२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला १० हजार बालबालिकालाई दादुरा—रुबेला विरुद्धको खोप लगाइने

जुम्ला १० हजार बालबालिकालाई दादुरा—रुबेला विरुद्धको खोप लगाइने

१६० खोप केन्द्र निर्धारण, ९५ जना जनशक्ति परिचालन


जुम्ला—जुम्लाका १० हजार बढी बालबालिकालाई दादुरा—रुबेला विरुद्धको खोप लगाइने भएको छ । १३ फागुनबाट जुम्लाका ८ वटा स्थानीय तहका १० हजार ७ जना बालबालिकालाई दादुरा—रुबेलाको खोप लगाइने भएको हो ।

जिल्लाका १५ महिनामाथि र पाँच वर्षमुनिका बालबालिकाका लागि दुई चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए ।

राष्ट्यि खोप कार्यक्रमअन्तर्गत आगामी सन् २०२६ सम्म नेपाललाई दादुरा—रुबेलामुक्त नेपाल घोषणा गर्ने लक्ष्यनुसार खोप अभियान सञ्चालन हुन लागेको प्रमुख सापकोटाले जानकारी दिए ।

१६० खोप केन्द्र निर्धारण, ९५ जना जनशक्ति परिचालन

खोप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुने छन् । ८ पालिकामा १ सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ । ‘खोप उमेर समूहका कुनै पनि बालबालिका नछुटुन भन्नका लागि तयारीलाई मजबुत बनाइएको छ,’ सापकोटाले भने, ‘दादुराको खोप अनिवार्य लगाउनुपर्छ ।’

जुम्लाका ८ पालिकामध्ये पहिलो चरणमा चन्दननाथ नगरपालिका, गुठिचौर,पातारासी र तातोपानी गाउँपालिकामा १३ देखि १८ फागुनसम्म गतेसम्म र दोस्रो चरणमा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा १९ देखि फागुन अन्तिमसम्म खोप अभियान संचालन हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिए ।

१६ प्रतिशत खोपबाट बञ्चित

सरकारी तथ्यांकनुसार खोप उमेर समूहका १६ प्रतिशत बालबालिका अझै नियमित खोपबाट बन्चित रहेका छन् । हरेक ४—५ वर्षको बीचमा दादुरा रुबेलाको प्रकोप फैलिने गरेको छ । नियमित खोपबाट वञ्चित बालबालिका दादुरा—रुबेलाको बढी जोखिममा हुने गरेका छन् ।

खोप अभियानअन्तर्गत नियमित खोप पाउनबाट छुटेका बालबालिकाको पहिचान गरेर खोपसमेत लगाइने भएको छ । बच्चा नजिन्मदै भारत जाने, जिल्ला बाहिर जाने, खोप लगाउन डराउनेजस्ता समस्याले नियमित खोपबाट प्रायः बालबालिका छुट्ने गरेका छन् ।

नेपाल सरकारले सन् २०२३ मै नेपाललाई दादुरा—रुबेला निवारण गर्ने लक्ष्य लिएपनि सफल हुन सकेन् । पुनः नेपाललाई सन् २०२६ सम्म दादुरा—रुबेला निवारण गर्ने घोषणाका लागि फागुन १३ गतेदेखि देशभर खोप अभियान थालिएको छ ।

जिल्लामा बुधबार आयोजित जिल्लास्तरीय खोप समन्वय समिति तथा संचारकर्मीको अभिमुखीकरणले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले लक्ष्यनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । ‘रोग लाग्न दिनुभन्दा नलाग्न दिनुनै उत्तम हुन्छ । खोप उमेर समुहका कोही बालबालिका नछुट्ने गरी खोप अभियानलाई प्रभावकारी बनाउन जरुरी छ,’ उनले भने ।

बढीभन्दा बढी बालबालिकालाई खोपको पहुँचमा पुराउन प्रचार प्रशारलाई व्यापक बनाउनु पर्नेमा अभिमुखीकरणमा सहभागीहरुले जोड दिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ