२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार(अ)स्वस्थ मन्त्रालयः अढाइ वर्षमा ३ मन्त्री ७ सचिव

(अ)स्वस्थ मन्त्रालयः अढाइ वर्षमा ३ मन्त्री ७ सचिव


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैमा कति अस्वथ छ भनेर हेर्न पछिल्ला ३ महिना नै काफी हुन्छ । मुलुक कोभिड—१९ जस्तो महामारीसँग जुधिरहेको यो तीन महिनाका बीचमा कर्मचारीतन्त्रको नेतृत्व गर्ने ३ जना सचिव नै परिर्वतन भइसकेका छन् । चाडो—चाडो सचिव परिर्वतन हुनु यो मन्त्रालयमा नियति नै बनेको छ ।

नेकपाको स्थायी सरकार बन्नुअघि ६—६ महिनामा स्वास्थ्य मन्त्री परिवर्तन हुने नियति मन्त्रालयको थियो । तर, नेकपा नेतृत्वको सरकार आएपछि सचिव फेरिने नियति बन्यो । पछिल्ला दुई वर्ष तीन महिनाको अवधि हेर्ने हो भने ७ जना सचिव हेरफेर भइसकेका छन् । यही अवधिमा ३ जना त मन्त्री नै परिर्वतन भए ।

३ फागुन २०७४ मा नेकपा तत्कालीन नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली दुई तिहाई बहुमतका साथ नेपालको प्रधानन्त्रीको पदबहाली गरेका थिए । त्यसको केही दिनपछि स्वास्थ्य राज्यमन्त्रीको रुपमा पद्यमा अर्यालले मन्त्रालयको नेतृत्व गर्दैगर्दा स्वास्थ्य सेवाबाट सचिव भएकी डा. पुष्पा चौधरी सचिव थिइन् । अर्यालको चार महिने कार्याकालभरी डा. चौधरीले नै स्वास्थ्य मन्त्रालयको कर्मचारीतन्त्रको नेतृत्व गरिन् ।

तत्कालीन संघीय समाजवादी पार्टी सरकारमा सामेल भएसँगै सो पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री भएर मन्त्रालय सम्हाल्न आइपुगे । सो समयमा पनि डा. चौधरी नै सचिव थिइन् । करिब तीन महिना मन्त्री सचिवको ‘केमेस्ट्री’ मिलेको देखियो । तर, जब विश्व स्वास्थ्य संगठनको महासभामा स्वीजरल्याण्ड जाने बेलामा मन्त्रीले सचिवको नाम काटिदिए, त्यसपछि मन्त्री र सचिवको मन्त्रालयमा द्वन्द्व सुरु भयो । सम्बन्ध यति बिग्रियो कि स्वास्थ्य सेवाबाट सचिव हुने गरेको स्वास्थ्य मन्त्रालयबाट उनलाई प्रधानमन्त्री कार्यालय जगेडामा तानियो ।

मन्त्रिपरिषदले आफूलाई जगेडामा राखेको विषय गैरकानुनी कदम भन्दै सर्वोच्च गएकी डा. चौधरीले ‘स्टे अर्डर’ ल्याउन सफल भइन् । उनले ‘स्टे’ त ल्याइन तर मन्त्री यादवले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललाई कामु सचिव बनाएर डा. पुष्पालाई पंगु बनाइदिए । तत्कालीन मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवा समूहकोे सचिव सरुवा गरेर मन्त्रालयको थितीलाई बेथितीमा परिणत गरिदिए ।

मन्त्रिपरिषदले प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाएर पठाइदियो । अदालतबाट आएकी डा. चौधरी र क्याबिनेटको डिसिजनबाट आएका सचिव अधिकारीबीच मन्त्रालयमा पानी बाराबारको अवस्था आयो ।

कर्मचारीहरु माथिदेखि तलसम्म नै विभाजित भए र कार्य सम्पादनमा अलमलमा परे । उपेन्द्र र पुष्पाको आन्तरिक विवादका कारण मन्त्रिपरिषदले मन्त्रालयमा दुई जना सचिव रहने व्यवस्था दोहो¥याइदियोे । जुन पहिले नै असफल सिद्ध भइसकेको परिपाटी थियो । पछिल्लो समय स्वास्थ्यमा सचिव हेरफेरको होडबाजी यहीबाट सुरु भएको हो ।

दुई सचिवको टक्कर सुरु भएसँगै स्वास्थ्यतर्फ र प्रशासनतर्फ भनेर सचिवको कार्यभार छुट्याइयो । त्यति हुँदा पनि टिक्न नसकेपछि अधिकारी आफैले सरुवा मागेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छोडे । उनी हिडेपछि चन्द्र घिमिरे स्वास्थ्य सचिव हुन आइपुगे । घिमिरे पनि धेरै समय टिकेनन् । लगतै कर्णाली प्रदेशका मुख्य सचिव रामप्रसाद थपलिया करिब ४ महिनाका लागि स्वास्थ्य सचिव भएर रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयका कर्मचारीको कमाण्ड गर्न आइपुगे । थपलिया आएसँगै स्वास्थ्य तर्फकी सचिव डा. चौधरीले सचिवबाट राजिनामा दिने मनस्थिती बनाएर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिण पूर्वी एसियाली देशहरु हेर्ने ‘सेरो’को कार्यलयमा जागिरका लागि अन्तर्वार्ता दिएर नाम निकालिन् । उनले राजिनामा दिएर बिदामा बसिन तर लामो समयसम्म उनको राजिनामा स्वीकृत भएन ।

थपलियापछि शिक्षा मन्त्रालयबाट खगराज बराल स्वास्थ्य सचिवका रुपमा आए । सोही अवधिमा स्वास्थ्यमन्त्री परिर्वतन भएर भानुभक्त ढकाल मन्त्रालय सम्हाल्न आइपुगे । ढकाल आएपछि डा. चौधरीको राजिनामा पनि स्वीकृत भयो । चौधरीको राजिनामा स्वीकृत भएसँगै एकल मन्त्रालय चलाइरहेका सचिव बरालको फागुन १८ गते उपराष्ट्रपतिको कार्यालय सरुवा भयो । उनी गएसँगै सचिव यादव कोइराला स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । खरो स्वभावका कोइराला स्वास्थ्य तथा जनसंखया मन्त्रालय प्रवेश गरेदेखि नै अभिव्यक्तिका कारण विवादमा तानिए । कोइराला तीन महिना पनि स्वास्थ्य मन्त्रालयमा टिक्न सकेनन् । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रधानमन्त्री कार्यालय सरुवा ग¥यो भने मन्त्रिपरिषद कार्यालयमा रहेका सचिव लक्ष्मण अर्याललाई स्वास्थ्य तथा जनसंख्या सचिवको रुपमा पठाएको छ । |

स्वास्थ्य सेवाको सचिवसँगै प्रशासनतर्फको पनि सचिव हुने व्यवस्था भएसँगै मन्त्रालयमा सचिव परिवर्तन हुने होडबाजी नै चलेको छ । यसरी सचिव परिर्वतनको होडबाजीले मन्त्रालय आउने कुनै पनि सचिवहरुको मनस्थिती सरुवा कुर्नेभन्दा अन्य नसोच्ने एक पूर्व सचिव बताउँछन् ।

चाडो—चाडो सचिव परिर्वतन हुँदा निर्णय प्रक्रियामा ढिलाइ हुने पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती बताउँछन् । स्वास्थ्य मन्त्रालय प्राविधिक मन्त्रालय भएको हुँदा नयाँ सचिवलाई प्राथमिकता छुट्याउनलाई पनि गाह्रो हुने उनको बुझाइ छ । ‘एक त प्राविधिक विषय बढी भएको मन्त्रालय हो, त्यसकारण विषयवस्तु बुझ्नका लागि समय लाग्छ,’ उनी भन्छन्, ‘अरुले ब्रिफिङ गरेका भरमा गर्नुपर्ने निर्णयभन्दा आफैले बुझेर गरेको काममा प्राथमिकता छुट्याउन सजिलो हुन्छ ।’

महामारीका बेला चाडो—चाडो नेतृत्व फेरिँदा त्यसले नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ । ‘अघिल्लो नेतृत्वले एउटा सोच र योजनाका साथ काम गरिरहेको हुन्छ,’ उनी थप्छन्, ‘नयाँ आएपछि पुनः शुन्यबाट सुरु गर्नुपर्ने हुन्छ, महामारीको समयमा विषयवस्तु बुझिनसक्दै नकारात्मक विषयवस्तु धेरै माथि पुगिसकेको हुन सक्छ ।’

पूर्वसचिव डा. प्रवीण मिश्र पनि प्राविधिक मन्त्रालयमा अन्य समूहबाट सचिव आउँदा बुझ्नै २ देखि ३ महिना लाग्ने र त्यतिबेला पुनः सरुवाको समय भइसक्ने हुँदा स्वास्थ्य मन्त्रालयले जति राम्रा नीति तथा कार्यक्रम र योजना ल्याएपनि कार्यन्वयन हुन नसक्ने ठोकुवा गर्छन् । ‘सचिव भनेको मन्त्रालयको प्रमुख नेतृत्व हो,’ उनी भन्छन्, ‘उसले कुरा बुझ्दाबुझ्दै सरुवा हुने समय आउँछ, के काम गर्लान र ?’

उनी नयाँ सचिवले स्वास्थ्यअन्तर्गतका १२ देखि तल्लो तहका कर्मचारीलाई समेटेर लान सके मात्र स्वास्थ्य सेवा सुधार हुने बताउँछन् । ‘स्वास्थ्यलाई नबुझ्ने, लिडरसीप लिन नसक्ने र स्वास्थ्यको रणनीति तय गर्न नसक्ने हो भने यो महामारी पार लगाउन गाह्रो छ,’ उनी भन्छन्, ‘पछिल्लो समय स्वास्थ्य मन्त्रालय बेइमानी भएकै सचिवहरुमा स्वास्थ्यको संरचना र यो सम्बन्धी ज्ञानको कमीले हो ।’ निरन्तर सचिव परिवर्तन हुँदा कोरोना महामारीका बीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफै ‘अ’स्वस्थ मन्त्रालय बन्न पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ