२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएचआरसी अध्ययन भन्छ: कोभिड-१९ उपचार हुने ३०% अस्पतालमा एम्बुलेन्स छैनन्, ४०%मा पूर्ण पीपीई सेट छैन

एनएचआरसी अध्ययन भन्छ: कोभिड-१९ उपचार हुने ३०% अस्पतालमा एम्बुलेन्स छैनन्, ४०%मा पूर्ण पीपीई सेट छैन


काठमाडौं—सरकारले कोभिड—१९ शंकास्पदहरुलाई राख्नका लागि बनाइएका क्वारेन्टाइनमा २४ सैं घण्टा एम्बुलेन्स सेवा अनिवार्य हुने मापदण्ड बनाएको छ । तर, सरकारले कोभिड–१९ उपचारका लागि तोकेका ३० प्रतिशत अस्पतालमा नै एम्बुलेन्स सेवा नभएको नेपाल  स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले देखाएको छ ।

काउन्सिलले कोभिड—१९ महामारीका लागि सरकारले तोकेको अस्पतालहरुमा सरकारको मापदण्डअनुसार सेवा दिने व्यवस्था छ छैन भन्ने विषयमा गरेको एक अध्ययनले त्यस्तो तथ्यांक देखाएको हो । परिषदले तयार परेको सो तथ्यांकमा कोभिड–१९ उपचारका लागि सरकारले तोकेका ३० वटा अस्पतालको भौतिक अवस्था, जनशक्तिको अवस्था, ल्यावको अवस्था, आईसीयु, भेन्टीलेटरको अवस्थालगायत सरकारले तोकेका मापदण्डको अवस्था अध्ययन गरेको थियो ।

हेल्थ आवाजलाई प्राप्त उक्त अनुसन्धान रिपोर्टमा कोभिड—१९ उपचारका लागि तोकिएका ७ वटा अस्पतालमा एम्ब्लेन्स सेवा छैन । त्यसैगरी ४० प्रतिशत (१२ वटा) अस्पतालमा नेपाल सरकार र नेपाल मेडिकल काउन्सिलले तोकेको मापदण्डअनुसारको पीपीई सेट उपलब्ध छैन ।

अध्ययनमा २३ प्रतिशत (७ वटा) अस्पतालमा मात्रै कोभिड—१९ का बिरामीले इमर्जेन्सीमा सेवा लिने व्यवस्था छ । ७६ प्रतिशत अस्पतालमा ट्रयाकिङ सिस्टम छ ।

६६.७ प्रतिशत २० वटा अस्पतालमा आईसीयु सुविधा छ । ती अस्पतालमा जम्मा २६५ वटा आईसीयु वेड उपलब्ध रहेका छन् । १३.३ प्रतिशत अर्थात ४ वटा अस्पतालमा नेगेटिभ प्रेसर आईसीयुको व्यवस्था छ । २३.३ प्रतिशत अर्थात ७ वटा अस्पतालमा हाई डिपेडेन्सी युनिट छन् । जसमा ९५ वटा फङसनल बेड छन् ।

५६.७ प्रतिशत अर्थात १७ वटा अस्पतालमा सुचारु अवस्थामा आईसीयु भेन्टिलेटर छन् । जसमा ९८ वटा आईसीयु भेन्टिलेटर छन् । ३३.३ प्रतिशत १० वटा अस्पतालमा १८ वटा बाइएप मेसिन रहेको अध्ययनले देखाएको छ ।

 

कति छ दक्ष जनशक्ति

कोभिड—१९ का गम्भीर बिरामीको उपचार गर्ने जनशक्ति पनि कम रहेको सो अध्ययनले देखाएको छ । अध्ययनको प्रारम्भिक रिपोर्टमा २० प्रतिशत अस्पतालमा मात्र आईसीयु स्पेसलिष्ट भएको देखाएको छ । त्यसैगरी ३० प्रतिशत अस्पतालमा छाती रोग विशेषज्ञ रहेका छन् । यस्तै, १६.७ प्रतिशत अस्पतालमा मात्र संक्रामक रोग विशेषज्ञ रहेको देखाएको छ । त्यसैगरी, ७६.७ प्रतिशत अस्पतालमा एनेस्थेसीयोलोजिष्ट र ८३.३ प्रतिशत अस्पतालमा जनरल प्राक्टीस्नर तथा इमर्जेन्सी मेडिसिनका चिकित्सक रहेको जनाएको छ ।

तोकिएका कोभिड—१९ अस्पतालमध्ये ४६.७ प्रतिशत अस्पतालका नर्सले आइसोलेसन वार्डमा उपचारका लागि तालिम लिएका छन् भने ६३ प्रतिशतले आईसीयुमा बिरामीको सेवा गर्ने तालिम प्राप्त छन् ।

कोभिड—१९ अस्पतालको तयारी

३० वटा कोभिड—१९ उपचारका लागि तोकिएका अस्पतालमध्ये २५ वटा ८३.३ प्रतिशत अहिले पनि सन्चालनमा छन् । ४ वटा १६ प्रतिशत नन कोभिड प्यासेन्ट उपचारमा पनि संलग्न छन् ।

कोभिड—१९ अस्पताल भनेर तोकिएका ९६.७ प्रतिशत अस्पतालमा कोभिड—१९ म्यानेजमेण्ट कोर टिम छ । ९३.३ प्रतिशतमा कोभिड—१९ प्रिपरेन्सन प्लान छ । ४० प्रतिशत (११ वटा) अस्पतालमा संक्रमणमा रोकथाम समिति छैन ।

कोभिड—१९ अस्पतालको भौतिक पूर्वाधार

सबै अस्पतालको वेडहरुको दूरी कम्तीमा १ मिटर देखिएको छ । सबै अस्पतालमा २४ घण्टा विद्युत तथा पानीको उपलब्धता रहेको छ ।
जम्मा १ हजार ९ सय २६ वेड कोभिड—१९ का बिरामीका लागि छुट्याइएका छन् । ९२ प्रतिशत अस्पतालका कोभिड—१९ क्लिनिक क्षेत्रमा प्रतीक्षालय छ । ८८ प्रतिशतमा छुट्टै स्थानमा परीक्षण गर्ने ठाउँ रहेको छ ।

आइसोलेसनको अवस्था

कोभिड—१९ उपचार गर्ने ३० वटा अस्पतालमध्ये २५ वटामा मात्रैं आइसोलेसन फ्यासिलिटी छ । जुन ८३.२५ हो । शंकास्पद कोभिड—१९ का बिरामीको उपचारका लागि आइसोलेसन बेडको संख्या ७ सय २९ रहेको छ । ३० प्रतिशत कोभिड—१९ अस्पतालमा कोभिडको जाँच पड्ताल गर्ने व्यवस्था छैन ।

अन्य सुविधा

४७.७ प्रतिशत अस्पतालमा सेन्ट्रल पाइपलाइन अक्सिजन सप्लाई सिस्टम छैन । ३६ प्रतिशत अस्पतामा मात्र ब्लड बैक छ ।

१३ वटा अस्पतालका स्वास्थ्यकर्मीलाई मात्र कोभिड—१९ मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी तालिम दिइएको छ । कोभिड—१९ उपचारका लागि ७० प्रतिशत सेवा सुविधा रेफरल र कोभिडका लागि उपचार हुने ठूला अस्पतालमा छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अस्पताल, #एनएचआरसी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ