२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण

जुम्लाको सिंजामा विशेष स्वास्थ्य शिविर, २३ सय बढीको स्वास्थ्य परीक्षण


जुम्ला— जुम्लाको सिंजा गाउँपालिका– ३ धितालिहीमा तीन दिने निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको सहजीकरण तथा ब्रिटिस गोर्खाज् नेपाल कादुरीको आयोजनामा १५ देखि १८ बैशाखसम्म शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरमा महिला एक हजार ४४८ जना र पुरुष ९०१ जना गरी दुई हजार ३४९ जनाको स्वास्थ्य परीक्षण भएको छ । सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूतिरोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए ।

‘१०१ जना महिला र ८६ जना पुरुष गरी १८७ जनाले प्रयोगशाला सेवा लिएका छन्,’ उनले भने । शिविरमा ५१३ जना महिलाले पाठेघर चेकजाँच गरेका छन् । ७ जना महिलाको पाठेघरमा रिंग राखिएको छ । ५५ जना महिलाले भिआईए सेवा लिएको संयोजक रोकायाले बताए ।

१६५ जना नागरिकले मुटु जाँच सेवा लिएका छन् । यसमा महिला ७१ जना र पुरुष ९४ जना रहेको जनाएको छ । ७३६ जना महिला र एक हजार ३२६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरंग सेवा लिएका छन् ।

यस्तै, ४४८ जना पुरुष र एक हजार ११० जना महिला गरी एक हजार ५५८ जनाले शिविरमा आँखा चेकजाँच गराएका छन् । यसमध्ये २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको स्वास्थ्य संयोजक रोकायाले बताए । उनले भने ४११ जना पुरुष र ८६९ जना महिला गरी एक हजार २८० जनालाई चस्मा वितरण गरिएको छ ।

२२८ जना पुरुष र ३८८ जना महिलाले डेन्टल सेवा लिएका छन् । यस मध्ये ५३४ जनाको दात निकाएको छ । २७ जनाले आरसिटी गर्ने काम गरेका छन् । १२० जनाको दात सफा गरिएको जनाएको छ ।

सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान नसकेका कारण रोग पालेर बस्ने भएकाले शिविर संचालन गरिएको हो । ‘यस्ता एकीकृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला—बेला सञ्चालन गर्ने गरेको छ । यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन्,’ उनले भनिन्, ‘एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन् ।’

स्थानीयस्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलव्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘सिंजा भेगमा तीन वटा पालिका रहेका छन् । यो क्षेत्रको केन्द्र विन्दु सिंजा गाउँपालिकाको धितालिहीमा शिविर सञ्चालन गरिएको हो । यो क्षेत्रका हिमा, कनकासुन्दरी र सिजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ