२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी बन्दैछ कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थान

यसरी बन्दैछ कान्ति बाल अस्पताल बाल स्वास्थ्य अध्ययन संस्थान


काठमाडौं– कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने योजना कार्यन्वयन सुरु भएको छ । सरकारले आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम र बजेटमा कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थान बनाउने घोषणा गरेको थियो ।

सरकारले गरेको घोषणासँगै कान्ति बाल अस्पतलाले प्रस्तावित बाल स्वास्थ्य अध्ययन संस्थानको सोंच, लक्ष्य, उद्धेश्य तथा कार्यक्रम सहितको अवधारणापत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाएको अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘२०५९ सालदेखि नै कान्ति बाल अस्पताललाई अध्ययन संस्थानको रुपमा विकास गर्ने प्रयासले अहिले आएर पूर्णता पाउन लागेको छ,’ निर्देशक पौडेल भन्छन्, ‘यस अस्पताल अध्ययन संस्थानको रुपमा विकास भएपछि बाल रोगसम्बन्धि सबै पक्षहरुको विस्तार हुन्छ ।’

संस्थान हुँदा के हुन्छ ?

अस्पतालले बुझाएको अवधारणा पत्रमा नेपालको सातै प्रदेशका बालबालिकाको प्रेषण अस्पतालको रुपमा बिकास गर्ने उल्लेख छ । यस्तै बाल स्वास्थ्यको सबै विशिष्टिकृत सेवाहरुको स्थापना सहित एकिकृत रुपमा सेवा उपलब्ध गराउने, देशका सबै बाल अस्पताल, विभाग, ईकाईहरुको लागि आधारभुत मापदण्ड तथा उपचार निर्देशिकाहरू तयार पारेर लागू गराउन समन्वयकारी संस्थाको रुपमा विकास गर्ने सोंच राखिएको डा. पौडेल बताउँछन् ।

संस्थानमा परिणत भएसँगै नेपाल सरकारको बाल उपचारको राष्ट्रिय निति तर्जुमा गर्ने मुख्य सहयोगी केन्द्रको रुपमा विकास हुने पौडेलको दाबी छ ।

अवधारणा पत्रमा बाल स्वास्थ्य सम्बन्धी उच्च शिक्षा अध्ययन अध्यापन तथा बाल स्वास्थ्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने उल्लेख छ । साथै, बाल स्वास्थ्य तथ्याङ्क बैङ्क स्थापना गरी सूचनालाई विकेन्द्रिकरण गर्ने लक्ष्य राखेको छ । जसबाट बाल स्वास्थ्य सम्बन्धी सबै प्रकारका सुचना उपलब्ध गराउन सहयोगी हुने जनाइएको छ ।

अस्पताललाई संस्थानमा परिर्वतन गर्दा मानव स्रोत, भौतिक पूर्वाधार, तथा उपकरणको विस्तार गर्ने अवधारणा पत्रमा जनाइएको छ । निर्देशक पौडेल अस्पतालमा भैरहेका विशिष्टिकृत सेवाहरूलाई अझ व्यवस्थित गर्ने र थप सेवाहरू बिस्तार गरी बाल स्वास्थ्य सम्बन्धी शैक्षिक केन्द्रको रूपमा सञ्चालनमा ल्याउने तयारीमा रहेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयमा बुझाइएको अवधारणा पत्रमा हाल सञ्चालनमा रहेका एम.डी÷एम.एस.लाई पूर्ण क्षमतामा सञ्चालन गर्दै थप उच्च शिक्षाका कार्यक्रमहरु सुरु गर्ने समेत उल्लेख छ । हाल उपचारात्मक कार्यक्रममामात्र प्राथमिकता दिइरहेको अस्पताललाई अध्ययन अनुसन्धान तथा तालिम सहितको सस्था बनाएर लैजाने सरकारको योजना रहेको छ ।

तत्कालीन कार्यक्रम

अवधारणापत्रको तत्कालीन कार्यक्रमको रूपमा अस्पताल सेवातर्फ आर्थिक वर्ष २०७७÷०७८ को सुरूबाटै आवश्यक जनशक्ति थप गरी केन्द्रीय बाल सधन उपचार कक्षलाई पूर्ण क्षमता अर्थात् ५२ शैयामा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यस्तै, एनआइएमसियू, पिआइएमसियुको बेड संख्या क्रमश २० र १० संख्यामा बढाएर स्थानान्तरण गर्ने, सर्जिकल आई.सि.यू. र पोष्ट अपरेटिभ वार्ड लाई थप व्यवस्थित गर्दै बेड संख्या वृद्धि गरेर १०÷१० पुर्याउने भनिएको छ ।

अप्रेसन थिएटरको स्तर वृद्धि तथा क्षमता विस्तार गरी ५ वटा शल्यक्रिया कक्ष स्थापना गर्ने जनाइएको छ । त्यसैगरी निर्माणाधिन बाल मनोरोग विभागमा आगामी आर्थिक वर्षको प्रारम्भबाटै सेवा सञ्चालन गर्ने र ३ सय ६५ शैया पु¥याउने र सम्पूर्ण रिपोर्ट सफ्टवेयरबाटै दिने व्यवस्था मिलाउने अवधारणा पत्रमा उल्लेख गरिएको छ ।

विशिष्टिगत सेवाअन्तर्गत कार्डियोलोजी, न्युरोलोजी, पेडियाट्रिक्स इन्डोक्राइनोलोजी, छाती तथा दम रोग, पेडियाट्रिक्स ग्यास्ट्रो एन्टेरियोलोजी हेपाटोलोजी र पोषण, नेफ्रोलोजी अन्तर्गतका सम्पूर्ण सेवामा वृद्धी गर्ने जनाइएको छ ।

त्यसैगरी तत्काल थप हुने शैक्षिक कायक्रमतर्फ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत कान्ति बाल अस्पतालमा हरेक वर्ष अध्ययन भइरहेको १३ जना एम.डी. पेडियाट्रिक्सतर्फ संख्या थपेर १६ पु¥याउने उल्लेख छ । साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, गंगालाल हृदयरोग केन्द्र र मनमोहन कार्डिया थोरासिक तथा भास्कुलर सेन्टरको सहयोगमा विभिन्न तालिम सञ्चालन गर्ने जनाइएको छ ।

यस्तै बाल नर्सिङ क्षेत्रमा बिएन (पेडियाट्रिक्स अन्कोलोजी, पेडियाट्रिक्स क्रिटिकल केयर, न्युनेटोलोजी) र एमएन (पेडियाट्रिक्स अन्कोलोजी, पेडियाट्रिक्स क्रिटिकल केयर, न्युनेटोलोजी) विधामा उच्च शिक्षा सुरु गर्न पूर्वाधार विस्तार गरिने अवधारणा पत्रमा जनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कान्ति बाल अस्पताल, #डा कृष्णप्रसाद पौडेल, #बाल स्वास्थ्य अध्ययन संस्थान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ