२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा शंकास्पद क्षयरोगीको खकार संकलन न्यून

जुम्लामा शंकास्पद क्षयरोगीको खकार संकलन न्यून


जुम्ला— नेपाल सरकारले सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ । क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम सञ्चालन भएपनि स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट शंकास्पद क्षयरोगीको खकार संकलन र परीक्षण न्यून हुने गरेको छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सिकिस्त भएर आएका बिरामीको खकारसहित अन्य ल्याव परीक्षणबाट मात्रै क्षयरोग पत्ता लाग्ने गरेको छ । उनले जिल्लास्थित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । ‘स्थानीय स्वास्थ्य संस्थाले क्षयरोग शंकास्पद व्यक्तिको खकार संकलन र परीक्षण न्यून हुने मुख्य समस्या बनेको छ,’ उनले भने ।

यस्तै, क्षयरोग पत्ता लागेका व्यक्ति पनि औषधि खाँदै बीचमा हराउने, रोजगारीको सिलसिलामा भारत जाने प्रचलनले उपचार पूरा नहुने गरेको उनले बताए । उनले भने, ‘क्षयरोग नियन्त्रणको लागि बजेट कमी, औषधि प्रतिरोधी क्षयरोगका बिरामीको संख्या बढ्नु र उच्च जोखिममा रहेका परिवार, समुदायको खकार परीक्षण स्क्रिनिङ न्यून हुनुजस्ता समस्याले क्षयरोग फैलिने झन डर छ ।’

गत वर्ष तीन जनाको मृत्यु

गत वर्ष जुम्लामा क्षयरोगले तीन जनाको मृत्यु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार चन्दननाथका दुई जना र पातारासी गाउँपालिकाको एक जनाको क्षयरोगले मृत्यु भएको हो ।

गत वर्षको तथ्यांकअनुसार जुम्लामा ५३ जना महिला र ५३ जना पुरुषमा क्षयरोग देखिएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए । कनकासुन्दरीमा ६ जना, गुठीचौरमा ८ जना, सिंजामा ९ जना, हिमामा १२ जना, तिलामा १३ जना, तातोपानीमा १४ जना, पातारासीमा १८ जना र चन्दननाथमा २६ जना क्षयरोगी रहेको तथ्यांक छ ।

चालु आर्थिक वर्षको साउन देखि फागुन मसान्तसम्म २१ जना पुरुष र २४ जना महिलामा क्षयरोग देखिएको छ । सिंजामा ३ जना, गुठीचौरमा ४ जना, तातोपानीमा ६ जना, तिलामा ६ जना, पातारासीमा ७ जना, कनकासुन्दरीमा ७ जना, हिमामा ९ जना र चन्दननाथका १० जनामा क्षयरोग देखिएको तथ्यांक छ ।

दुई हप्ताभन्दा बढी खोकी लाग्ने, साँझपख ज्वरो आउने र दुब्लाउँदै जाने क्षयरोगको लक्षण हो । ‘क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एचाईभी र मधुमेहका रोगीलाई क्षयरोग छिटो संक्रमण हुने हुन्छ । श्वास–प्रश्वास, खोक्दा, हाच्छयुँ गर्दा, जहाँ पायो त्यही थुक्दा, बोलचाल गर्दा क्षयरोगका जिवाणु हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ,’ प्रमुख सापकोटाले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ