२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पाएन ११ महिनादेखि स्वास्थ्य बिमा भुक्तानी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पाएन ११ महिनादेखि स्वास्थ्य बिमा भुक्तानी


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले करिब एक वर्षदेखिको बिमा भुक्तानी पाएको छैन । साढे ११ महिनामा करिब पाँच करोड बराबरको बिमा रकम भुक्तानी नपाएको प्रतिष्ठानले जनाएको छ ।

स्वास्थ्य बिमाअन्तर्गतका बिरामीको उपचार भइसकेको तर स्वास्थ्य बिमा वोर्डबाट पैसा नआएपछि साढे ११ महिनामा ३० हजार बढी बिरामीलाई करिब पाँच करोड बराबरको उपचार भएको छ ।

अस्पतालमा आउने बिमित बिरामीले आवश्यक औषधि तथा उपचार उपभोग गरी सकेका छन् । खर्च भएको रकम भुक्तानीका लागि दाबी पेश भएपनि विगत ११ महिनादेखिको चार करोड ९४ लाख ५६ हजार ७६१ रुपैयाँ स्वास्थ्य बिमा वोर्डबाट प्रतिष्ठानलाई आउन बाँकी रहेको प्रतिष्ठानका लेखा अधिकृत मकेन्द्र शाहीले बताए ।

गत बैशाखदेखि स्वास्थ्य बिमा उपचारको पैसा प्रतिष्ठानले पाएको छैन् । ‘गत बैशाखदेखि १६ फागुनसम्मको अवधिसम्म ३० हजार बढी बिमितको उपचार बापत भुक्तानी आउन बाँकी छ,’ शाहीले भने, ‘सिमित स्रोतले प्रतिष्ठान संचालनमा चुनौती भइरहेको बेला पाँच करोड बराबरको बिमा रकम पाउन बाँकी छ ।’

गत बैशाखदेखि साउनसम्म थोरै—थोरै भुक्तानी आएपनि भदौ महिनादेखि १६ फागुनसम्मको भुक्तानी नै नआएको लेखा अधिकृत शाहीले जानकारी दिए । प्रतिष्ठानका मेडिकल रेकर्डर मेगराज बुढाका अनुसार गत बैशाखदेखि ११ फागुनसम्म मात्रै ३० हजार ६ सय ३४ जना बिमित बिरामीको उपचार भएको छ । त्यसमध्ये बैशाखदेखि साउनसम्म थोरै—थोरै भुक्तानी आएपनि भदौयता बिमाको बजेट भुक्तानी आएको छैन ।

‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ महिनामा ३० हजार बढी स्वास्थ्य बिमितका बिरामीलाई करिब ५ करोड रुपैयाँको उधारो उपचार गरेको छ । स्वास्थ्य बिमा बोर्डले समयमै भुक्तानी नदिँदा समस्या भएको प्रतिष्ठानले जनाएको छ,’ उनले भने ।

कर्णालीका १० जिल्लासहित सुदूरका ३ गरी १३ जिल्लामा सेवा दिइरहेको प्रतिष्ठानलाई संघीय सरकारले पर्याप्त बजेट नदिँदा, सेवा प्रवाह, अध्ययन तथा अनुसन्धानका काम प्रभावित हुँदै आएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महत बताउँछन् । ‘स्वास्थ्य बिमा बोर्डले समयमै पैसा पठाउँदैन् । करोडौको उधारो उपचार गर्न बाध्य छौं । बिमाकै कारण नागरिक स्वास्थ्य सेवाको पहुँचमा छन्,’ उनी भन्छन्, ‘वार्षिक रुपमा नवीकरण गरिरहेका बिमित बिरामीलाई उपचार नदिने कुरा पनि भएन् । तर, बोर्डले समयमै भुक्तानी नगर्दा समस्या भएको छ ।’

पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको भरोसा बनेको प्रतिष्ठानले सरकारबाट नै बजेट पर्याप्त पाएको छैन् । त्यसैमाथि स्वास्थ्य बिमा बोर्डले बिमितको उपचार भइसकेको करोडौं रुपैयाँ भुक्तानी महिनौदेखि नदिँदा प्रतिष्ठान दोहोरो मारमा परेको छ ।

कुन महिना कति बिरामीको उपचार

प्रतिष्ठानको रेकर्डनुसार बैशाखदेखि १६ फागुनसम्म ३० हजार ६३४ बिमित बिरामीको उपचार बापत प्रतिष्ठानले करिब पाँच करोड पाउन बाँकी छ । बैशाख महिनामा २११ बिरामीको ६५ हजार २७७ रुपैयाँ, जेठमा ५२९ विरामीको एक लाख ६० हजार ७०६ रुपैयाँ, असारमा ८३४ बिरामीको चार लाख ३५ हजार ५५१ रुपैयाँ, साउन महिनामा ५४१ बिरामीको पाँच लाख ३५ हजार ५१९ रुपैयाँ प्रतिष्ठानले भुक्तानी पाउन बाँकी छ ।

साउन सम्म थोरै थोरै भुक्तानी आउने गरेपनि भदौ महिनादेखि हालसम्म बिमाको बजेट नआएको मेडिकल रेर्कडर बुढाले जानकारी दिए । जसमा भदौ महिनामा ६ हजार ४०८ जना बिमित बिरामीले उपचार लिएको ९४ लाख ९८ हजार १७४ रुपैयाँ, असोजमा चार हजार ९९० बिरामीको ९४ लाख ६६ हजार २४२ रुपैयाँ, कार्तिकमा ३५ सय १० जना बिरामीको ६० लाख ७७ हजार ९४५ रुपैयाँ स्वास्थ्य बिमा बोर्डबाट प्रतिष्ठानले भुक्तानी पाउन बाँकी रहेको छ ।

त्यस्तै, मंसिरमा ३५ सय ९६ बिरामीको ६४ लाख ९९ हजार १९४ रुपैयाँ, पुसमा ४५ सय ८१ जना बिरामीको ७७ लाख ६९ हजार १५५ रुपैयाँ, माघमा ३५ सय ५ जना बिरामीको ५९ लाख रुपैयाँ र १६ फागुनसम्म १९ सय २९ जना बिरामीको ३० लाख ४८ हजार ७९८ रुपैयाँ गरी ११ महिनामा बिरामी ३० हजार ६३४ जनाको उपचार गरेबापत प्रतिष्ठानले पाँच करोड रुपैयाँ भुक्तानी पाउन बाँकी देखिन्छ ।

एक महिना यता बिमितले कुल उपचार खर्चको १० प्रतिशत स्वयंमले तिर्ने गरेदेखि बिमित उपचारको संख्या घटेको देखिन्छ । बिमाको दुरुपयोग बढेपछि १० प्रतिशत बिमितले तिर्ने व्यवस्था गरिएको थियो ।

स्वास्थ्य बिमा कार्यालय जुम्लाको तथ्यांकनुसार हालसम्म जुम्लाका ९० हजार २ सय नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन् । १० प्रतिशत आफै तिर्नुपर्ने व्यवस्थापछि उपचार गराउनेको संख्या केही मात्रामा घटेपनि दर्ता नवीकरणमा केही असर नपरेको बिमा कार्यालयका प्रमुख प्रेम भण्डारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य बिमामा नागरिकको पहुँच बढ्दै गएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ