२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविज्ञ भन्छन्, ‘निजी अस्पताललाई आरडिटी परीक्षण गर्न दिएर कोरोना फैलाउने लाइसेन्स बाँडियो’

विज्ञ भन्छन्, ‘निजी अस्पताललाई आरडिटी परीक्षण गर्न दिएर कोरोना फैलाउने लाइसेन्स बाँडियो’


काठमाडौं-सरकारले सामुदायिक तथा निजी अस्पताललाई काेभिड १९ जाच्न ¥यापिड डाइग्नोष्टीक (आरडिटी) किट प्रयोग गर्न दिने निर्देशिका जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठमा मन्त्रीस्तरीय निर्णय गरी सो निर्देशिका जारी गरेको हो ।

जारी गरिएको सो निर्देशिकाको पाँच नम्बर बुँदामा ‘आरडिटी परीक्षण अस्पताल प्रयोजनका लागि मात्र प्रयोग गर्ने’ उल्लेख छ । यसैगरी सोही निर्देशिकाको ५ नम्बर बुँदामा ‘आरडिटी गर्दा पोजेटिभ देखिए आरटी पिसिआर गर्नुपर्ने’ उल्लेख छ ।

निर्देशिकामा उल्लेखित बुँदाले जनतामा झनै अन्योल सृजना गरीदिएको छ । एक त ठूलो समूहमा अनुसन्धानका लागि उपयोगी मानिने किटलाई अस्पतालमा रोग निदानका लागि प्रयोग गर्न अनुमति दिइएको छ भने अर्को बुँदाले संक्रमण निको भइसकेको अवस्थामा वा निको हुँदै गएको अवस्थामा पुनः अर्को विधीबाट परीक्षण गर्न भनेको छ ।

‘यो संक्रमितको अवस्था पत्ता लगाउनेभन्दा पनि निजी अस्पताललाई कमाएर खाओ भनेर जारी गरिएको निर्देशिका हो,’ सरुवा रोग विशेषज्ञसमेत रहेका एक सरकारी चिकित्सक भन्छन्, ‘पिसिआरको दायरा बढाउनुपर्ने बेलामा संसारमा कतै पनि सफल नभएको किटलाई हाम्रोमा प्राथमिकता दिइरहेको छ, यो उल्टो बाटो हो ।’

जबकी अस्पताल प्रयोजन (रोग निदान)को लागि कुनै पनि भाइरसका आरडिटी किटलाई विज्ञहरुले मान्यता दिदैनन् । रोगको यकिन गर्न पिसिआर जाँच नै प्रभावकारी मानिन्छ । अस्पताल प्रयोजनका लागि आरडिटी प्रयोग गर्नु दिनु भनेको सरकारले अस्पतालहरुमा जाना–जान संक्रमण फैलाउ भनेर लाइसेन्स बाँडेको अनुवांशिक बैज्ञानिक डा. गिरिराज त्रिपाठी बताउँछन् ।

‘आरडिटीले एन्टीबडी बनेपछि (कम्तिमा १४ दिन) मात्र पोजेटीभ देखाउँछ, जुन समय भनेको संक्रमण कम हुँदै गइसकेको अवस्था हो,’ उनले भने, ‘भाइरस सबैधन्दा एक्टीभ हुने १४ दिन अगाडि हो त्यो समयमा आरडिटीले संक्रमण देखाउन सक्दैन् ।’

डा. त्रिपाठीका अनु्सार १४ दिनपछि देखाएपछि संक्रमण सार्ने सम्भावना कम हुन्छ । उनी आरडिटीले संक्रमणको तीन महिनापछि पनि पोजेटीभ देखाइदिने हुँदा जनता दोहोरो मारमा पर्ने बताउँछन् । ‘तीन महिनापछि पनि पोजेटीभ देखाइदिन सक्छ,’ उनी भन्छन्, ‘त्यो बेला पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आउँछ । बिरामीको पैसा मात्र खर्च हुन्छ ।’ अस्पताल प्रयोजनका लागि पिसिआर प्रविधिको विकल्प हुनै नसक्ने डा. त्रिपाठीको भनाइ छ ।

भाइरोलोजिष्ट समेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे पनि आरडिटीले भाइरसको एन्टीबडी बनिइसकेपछि मात्र डिटेक्ट गर्ने बताउँछन् । तर, अहिले प्रयोग गर्ने आरडिटीमा एक्टीभ र प्यासीभ भाइरसको अवस्था बताउन सक्ने क्षमता भएको कारण जाँच गर्दा सक्रिय भाइरस देखिएमा मात्र पिसिआर परीक्षण गराउन उपयुक्त भएको उनको भनाइ छ । ‘आरडिटीले एन्टीबडी बनेपछि देखाउँछ,’ उनी भन्छन्, ‘अहिलेको आरडिटीमा एक्टीभ र प्यासीभ भाइरस देखाउने क्षमता छ, एक्टीभ देखायो भने मात्र आरटि पिसिआर गर्न भनेको हो ।’

डा. त्रिपाठी भने आरडिटी किट सर्भिलेन्सका लागि मात्र उपयुक्त हुने बताउँछन् । ‘संक्रमणको अवस्था के थियो भनेर हेर्नको लागि किट प्रयोग हुन्छ,’ उनी भन्छन्, ‘तर, आरडिटीकै रिजल्टलाई आधार मानेर रोग निदान गर्न तिर लाग्यौ भने अवस्था भयावह हुन्छ ।’

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

थप पढनुहोस:

आरडिटी किट कोभिड–१९ पत्ता लगाउनका लागि प्रयोग गर्न नमिल्ने : एनएचआरसी अध्ययन


क्याटेगोरी : समाचार
ट्याग : #आरडिटी, #इपिडिमियोलोजी, #डा. गिरिराज त्रिपाठी, #डा. वासुदेव पाण्डे, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ