२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी १६ वटा निजी अस्पतालमा कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले ब्यहोर्ने

यी १६ वटा निजी अस्पतालमा कोरोनाको उपचार गर्दा लाग्ने खर्च सरकारले ब्यहोर्ने


काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ वटा निजी अस्पतालसँग कोरोना भाइरस (कोभिड–१९) का बिरामीको उपचार गर्ने सम्झौता गरेको छ । ती अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा लागेको खर्च सरकारले ब्यहोर्ने भएको हो ।

जसमा काठमाडौ उपत्यकाका ७ वटा निजी अस्पतालल र उपत्यका बाहिर ९ वटा अस्पतालले कोभिड–१९ का बिरामीको उपचार गर्ने सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । मन्त्रालयसँग सम्झौता गरेका अस्पतालमा गरिएको कोभिड–१९ का बिरामीको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने छ ।

उनले दिएको जानकारी अनुसार उपत्यकामा काठमाडौ मेडिकल कलेज सिनामंगल, बयोधा अस्पताल बल्खु, मेघा अस्पताल, कान्तिपुर अस्पताल तिनकुने, जनमैत्री अस्पताल, काठमाडौ डेन्टल एण्ड जनरल अस्पताल बसुन्धरा र नोबेल अस्पताल सिनामंगल रहेका छन् ।

त्यस्तै, उपत्यका बाहिर धुलिखेल सामुदायिक अस्पताल काभ्रेपलाञ्चोक, चितवन मेडिकल कलेज भरतपुर, कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुर, जानकी अस्पताल जनकपुर, नेशनल मेडिकल कलेज वीरगञ्ज, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, लुम्बिनी मेडिकल कलेज पाल्पा, देवदह मेडिकल कलेज बुटवल र विराट मेडिकल कलेज विराटनगर रहेका छन् ।

ति अस्पतालले कोभिड–१९ का लक्षण नभएका या सामान्य लक्षण नभएका बिरामीको उपचार गरेबापत दैनिक ३ हजार ५ सय, लक्षणसहित स्वास्थ्यमा समस्या देखिएकाको दैनिक ७ हजार र अति गम्भीर भई आइसियु तथा भेन्टीलेटरमा राखेर उपचार गर्नुपर्ने भए त्यस्ता बिरामीको उपचार गरेबापत १५ हजार रुपैयाँ सोध भर्ना पाउने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । ‘स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेका अस्पतालमा गरिएको उपचार नेपाल सरकारले नै व्यहोर्छ,’ उनले भने, ‘त्यो खर्च सरकारी स्वास्थ्य संस्थालाई उपलब्ध गराए सरह नै उपलब्ध हुन्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #१६ वटा निजी अस्पतालमा, #कोरोनाको उपचार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ