२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभ्रमभित्र लुकेको जनै खटिराको सत्यता

भ्रमभित्र लुकेको जनै खटिराको सत्यता


नेपाली समाजमा विभिन्न भ्रम तथा मिथसँग जोडेर हेर्ने अनेकौ शारीरिक समस्यामध्ये जनै खटिरा पनि एक हो । यो प्रायजसोः व्यक्तिमा छातीको भागमा जनैको आकारमा आउने भएकोले पनि यसलाई जनै खटिरा भनिएको हो । यस सम्बन्धि हालसम्म पनि व्यक्तिहरुमा विभिन्न भ्रामिक धारणा रहेको पाइन्छ ।

कतिपयले यसलाई फोहोरका कारण शरीरमा आउने खटिरा भन्छन् भने कतिपयले शरीरमा यो खटिरा देखिएपश्चात जनै पोलेर लाउने र शरीरमा बाघ वा सिंहको चित्र बनाउनुपर्छ भन्ने विश्वास समेत गर्छन् । जुन विल्कुल गलत हो ।

हालसम्म चिकित्सा क्षेत्रमा यस सम्बन्धी कुनै पनि अध्ययन नभएकाले ठोस प्रमाण भने छैन । तसर्थ, चिकित्सा क्षेत्रले प्रमाणित गरेको आधारमा जनै खटिरा भनेको के हो? यो के कारणले देखा पर्छ ? र यसको उपचार के हो ?

जनै खटिराको कारण

‘हर्पिस जोस्टर’ अथवा ‘भ्यारिसेला जोस्टर’ भाइरसका कारण शरीरमा देखा पर्ने जनै खटिरा एक प्रकारको भाइरल इफेक्सन हो । यो शरीरमा देखिने ठेउला भाइरसकै कारण देखा पर्दछ । यदि कुनै व्यक्तिमा सानो छँदा ठेउलाको समस्या देखिएको थियो भने सोही समयमा कतिपय भाइरसहरु ‘डोर्सल रुट ग्याइग्लीयन’ नामक नशाको भागमा गएर लुकेर बसेको हुन्छ ।

घाममा धेरै बस्ने, शारीरिक परिश्रमको काम धेरै गर्ने तथा शरीरमा चिन्ता, धपेडी, मानसिक तनाव र रोग प्रतिरोधात्मक क्षमताको कमी भएमा सो भाइरसले बाहिरी छालामा आएर पानीको फोकाको रुप लिन्छ । त्यसलाई नै जनै खटिरा भनिन्छ । यो व्यक्तिमा फोहोरका कारण नभएर भाइरसका कारण देखा पर्ने समस्या हो ।

लक्षणहरु

नेपाली समाजमा यसलाई जनै खटिरा भनिएपनि यो छातीको भागमा मात्र नभएर शरीरको जुनसुकै भागमा पनि देखा पर्छ । जस्तोः आँखा, टाउको, पेट, कम्मरको भाग, मुख, खुट्टा आदि । यस समस्याको सुरुवातीमा व्यक्तिमा निम्न लक्षणहरु देखा पर्दछ ।

१. दुखाइको महसुस

जनै खटिराको पहिलो लक्षण भनेको दुखाइ हो । जुन भागमा खटिरा आउन लागेको हो । सो भागमा ३–४ दिन अघिदेखि नै दुख्न थाल्ने, लुगाहरुले छुदा पनि करेन्ट लागेकोजस्तो सिरिंग हुने, कट्कट् खाने, पेटमा आउन लागेमा पेट दुख्ने, टाउकोमा आउन लागेमा कान कराएको जस्तो हुने र टाउको बेस्सरी दुख्नेजस्ता दुखाइको लक्षण देखा पर्दछ ।

२. रातो हुने र खटिरा देखिनु

दुखाई सुरु भएको ३–४ दिनमा उक्त भागहरु रातो भएर आउँछ । र, शरीरमा एकैपटक सबै भागमा नदेखी सोहि रातो भागमा मसिना पानीका फोकाहरु झुण्ड—झुण्ड रुपमा देखिन थाल्छ । यसबाहेक कसै—कसैमा भने ज्वरो समेत देखिन्छ ।

३. क्रमिक रुपमा फैलदैं जानु

हाम्रो शरीरको संरचनाअनुसार एउटा नशाले शरीरको निश्चित भागमा मात्रै सप्लाई गर्छ । तसर्थ भाइरस रहेको नशाले जहाँ–जहाँ सप्लाई गर्छ । सोही भागहरुमा नै यो खटिरा देखा पर्छ । सामान्यतयाः यो भाइरसले एक स्वस्थ व्यक्तिको एक भाग (दायाँ वा बायाँ भाग)मा मात्रै असर गर्छ भने टिबी, क्यान्सर वा अन्य दीर्घ रोगका कारण प्रतिरक्षा प्रणाली कम भएका व्यक्तिहरुमा यो समस्याले शरीरका विभिन्न नसाहरु असर गरेर विभिन्न भागमा खटिराहरु देखिने सम्भावना उच्च रहन्छ ।

जोखिम समूह

मुखमा जनै खटिरा आएका, मुख बाङ्गिएका, आँखाका भाग वरपरदेखि आँखामा समेत असर पारेका, कान कराएका, एउटा मात्रै नशामा असर नगरी ३–४ वटा नशामा असर गरेका, शरीरको एक भागमा मात्र नभई शरीरभर खटिरा फैलिएका, नशालाई भाइरसले अत्यन्त प्रभाव पारी अकस्मात् हात खुट्टा चल्न छाडेकाजस्ता आदि लक्षण देखिएका बिरामीलाई जोखिम समूह मानिन्छ । यस्ता बिरामी अस्पतालमा भर्ना गर्नुपर्ने वा तुरुन्त चिकित्सकको निगरानी बस्नुपर्ने हुन्छ ।

समाधान तथा बच्ने उपाय

यस्ता लक्षण देखिएको ७२ घण्टाभित्र बिरामी स्वयं सचेत हुँदै उपचारका लागि चिकित्सककोमा जानुपर्छ । अन्यथाः यस समस्याले उग्र रुप लिने र धेरै असर गर्ने सम्भावना उच्च रहन्छ । समयमा नै भाइरसको अन्त्य गर्न नसकेमा वा बिरामीले समयमै उपचार नपाउँदा यसले व्यक्तिमा दुखाइको मात्रासँगै अवधिलाई पनि लम्बाउने गर्छ भने सँगसँगै यसका कारण व्यक्तिमा ज्वरो आउने, घाउ पाकेर सो भाग पूरै क्लटमा समेत जान सक्ने भएकाले यसले छालामा मात्र नभई व्यक्तिको नशामा समेत नकरात्मक असर पार्छ ।

तसर्थ, पानीको फोका देखिएको ७२ घण्टाभित्र नै बिरामीले अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ । र, उचित रुपमा औषधीको सेवनपछि यो रोग पूर्ण रुपमा निको हुन्छ ।

ढिलो उपचार गर्दा देखिने दाग

समयमै उपचार पाएका बिरामीको शरीरमा यसको कुनै पनि दाग देखिदैन् । तर, ढिलो औषधी सुरु गरेका, राम्ररी घाउ सफा नगरेका र नुहाउँदा साबुनको प्रयोग नगरेका बिरामीको छालामा देखिएका फोकाहरु पाक्न गई त्यसका दाग बस्ने वा रगतमा इन्फेक्सन समेत हुनुका साथै फोकाको भाग खाल्टा खाल्टा हुने र कालो भएर जाने हुन्छ । त्यसका लागि बिरामीले साधारण घरमै रहेको साबुन पानीले घाउ राम्ररी सफा गरी चिकित्सकको सल्लाह अनुरुप एन्टिभाइरल औषधी र मल्हमको प्रयोग गर्नुपर्छ ।

साथै, समयमै हुने उपचारको अभावमा बिरामीलाई लामो समयसम्म नशामा पीडा हुने, राम्ररी सुत्न नसक्ने र हिडडुल गर्नमा समेत समस्या हुने जस्ता समस्या देखिन्छ । तसर्थ, यस्ता समस्या नदेखियोस् भन्नका लागि पनि समयमै उपचार गर्नुका साथै बिरामीले नशामा भएको असर, दीर्घ रोगका बिरामी, मुटु रोगका बिरामी, मधुमेह समूह तथा आफ्नो उमेरको आधारमा चिकित्सकको परामर्शअनुसार दुखाइ कम गर्ने औषधीको प्रयोग गर्नुपर्छ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ