२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य कार्यालय दैलेखमा लाखौंका स्वास्थ्य उपकरण प्रयोगबिहीन

स्वास्थ्य कार्यालय दैलेखमा लाखौंका स्वास्थ्य उपकरण प्रयोगबिहीन

अस्पतालका अध्यक्ष भन्छन्, ‘उपकरण संचालन गर्न केन्द्र र प्रदेश सरकारले चासो देखाएनन्’


वीरेन्द्रनगर—स्वास्थ्य सेवा कार्यलय दैलेख जिल्ला अस्पतालमा खरिद गरिएका लाखौका स्वास्थ्य उपकरण प्रयोगबिहीन अवस्था रहेका छन् । गम्भीर खालका बिरामीको उपचारका लागि भन्दै स्वास्थ्य सेवा कार्यालय दैलेखमा चार वर्षअघि खरिद गरिएका लाखौंका स्वास्थ्य उपकरण प्रयोगबिहीन भएका हुन् ।

कोभिड—१९ महामारीका बेला खरिद गरिएका भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण सञ्चालनका लागि जनशक्ति अभाव देखाउँदै थन्काइएको छ । वि.सं. २०७७ वैशाखमा ४६ लाख ५० हजार रुपैयाँमा खरिद गरिएका उपकरण जनशक्ति नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य व्यवस्थापक डा. धर्मराज रेग्मीले बताए ।

‘भेन्टिलेटरलगायतका उपकरण सञ्चालनका लागि ऐनेथेसिष्ट आवश्यक हुन्छ,’ उनले भने, ‘ऐनेथेसिष्ट दैलेख नआएका कारण भेन्टिलेटरलगायतका उपकरण सञ्चालनमा आउन सकेका छैनन् ।’

जिल्लामै आईसीयुसहितको भेन्टिलेटर सञ्चालनमा आउने भएपछि खुसी बनेका नागरिक चार वर्षदेखि उपकरण सञ्चालनको पर्खाइमा छन् । आफ्नै ठाउँमा सबै सुविधा छ भन्ने सुन्दा खुसी भएका यहाँका बासिन्दालाई उपकरण प्रयोगमा नआउँदा थप उपचार गर्न बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको छैन ।

जिल्लामा लाखौंका भेन्टिलेटर छन् तर गम्भीर खालका विरामीलाई अहिले पनि सुर्खेत वा नेपालगन्ज रिफर गर्नुपर्ने बाध्यता छ ।

भेन्टिलेटरसहितका उपकरण जनशक्ति नहुँदा प्रयोगमा आउन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले बताए । ‘जनशक्ति परिपूर्तिका लागि बारम्बार विज्ञापन खोलिएको भएपनि दैलेखमा सेवा सुविधा कम देखाउँदै कोही आउन नमान्ने समस्या रहेको छ,’ उनले भने, ‘हामीले अस्पतालकातर्फबाट भेन्टिलेटरलगायतका उपकरण सञ्चालनका लागि बारम्बार विज्ञापन खोलिसकेका छौं । यहाँ कोही आउन मान्दैनन् ।’

संघीय सरकार र प्रदेश सरकारसँग जनशक्ति व्यवस्थापन गरिदिन पहल गर्दै आएकोको अध्यक्ष सुवेदीले बताए । ‘कोभिड—१९ का समयमा आएका कुनै पनि उपकरण सञ्चालनमा छैनन्,’ उनले भने, ‘उपकरण सञ्चालनका लागि प्रदेश सरकारसँग पहल गर्दा कुनै चासो देखाएन ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ