२०८१ वैशाख २७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१५ बैशाखपछि लकडाउन, पर्ख र हेर नीतिमा सरकार

१५ बैशाखपछि लकडाउन, पर्ख र हेर नीतिमा सरकार


काठमाडौं–कोभिड–१९ को संक्रमण विश्वव्यापी भएसँगै अघिल्लो महिनाको ११ गतेबाट सरकारले नेपामा पनि लकडाउन सुरु गरेको थियो । तेस्रो पटक थपेको लकडाउनको मिति १५ बैशाखमा सकिनै लाग्दा जनमानसमा लकडाउन झन कडा होला या केही नरम होला भन्ने विषयमा कौतुहलता जागेको छ ।

पछिल्लो पटक थपिएको लकडाउनको समयावधी सकिन तीन दिन बाँकी रहँदा सरकार अझै हेर र पर्खको नीतिमा रहेको देखिन्छ । सरकारले ठोस योजना बनाई नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको भनाइबाट पनि बुझ्न सकिन्छ । ‘अहिले नै के गर्ने भन्ने निष्कर्षमा पुगी सकिएको छैन्,’ हेल्थ आवाजसँग उनले भने, ‘हामीले कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समितिबाट अब कसरी अगाडि बढ्ने भन्ने सुझाव माग गरेका छौं ।’

मन्त्री ढकालका अनुसार शनिबार बस्ने उच्चस्तरीय समितिको बैठकले यस विषयमा केही निर्णय लिनेछ । तर, त्यो भन्दाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो अवस्थालाई विश्लेषण गरी विज्ञहरुबाट आएको सुझाव उच्चस्तरीय समितिमा पेश गर्ने तयारी गरिरहेको छ । त्यसैका आधारमा लकडाउन खुकुलो हुने या झन कडा हुने निर्धारण हुन्छ ।

मन्त्रालय स्रोतका अनुसार अबको तीन दिनमा कोभिड–१९ को परीक्षण दायरा दैनिक १५ सय पु¥याएर त्यसको नतिजा हेर्ने र त्यहीअनुसार क्षेत्र छुट्याएर लकडाउनलाई खुकुलो पार्दै लानुपर्ने सुझाव तयार भैरहेको छ । यसैलाई मध्यनजर गरेर स्वास्थ्य सेवा विभागको नेतृत्वमा शुक्रबार प्रदेश २ का सबै जिल्लामा शंकास्पदको स्वाब संकलन गर्न ६ बटा टोली खटिएका छन् ।

केही दिनअघि झण्डै डेढ दर्जन विज्ञहरु बोलाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको छलफलमा पनि विज्ञहरुले जाँच बढाएर संक्रमणको आधारमा अति जोखिम, मध्यम जोखिम र सामान्य जोखिम क्षेत्र छुट्याएर लकडाउनलाई सोहीअनुसार लागु गर्न सुझाव दिएका थिए ।

शुक्रबारको भेटमा स्वास्थ्यमन्त्री ढकालले धेरै विकल्प सल्लाह सुझावमा आएको र त्यसमध्ये व्यवहारिक हुने विकल्पलाई उच्चस्तरीय समितिमा प्रस्तावको रुपमा मन्त्रालयले लाने बताए । उनले संक्रमण देखिएको ठाउँलाई कडाइ गरेर अन्य ठाउँमा उच्च निगरानी गर्दै लकडाउनलाई केही सहज बनाउने विषयमा पनि छलफल हुनसक्ने जानकारी दिए ।

‘संक्रमणको अवस्था हेरी जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडल परिर्वतन गर्ने विषयमा पनि छलफल हुन सक्छ,’ उनले भने, ‘तर, यही नै गर्ने भनेर ठ्याक्कै मोडल भने बनिसकेको छैन ।’ मन्त्री ढकालले १५ बैशाखपछि पनि सीमा नाका र अन्तर्राष्ट्रिय उडान भने तत्काल खोल्ने सरकारको कुनै योजना नरहेको बताए । ‘अहिलेसम्म सरकारले लिएको नीतिकै कारण हामीले ठूलो जोखिम व्यहोर्नु परेको छैन्,’ उनले भने, ‘अव पनि सरकारले कम जोखिम हुने गरी नै निर्णय लिनेछ ।’

कोभिड–१९ नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले गठन गरेको इन्सिडेन्ट कमाण्ड सिस्टमको नेतृत्व गरिरहेका योजना अनुगमन मुल्यांकन महाशाखाका प्रमुख डा. गुणराज लोहनी कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समितिले तय गरेको रणनीतिका आधारमा स्वास्थ्य मन्त्रालयले अबको कोभिड–१९ नियन्त्रण रणनीति बनाउने बताउँछन् । ‘लकडाउनको स्टाटेजी बनाउन कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समितिमा हामीले अनुरोध गरेर पठाइसकेका छौं,’ उनले भने, ‘त्यहाँ बन्ने लकडाउनको रणनीतिअनुसार हामी कोभिड–१९ को रोकथामका लागि काम गर्छौ ।’

पछिल्लो समय कोभिड–१९ परीक्षणको दायरा बढाएको र त्यसलाई अझ व्यपक बनाई तयारी अवस्थामा रहेको डा. लोहनी बताउँछन् । ‘परीक्षणका आधारमा हटस्पोर्ट छुट्याई त्यसअनुसार काम गर्ने तयारीमा छौं,’ उनले भने, ‘सबै कुरालाई हेरेर लकडाउनको मोडल परिर्वतन पनि गर्नुपर्ने हुनसक्छ ।’

कोभिड–१९ सँग लड्न चार चरणको तयारी

सरकारले कोभिड–१९ सँग लड्न चार चरणको तयारी गरेको डा. लोहनीले बताए । पहिलो चरणअन्तर्गत अहिले सरकारले काम गरिरहेको छ । जसमा कोभिड–१९ पोजेटीभ देखिएका सबैलाई कोभिड अस्पतालमा ल्याएर निगरानी र उपचार गर्ने काम भैरहेको छ । हालसम्म कोभिड–१९ देखिएका ४८ जनामा संक्रमणको कुनै लक्षण नदेखिएतापनि अस्पतालमानै राखेर निगरानी गर्ने ।

दोस्रो रणनीतिमा यदि भोलि संक्रमित थपिएर धेरै भएमा लक्षण नदेखिएकालाई घरमै आइसोलेसनमा बस्न भन्ने र लक्षण देखिएकालाई मात्र अस्पतालमा ल्याएर निगरानी तथा उपचार गर्ने ।

तेस्रो रणनीति कोभिड–१९ पोजेटीभ देखिएकामध्ये अस्पताल भर्ना हुनुपर्नेलाई कोभिड–१९ अस्पतालमा भर्ना गरेर उपचार गर्ने र अन्यलाई घरमै क्वारेनटाइनमा राख्ने ।

चौथो रणनीतिमा यदि कोभिड १९ अस्पतालमा भर्ना गरी उपचार गर्न नपुगेमा अन्य सबै अस्पतालमा कोभिड–१९ को उपचार गर्ने ।

यसरी चार चरणको लागि तयार गरिएको योजनाअनुसार अहिले मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई तालिम दिने, सम्भावित संक्रमितहरुको लिस्टीङ्ग गरी जाचपड्ताल गर्ने, कोभिड–१९ नियन्त्रण उपकरणहरु तयारी अवस्थामा राख्ने काम गरिरहेको उनले बताए ।

 

थप पढनुहोस:

लकडाउन खाेल्ने बहस १ः हेल्थ इमर्जेन्सीबीच अब सरकारले के गर्नुपर्छ ?


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ