२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचरिकोट अस्पतालमा जटिल शल्यक्रिया सफल

चरिकोट अस्पतालमा जटिल शल्यक्रिया सफल


चरिकोट—प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) मा इक्टोपिक प्रेग्नेन्सी (पाठेघर बाहिर बच्चा बसेको) को जटिल शल्यक्रिया सम्पन्न भएको छ । दोलखाको विगु गाउँपालिका—८ खोपाचागुकी ३३ वर्षीया सरिता थामीको आपतकालीन अवस्थामा गरिएको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको न्याय हेल्थ नेपालको सञ्चालनमा रहेको प्रस्तावित चरिकोट अस्पतालका एमडिजिपी डा. तुलाकृष्ण गुप्ताले बताए ।

विभिन्न कारणले पाठेघरमा संक्रमण भएपछि बाहिरी भागमा बच्चा बन्ने (इक्टोपिक प्रेग्नेन्सी) क्रममा रगतको डल्लो फुटेर अत्याधिक रक्तस्राव भएर चरिकोट अस्पतालमा उपचार गर्न आएकी थिइन् । ‘ढिला गरिएको भए थप जटिलता निम्तिने खतरा देखेपछि काठमाडौ रिफर गर्ने अवस्थामा पनि भएन्,’ डा. गुप्ताले भने, ‘हामीले बिरामीका श्रीमानको सहमतिमा जोखिम मोलेर तत्कालै शल्यक्रिया ग¥यौ र सफल भयो ।’

सामान्यतयाः मानिसको शरीरमा कम्तिमा हेमोग्लोविन १२ ग्राम परडिसिलिटर हुनुपर्नेमा सरिताको अप्रेशन गर्ने बेलामा हेमोग्लोविन ५ ग्राम परडिसिलिटरमात्र भएकोले पनि शल्यक्रिया निक्कै जोखिमपूर्ण रहेको डाक्टर गुप्ताले बताए । अप्रेशनको क्रममा सरिताको पेटमा जमेको झण्डै तीन लिटर रगत निकालिएको उनले जानकारी दिए । सरिताको अप्रेशनमा अस्पतालका डा. सन्तोष पाठक, डा. उदय दिवाकर, डा. करुणा खाती र नर्स रश्मी वासीको टिम संलग्न रहेको अस्पतालले जनाएको छ ।

गर्भवती हुनलाई पुरुषको वीर्य र महिलाको अण्डकोष पाठेघरको फ्यालोपिन्ट ट्युवमा मिल्ने र जोडी बनेर पाठेघरमा पुगेर गर्भ रहने डा. गुप्ता बताउँछन् । तर, कहिलेकाही विभिन्न कारणले त्यो जोडी पाठेघर नपुगी फ्यालोपिन्ट ट्युव फुटेर पेटमा जाने उनले बताए । यस्तो अवस्थामा पेटमा रगतको डल्ला फुटेर अत्याधिक रक्तस्राव हुने र तत्काल शल्यक्रिया नगरिए बिरामीको मृत्युसमेत हुनसक्ने जोखिम रहने उनले बताए । सरिता थामी यस्तै जटिल शल्यक्रिया मध्येमा पर्दछ ।

अस्पतालको बेडमा स्वास्थ्य लाभ गरिरहेकही थामीले आफू झण्डै एक वर्ष अघिदेखि पेट सम्बन्धि समस्याले पीडित रहेको र पेट दुख्ने समस्या बढ्दै गएकोले उपचारको लागि चरिकोट अस्पताल आएर भर्ना भएको बताइन् । ‘अस्पतालले जोखिम मोलेरै भएपनि मेरो उपचार गरिदिनुभयो र मैले नयाँ जीवन पाए,’ सरिताले भनिन् । अस्पतालले निःशुल्क रुपमा सरिताको उपचार गरेको उनका श्रीमान रत्नबहादुर थामीले बताए । ‘आर्थिक समस्याको कारण जतिसुकै जोखिम भएपनि काठमाडौं लाने अवस्था थिएन । तर, चरिरकोट अस्पतालमा निशुल्क रुपमा श्रीमतीको उपचार भएको छ,’ रत्नबहादुरले भने ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ