायजेथा बेचेर उपचार गर्नुपर्दा गरिब झन् गरिब बन्दै गएको उनले बताइन् । ‘सरकारको बजेटको ठूलो परिणाम अनावश्यक सामग्री खरिदमा गइरहेको छ,’ उनले भनिन्, ‘तर, कर्णालीमा ४२ प्रतिशत विशेषज्ञ दरबन्दी खाली छ । हरेक सेवामा प्रभावकारीता जरुरी छ ।’

उनले पछिल्लो समय सुधार राम्रो भएपनि यसको गति बढाउनुपर्ने उनको भनाइ छ । यसका लागि समतामूलक स्वस्थ समाजको निर्माण गर्न चाहने दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्वको खोजी हुनुपर्ने उनको दृष्टिकोण छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ