२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहवाई यात्रा गरेर आउनेका कारण काठमाडौं कोरोनाको जोखिममा : स्वास्थ्यमन्त्री ढकाल

हवाई यात्रा गरेर आउनेका कारण काठमाडौं कोरोनाको जोखिममा : स्वास्थ्यमन्त्री ढकाल


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पछिल्लो समय हवाई यात्रा गरेर आउने कारण काठमाडौं कोरोनाको जोखिम बढेको बताएका छन् । सोमबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको छैटौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको वेवमिनार (सम्मेलन) उद्घाटन गर्दै मन्त्री ढकालले सो कुरा बताएका हुन् ।

सरकारले पछिल्लो समय विदेशबाट नेपालीहरु ल्याएर क्वारेन्टाइनमा राख्दैं आएको छ । विदेश आउनेको संख्या बढेसँगै काठमाडौंमा संक्रमणको जोखिम बढेको मन्त्री ढकालको भनाइ छ । ‘पछिल्लो समय हिडेर आउनेभन्दा हवाई यात्रा गरेर आउनेबाट काठमाडौं जोखिममा छ,’ उनले भने, ‘सरकारले तोकेका स्वास्थ्य सुरक्षा प्रोटोकलहरु पालना गरिदिनुहुन म अनुरोध गर्दछु ।’

मन्त्री ढकालले नेपालमा दक्षिण एसियामा प्रति १० लाखमा पिसिआर परीक्षण गर्ने दोस्रो मुलुक भएको दावी गरे । त्यसैगरी उनले मृत्युदर पनि एसियामा प्रति १० लाखमा नेपालमा श्रीलंकापछि दोस्रो स्थानमा रहेको बताए ।

ढकालले सरकार कोभिड—१९ विरुद्ध खटिरहेको र पिसिआरको दायरा पनि बढाउँदैं लगिएको बताए । ‘हामी अहिले २५ वटा पिसिआर प्रयोगशालाबाट परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो लक्ष्य पिसिआर प्रयोगशाला ३३ वटा पु¥याउने लक्ष्य छ ।’

कुनै पनि बहानामा कोरोना संक्रमण फैलाउने गतिविधी स्वीकार्य नहुने बताउँदैं उनले व्यक्तिगत फाइदाका लागि महामारी फैलाउने काम नगर्न आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्यराज्यमन्त्री नवराज रावतले अनुसन्धानको क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायलाई नवीनतम जानकारी दिन सक्ने काम गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा फैलिएको कोरोनाको अवस्था अन्य देशभन्दा फरक रहेको भन्दैं त्यसको कारण पत्ता लगाउनुपर्ने बताए ।

‘नेपालको हावापानी, रहनसहन र जीवनशैली फरक किसिमको छ । यी कारणले गर्दा महामारी फैलिन पाएको छैन्,’ उनले भने, ‘यी कुराहरुलाई तपाईंहरुले वैज्ञानिक तरिकाले प्रमाणित गर्नुहोस् र अन्तर्राष्ट्रिय सम्मेलनमार्फत विश्वलाई जानकारी दिनुहोस् ।’

सोमबार र मंगलबार चल्ने उक्त सम्मेलनमा ८६ वटा वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा ८ वटा कोभिड—१९ सम्बन्धित खोजमूलक कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा ३२ वटा मौखिक र ५४ वटा पोष्टर प्रस्तुती हुनेछन् । यस्तै, सम्मेलनमा १० वटा आमन्त्रित प्रस्तुतीकरण रहेका छन् । सम्मेलनमा विभिन्न पुरस्कारहरुको पनि प्रदान गरिनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ