२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिमाल उक्लिदैं औलो, कर्णालीका हिमाली गाउँमा भेटिए औलोका बिरामी

हिमाल उक्लिदैं औलो, कर्णालीका हिमाली गाउँमा भेटिए औलोका बिरामी


वीरेन्द्रनगर—जलवायु परिवर्तन, तापमान भएको वृद्धिजस्ता कारणले औलो हिमाल उक्लिन थालेको पाइएको छ । तराई र गर्मी क्षेत्रमा बढी देखिने औलोका बिरामी अहिले कर्णालीका हिमाली जिल्लामा समेत देखिन थालेका छन् ।

पहिला तराई र चुरे क्षेत्रमा देखिने औलो रोग अहिले हिमाली जिल्लामा देखिन थालेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कर्णालीमा चालू आर्थिकको फागुन महिनासम्म देखिएका २४ औलो रोगका बिरामीमध्ये सुर्खेतमा २० जना, दैलेख दुई जना र कालिकोट हुम्लामा एक/एक जनामा देखिएको स्वास्थ्य निर्देशनालयका औलो रोग फोकल पर्सन श्यामप्रसाद आचार्यले जानकारी दिए । ‘अरु जिल्लामा देखिएका औलो रोगका बिरामीहरु आयतीत हुन्,’ उनले भने, ‘हुम्लामा देखिएको औलो रोगका बिरामी त्यही उत्पन्न भएको हो ।’

कर्णालीका हिमाली जिल्लामध्ये पाँच वर्षको तुलना गर्दा मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका आर्थिक वर्ष २०७६/०७७ एक जनामा, सोरु गाउँपालिकामा आर्थिक वर्ष २०७७/०७८ मा दुई जनामा, आर्थिक वर्ष २०७८/०७९ मा सात जनामा, आर्थिक वर्ष २०७९/०८० मा एक जनामा, खत्याड गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक जनामा र आर्थिक वर्ष २०७७/०७८ मा एक जनामा औलो रोग देखा परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, हुम्लाको चंखेली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक जनामा, अदानचुली गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा तीन जनामा, आर्थिक वर्ष २०७७/०७८ मा दुई जनामा, आर्थिक वर्ष २०७८/०७९ मा एक जनामा, आर्थिक वर्ष २०७९/०८० मा दुई जनामा र ताजाकोट गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा छ जनामा, आर्थिक वर्ष २०७७/०७८ मा पाँच जनामा, आर्थिक वर्ष २०७८/०७९ मा सात जनामा, आर्थिक वर्ष २०७९/०८० मा पाँच जना र चालु आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएको छ ।

कालिकोटका खाँडाचक्र नगरपालिका, नरहरिनाथ गाउँपालिका र पचालझरना गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा एक–एक जना औलो रोगका बिरामी भेटिएको निर्देशनालयले जनाएको छ ।

यी हिमाली जिल्लामा औलो रोगका बिरामी भेटिनु र हुम्लामा चालु आर्थिक वर्षमा भेटिएको बिरामी त्यही उत्पादन भएको भेटिनुले हिमाली जिल्लामा औलो रोगको उच्च जोखिममा रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले बताए । ‘पछिल्लो समयमा कर्णालीका हिमाली जिल्लामा औलोको उच्च जोखिममा रहेको छ,’ उनले भने, ‘यसको नियन्त्रणका लागि सबै समुदाय सरोकारवाला लाग्न जरुरी रहेको छ ।’

कर्णालीका औलो रोगका उच्च जोखिममा रहेका १० वडा रहेको त्यहाँ बसोवास गर्ने जनसंख्या ७७ हजार ६८० रहेको छ । मध्यम जोखिम ३५ वडा रहेको त्यहाँ बसोवास गर्ने जनसंख्या ४ लाख २८ हजार ४१४ रहेको निर्देशनालयले जनाएको छ ।

कर्णालीमा घट्दो औलो

आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्ममा देशभर ५ सय २९ जना औलोका बिरामी भेटिएका छन् ।  सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २२१ जना, सुदूरपश्चिम प्रदेशमा १५० जना, मधेश प्रदेशमा ६५ जना, बागमती प्रदेशमा ४८ जना, कर्णाली प्रदेशमा २४ जना, कोशी प्रदेशमा १२ जना र गण्डकी प्रदेशमा ९ जना औलो रोगको बिरामी भेटिएका छन् ।

कर्णालीमा पछिल्लो समयमा औलो रोगका बिरामी घट्दै गएका छन् । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार कर्णालीमा पछिल्लो समयमा औलोका बिरामी घट्दै गएका हुन् ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका औलो रोग फोकलपर्सन श्यामप्रसाद आचार्यले कर्णालीमा आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म २४ जना औलो रोगका बिरामी देखिएको बताए । ‘औलो रोग अहिले नियन्त्रणमा नै आइसकेको छैन,’ उनले भने, ‘औलो रोग घट्ने क्रममा रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ